Tue. Feb 18th, 2020

मार्पाकमा एम्बुलेन्स सेवाको सुरुवात


२३ माघ, धादिङ

धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ स्थित मार्पाकमा एम्बुलेन्स सेवा सुरु भएको छ । विगत लामो समयदेखि प्रतिक्षारत साविक मार्पाक गाविसका बासिन्दाहरुको आशाको किरण मार्पाक सामुदायिक क्लबको समन्वयमा सुरु गरिएको हो ।

भारतीय राजदुतावास मार्फत उपलब्ध एम्बुलेन्स हाल नेत्रावती डोबजोङ गाउँ पालिका वडा नं ०१ मार्पाक उपस्वास्थ्य चौकीबाट संचालन गरिएको छ । गाउँपालिकाभित्र र छिमेकी गाउँपालिका समेतका पायकपर्ने बासिन्दाहरुलाई सेवा पु¥याउने उदेश्य अनुरुप मार्पाक सामुदायिक क्लवको सहकार्यमा, मार्पाक एम्वुलेन्स सेवा संचालक समिति द्वारा संचालित एम्बुलेन्स सेवा सूचारु गरिएको हो ।

मार्पाक सामुदायिक क्लबको सकृयतामा करिब ७ वर्ष अगाडि देखि एम्बुलेन्स संचालन गर्ने लक्ष्य राखेर विविध अभियानहरु संचालन गरेर आर्थिक रकम संकलन गरिरहेको क्बलका निवर्तमान महासचिव काजीराम अधिकारीले बताए ।

गत माघ १ गते एक विशेष समारोहको बिच सामाजिक बिकास मन्त्री युबराज दुलाल द्धारा एम्बुलेन्स सेवाको उद्घाटन गरिएको थियो अहिले सेवाको सुरुवात भएको छ ।

एम्बुलेन्सले मार्पाकबाट नेत्रावती गाउँपालिका भरि सेवा प्रदान गर्नुको साथै उत्तरी धादिङका छिमेकी गाउँपालिकाहरुमा समेत सेवा प्रदानगर्ने बताइएको छ । एम्बुलेन्सको लागि देउसी भैलो, चिठ्ठा उपहार लगायत विविध दाताहरुबाट करिब ६ लाख रकम संकलन गरिएकोमा करिब ३ लाख खर्च गरि बाकी करिब ३ लाख संचालन खर्च छुट्याईएको छ ।

२०७६ माघ २३ गते प्रकाशित

Loading...