राजाराम शर्मा
वैशाख १२ गते-इतिहासको काल–खण्डमा नै कालो दिन । बि.सं.१९९० साल पछिको ठूलो भूकम्प, गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको त्यो महाभूकम्पले सबैलाई नमिठो याद दिलाएर गयो । हजारौ मान्छेहरु घाईते भए । अहिलेसम्म आठहजार भन्दाबढीको ज्यान गईसकेको छ, दशौंहजार घाइते भएका छन् भने लाखौ प्रभावित भएका छन् । अव यो घडीमा महाभूकम्पको पीडा व्यक्त गर्ने शब्द कसैमा पनि रहेन । सबैमा छ त एकै किसीमको त्रास, अनि खुल्ला आकाशमुनीको बास ।
१२ गते शनिबार ११ः५६ मा ७.८ रेक्टर स्केलको शक्तिशाली विनाशकारी भूकम्प आई नेपालीलाई आतङ्कित मात्र हैन मानवीय तथा जनधनको ठूलो क्षति गरााएको छ । सांसारिक जीवनमा विविध प्राकृतिक विपत्तिहरु आई पर्दछन्् । भूकम्प त्यस्तै विपत्ति हो । तर यसमा केही भिन्नता अवश्य छन् । यसमा भूकम्प आफैका कारणले भन्दा मानिसले निर्माण गरेका संरचनाका कारण क्षति बढी हुने रहेछ । प्राकृतिक विपत्ति स्वाभाविक हुँदाहँदै पनि हाम्रा आफ्नै कारणले अथवा आफैले निर्माण गरेका संरचना र प्रविधिहरुबाट नै आफू प्रताडित बन्नु बढी दुःखदायी विषय हो । गोरखाको बारपाक गाउँलाई केन्द्रविन्दु बनाएर आएको यो भूकम्पले राजधानीका ऐतिहासिक धरोहरका भौतिक संरचनाहरु पनि तहसनहस र अस्तव्यस्त बनायो नै, त्यो भन्दा बढी दर्जनौं जिल्लाका घरहरु भत्काई ठूलो जनधनको क्षति गरायो ।
अहिले देश एउटा राष्ट्रिय शोकमा चुर्लुम्म छ । कैयौं नागरिकहरु भग्नावशेषले चेपिएर उद्धारको पर्खाइमा छन्, मरेका पनि पुरिएका छन् । तिनलाई निकाल्न जनशक्ति र श्रोतसाधनको अभाव भएको छ । भग्नावशेषमा रहेका मृतकको शीघ्र खोजको अभावले अन्य भयानक महामारी रोग फैलन थालेको छ । भेटिएका मृत शरीरको यथोचित अत्येष्टि गर्न धौ धौ परिरहेको छ । बारम्बारको भूकम्पीय धक्काले नागरिकहरु घरभित्र बस्न त्रसित भई ज्यान जोगाउनको निम्ति खुला चौरमा रात काट्न बाध्य छन् । यस्ता ठाउँमा बस्दा स्वच्छ पानी, उचित खानपान, स्वास्थ्य उपचार एवम् शौचालयको अभावमा झाडापखाला, हैजा, टाइफाइड फैलने डर छ । झरीमा पालमुनिको बसाइले बालबालिका, सुत्केरी, गर्भवती, विरामी, बुढाबुढीलाई झन् आपतमा पारेको छ ।
पीडितका लागि ठाउँबाट सहयोग पनि आइरहेको छ । छिमेकी राष्ट्र लगायत विभिन्न दातृ निकायबाट सहयोगको ओइरो लागेको छ । कति राष्ट्रले विभिन्न राहतका सामग्री एवम् उद्धार टोली पठाएर सहयोग गरेका छन् । यो समयमा यसरी प्राप्त सहयोगको सही सदुपयोग होला ? प्रधानमन्त्री राहत कोष लगायत विभिन्न कोषमा जम्मा भएको रकम सबै सही सदुपयोग होला ? त्यसको लेखाजोखा कुन निकायले गर्ने ? कसले राख्ने ? यो अर्को चिन्ताको विषय पनि बन्न थालेको छ । यो चिन्ता यसै गरिएको होइन । नेपाली प्रशासन यन्त्र र राजनीतिक नेतृत्व वर्गका विगतका कामले यस्तो चिन्ता उब्जाएका हुन् । विगतका केही विपत्तिका घटनाहरुलाई नियाल्दा शंका गर्नुपर्ने प्रसस्त ठाउँ छन् । विपत्को लागि भनेर सङकलन गरिएका सामानहरु पीडितलाई आंशिक मात्र दिई बाँकी आफै कुम्ल्याउने पनि हुनसक्छ ।
यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु राज्य र नागरिक समाजको पहिलो प्राथमिकता हो । यस्तो समयमा कति व्यापारीहरुले सामानको भाऊ बढाउँछन्, बढाएका पनि छन् । धादिङ मै एक बोतल पानीको ६० रुपैयाँ लिएको र गाडी भाडा पनि चौबर लिएको त सुन्न पाइहालियो । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि सम्पत्ति आर्जन गर्न मात्रै खोज्नेलाई कडा सजाय हुनुपर्छ । यस्तो कुकर्म गर्नेले आफूलाई पर्दा कसले हेर्ला भन्ने पनि सोच्नुपर्ने हो । धर्म भनेकै दुःखमा परेकाको सेवा हो । आपतमा परेकालाई थप दुःख दिनु पाप हो ।
