Thu. Mar 28th, 2024

ए डिभिजन लिग मछिन्द्रको संघर्षपूर्ण जित

१९ माघ , काठमाडौ –

विभागीय टोली एपीएफमाथि पुनरागमन जित निकाल्दै मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ३ खेल बाँकी हुँदा मछिन्द्रले १ खेल कम खेलेको त्रिभुवन आर्मीसँग २ अंकको अग्रता बनाएको हो ।

दशरथ रंगशालामा शनिबारको दोस्रो खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफले राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य रहेको मछिन्द्रमाथि अग्रता बनाएको थियो । दोस्रो हाफमा सम्हालिन नसक्दा २ गोल खान पुग्यो । हारले एपीएफको रेलिगेसन खतरा अझै बढेको छ । ३ खेल बाँकी हुँदा उसको ५ अंक छ । शनिबारै थ्रीस्टारसँग पराजित भएको सरस्वती क्लबको समान खेलबाट ४ अंक छ । शीर्ष स्थानमा मछिन्द्रको २२ अंक भएको छ । एक खेल कम खेलेका आर्मी र मनाङ मर्स्याङ्दीको क्रमशः २० र १९ अंक छ ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले महत्त्वपूर्ण ३ अंक जोडे पनि आफ्नो टिमले स्तरअनुसारको खेल्न नसकेकोमा चिन्ता व्यक्त गरे । पहिलो हाफ १ गोलले पछि परेपछि मछिन्द्रले दोस्रो हाफमा रणनीति परिवर्तन गरेको थियो । त्यसमा प्रशिक्षक सफल रहे । ‘हाम्रा लागि सबै खेल कठिन हुन्, किनभने उपाधिको सम्भावना जोगाइराख्न हामीले अबका तीन खेल पनि जित्नैपर्छ । आज ९शनिबार० एउटा खुट्किलो पार भएको हो,’ प्रशिक्षक कटुवालले भने, ‘रेलिगेसनको दबाबमा रहेको एपीएफले कठिन चुनौती दिएको थियो । सुजल श्रेष्ठ र रेजिन सुब्बा पूर्ण फिट नभए पनि टिममा राखेको थिएँ । त्यसैले पहिलो हाफमा खेल बिग्रियो । दोस्रो हाफसम्म उनीहरूलाई परिवर्तन गरेपछि हाम्रो गति तीव्र भयो र गोल निस्कियो ।’

उनले आफ्नो टिममा चोटको समस्याका कारण एकरूपको प्रदर्शन हुन नसकेको स्विकारे । ‘मेरो टिममा १८ जना खेलाडी थिए । तीमध्ये २ जनाले टिम छाडेर विदेशी लिगमा गए । ३ जना चोटग्रस्त छन् । २ जना गोलरक्षक छन् । यस्तोमा कुनै विकल्प नै नहुने रहेछ,’ कटुवालले थपे । उनले रेफ्रीको लगातार कमजोर प्रदर्शन लिगमा अर्को चिन्ताको विषय भएको पनि बताए ।
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो हाफमा आफ्ना खेलाडीहरूले अनावश्यक दबाब झेलेको बताए । ‘हामीले पहिलो हाफमा राम्रो खेल्यौं । गोल निस्कियो । तर दोस्रो हाफमा हामीले रक्षात्मक रणनीति बनाएका थियौं । त्यसो हुँदा खेलाडीहरूको ध्यान रोक्नमा केन्द्रित भयो,’ उनले थपे, ‘हामीलाई कम्तीमा बराबरी अत्यावश्यक थियो । राम्रो खेलेका हौं । तर केही कमजोरी सुधार गर्न नसक्दा दोस्रो हाफमा पराजित हुनुपर्‍यो ।’

लिगको अन्तिम चरणका ३ खेल बाँकी हुँदा विभागीय टोली एपीएफलाई रेलिगेसनको खतरा टार्न कठिन हुने देखिएको छ । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफले अन्तिमको सरस्वतीसँग १ अंकको अग्रतामा छ । प्रशिक्षक राजेन्द्र तामाङले विभागीय टोलीलाई रेलिगेसनमा पार्ने षड्यन्त्रको रूपमा मैदानभित्रभन्दा बढी बाहिर चलखेल हुन थालेको आरोप लगाएका छन् ।


२०७६ माघ १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: