काठमाडौँ – सरकारले भूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा आगामी साउन ३२ गतेदेखि खुला गर्ने भएको छ । पुरातात्विक महत्वका पर्यटकलाई लोभ्याउने विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, चाँगुनारायण क्षेत्र भूकम्पले क्षतिग्रस्त बनेपछि ती क्षेत्र केही दिनसम्म पर्यटकका लागि बन्द गरिएको थियो ।
केही विदेशी सञ्चारमाध्यमबाट सम्पदा क्षेत्र पूरै क्षतिग्रस्त भएको भन्ने समाचारले पर्यटकीय क्षेत्र प्रभावित भएपछि सरोकारवाला निकायले गरेको अध्ययन भ्रमणपश्चात् ती क्षेत्र पूर्णरुपमा क्षतिग्रस्त नभएको पाइएको छ ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार सम्पदा क्षेत्र भूकम्पले प्रभावित बनाए पनि पूरै क्षतिग्रस्त भएका छैनन् । क्षतिग्रस्त संरचनाको सरसफाइ भइरहेको र ती क्षेत्र आगामी साउन ३२ देखि पर्यटकका लागि खुला गरिने भएको उहाँले बताउनुभयो ।
“सम्पदामा केही क्षति भए पनि पूरै क्षति भएको होइन । क्षतिग्रस्त संरचना हटाउने काम भइरहेको छ । तिनीहरुको पुनःनिर्माणको काम पनि दीर्घकालीन योजनाका साथ अघि बढाइने छ । आगामी जुन १५९जेठ ३२०देखि सम्पदा क्षेत्र पर्यटकलाई सुरक्षितरुपमा अवलोकन गर्ने योजनामा लागेका छौँ”– उहाँले भन्नुभयो ।
भूकम्पका कारण नेपालका सम्पदा पूरै ध्वस्त छन् भन्ने जस्ता भ्रामक समाचार केही विदेशी सञ्चारमाध्यमले प्रसारण गरे पनि सम्पदा आंशिक रुपमा मात्र प्रभावित भएको टुर गाइड एसोसिएसन नेपालका अध्यक्ष हरेराम बरालले बताउनुभयो ।
नेपालको पर्यटन क्षेत्र भूकम्पले केही समयका लागि प्रभावित गरे पनि यो पूर्ववत् अवस्थामा जाने उहाँले जानकारी गराउनुभयो ।
नेपाल टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान)का उपाध्यक्ष कुलबहादुर गुरुङका अनुसार नेपालका सम्पदा क्षेत्रको भ्रमणका लागि विशेष गरी विदेशी पर्यटक धेरै आकर्षित हुने गरेका छन् ।
“उपत्यकाका सम्पदा क्षेत्र भूकम्पले केही मात्रामा प्रभावित गरे पनि तिनीहरु पूरै ध्वस्त नभएका कारण पर्यटकलाई यी क्षेत्रको अवलोकन गराउने अवस्था अहिले पनि उत्तिकै छ । उपत्यका बाहिरका धेरै सम्पदा क्षेत्र भूकम्पका कारण प्रभावित छैनन् । नेपालका पुरातात्विक सम्पदा पूरै प्रभावित भएका छन् भन्ने भ्रामक समाचारले पर्यटकीय क्षेत्रलाई प्रभावित गराएका कारण यहाँको वास्तविक सन्देश दिनु अपरिहार्य देखिएको छ”– उहाँले भन्नुभयो ।
नेपालका प्राचीन पुरातात्विक सम्पदाले यहाँको आर्थिक विकासमा लागि पनि विशेष महत्व राख्ने भएकाले यिनीहरुको पूर्ववत् अवस्थामा निर्माण गरिनुपर्ने नेपालको पर्यटनको आर्थिक विश्लेषण शीर्षकमा विद्यावारिधिका लागि अनुुसन्धानरत डिलाराम भण्डारीको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयमा तथ्याङ्कशास्त्र विषयमा अध्यापन समेत गराउँदै आएका भण्डारीले नेपालको आर्थिक विकासका लागि सम्पदा क्षेत्रको विशेष योगदान रहेको उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले पुरातात्विक सम्पदा नगण्य मात्रामा क्षति भए पनि सबै संरचना भत्किएका छन् भन्ने भ्रामक समाचार फैलाएर केही विदेशी सञ्चारमाध्यमले नेपालको पर्यटनलाई प्रभावित गर्न खोजेको बताउनुभयो ।
“भूकम्पपछिको सम्पदा क्षेत्रको वास्तविक अवस्था सम्बन्धमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यमबाट प्रचार गर्नु आवश्यक देखिएको छ । नेपालको पर्यटन केही समयभित्रमा नै पूर्ववत् अवस्थामा ल्याउन सकिन्छ”– उहाँले भन्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रशासकीय प्रमुख रमेशकुमार अधिकारीले सम्पदा स्थल सम्बन्धमा फैलाइएका नकारात्मक समाचारलाई चिर्दै सकारात्मक सन्देश प्रवाह गर्नु वर्तमानको आवश्यकता भएको बताउनुभयो ।
आगामी जेठ ३२ देखि सम्पदा स्थल पर्यटकका लागि सुरक्षित रुपमा अवलोकन गर्ने गरी खुलाउन काम तीव्ररुपमा बढिरहेको उहाँको भनाइ छ ।
पर्यटन पत्रकार सङ्घका अध्यक्ष देवी पन्त नेपालको सम्पदा क्षेत्र सम्बन्धमा भूकम्पपछिको वास्तविकताको प्रचार गरी यी क्षेत्रमा पर्यटकलाई सुरक्षित रुपमा अवलोकन गर्न सकिन्छ भन्ने सन्देश दिनु आवश्यक भएको बताउनुहुन्छ ।
उपत्यकाका मात्र नभई देशका विभिन्न स्थानमा रहेका ऐतिहासिक सम्पदाको पर्यटकलाई अवलोकन गराउन सकिने उहाँको तर्क छ ।
पर्यटन व्यवसायी ज्योति अधिकारीले भन्नुभयो– “नेपालका सम्पदा नासिएको छैन । हामी हतारिनु हुँदैन । क्षतिग्रस्त संरचनाको सरसफाइ गरी पर्यटकका लागि यी स्थल खुला गरिनुपर्छ । सम्पदाको पुनःनिर्माणलाई राज्यले उच्च प्राथमिकता दिनुपर्छ ।” रासस