सरकारले यस्तो राष्ट्रिय विपतको अवस्थामा सरकारी तवरबाट एक संयन्त्र खडा गरी केन्द्ररुदेखि तल्लो स्तरसम्मका कर्मचारीहरुलाई एक–एक कामको जिम्मेवारी दिई पीडितको सहयोगको निम्ति कार्य गराउनेतर्फ लाग्नु जरुरी देखिन्छ । त्यस्तै गरी विभिन्न संघसंस्था, राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्ना विभिन्न संगठनहरुलाई क्रियाशील गराई आ–आफ्नो तवरबाट सरकारले ल्याएको उद्धार र राहत कार्यमा सहभागी हुनु पर्छ । आ–आफ्नो पार्टीको दम्भ देखाउनुभन्दा पनि एकाघरको परिवारका सदस्यले गर्नुपर्ने जिम्मेवारी बोध गरी सबै एक जुट भएर लाग्नुपर्ने देखिन्छ । महा–भुकम्प २०७२ को १९ औ दिनसम्म आई पुग्दा धादिङ लगायत प्रभावित क्षेत्रको जनजिबन विस्तारै विस्तारै सामान्य बन्दैछ । विस्तारै पिडाहरु भुलिदै छन्, आत्मविस्वास बड्दो छ । अझ धेरै गर्न बाँकि छ । समयले दिएको घाउ, समय संगै निको हुदै जान्छ । दोष कसैको हुन्न । हुन्छ त केवल समयकोर विधाताको ।
विनाशकारी भूकम्पले झण्डै एक करोड देशबासीलाई प्रभावित गरेको स्थितिमा उद्धार एवं राहतको काम आफैमा चुनौतीपूर्ण थियो । यसमा अन्तर्राष्ट्रिय समुदायले देखाएको चासो र अग्रसरताले धेरै सहयोगी भूमिका निर्वाह गरेको छ । नेपाली सुरक्षाकर्मीले उद्धार कार्यमा खेलेको भूमिका सराहनीय छ । सबै क्षेत्रको सहयोग र अग्रसरताका कारण भग्नावशेषमा पुरिएका मृतक एवं घाइतेहरुको उद्धार तथा खोजी गर्ने काम जारी छ । घाइतेहरुको उपचार सरकारले निःशुल्करुपमा गर्ने भनिए पनि कैयौं ठाउँमा घाइतेहरु आफै उपचार गर्न बाध्य भएका समाचारहरु पनि आइरहेका छन् ।
पीडित परिवारलाई राहत प्रदान गर्ने र उनीहरुको पुनःस्थापना गर्ने काम अबको चुनौती हो । घरबारविहीन भएकाहरुको दीर्घकालीन पुनःस्र्थापना अबको प्राथमिकता हो । महाविनाशको बेला पीडित परिवारलाई अस्थायीरुपमा ओत लाग्ने ठाउँको समेत व्यवस्था हुन नसक्दा नागरिकको जीवन कति कष्टकर होला सहजै अनुमान गर्न सकिन्छ । विपत व्यवस्थापन गर्ने सवालमा हाम्रो राज्यसंयन्त्रको कुनै पूर्वयोजना र तयारी नभएको प्रष्ट भैसक्यो ।
पीडित परिवारलाई पुनःस्थापना गर्नका लागि सरकारले स्पष्ट योजना बनाउन सक्नुपर्छ, विज्ञहरुले यसमा सुझाव दिनुपर्छ । क्षति यकीन गर्ने, न्यूनतम सहयोगको बजेटिङ गर्ने र सहयोग जुटाउनेतर्फ तत्काल लाग्न जरुरी छ । समयमै राहत, पुनःस्र्थापना र पुनर्निर्माणको प्याकेज बनाउन जरुरी छ । यो बेला स्थानीय श्रम सीपलाई परिचालन गरेर पुनर्निर्माणको काममा लगाउन सकिन्छ । त्यसैले अहिले खाँचो छ व्यवस्थित योजना र प्रतिवद्धताको । यतिबेला राजधानीमा बसेर मै हु भन्नेहरु पनि सडकको पेटीतिर देखिए, २ आना जमीनमा सात तले घर बनाउने ब्यापारीहरु थाप्लोमा हात बजार्दै रुन थाले । योे महाविपत्तिलाई नियालेपछि मलाई एउटा सिपाहीले युद्ध जितेपछिको क्षणको सम्झना आयो किनकी युद्धमा एउटा कुरा निश्चित हुन्छ, जीवन या मुत्यु । जे होस, अहिले बिपत्ति पश्चात् हामी ज–जसले जीवन पायौं, मृत्युलाई जीतेर नै पायौं । जे होस, यतिबेला हामी सबैमा गहिरो शोक परेको छ । यो शोकको घडीमा एक अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन, मिलेर अघि बढ्ने हो । यो महाबिपत्तिको क्षणलाई हामी सबैले एउटा अवसरको रुपमा लिएर सबैलाई जीवन दिने सुवर्ण मौैका नगुमाऔं र राष्ट्र पुनःनिर्माणको लागि यथोचित पाईलाहरु अगाडि बढाऔं ।