Tue. Feb 18th, 2020

नोवल कोरोना भाइरस चीनमा एकैदिन १०८ जनाको मृत्यु

२८ माघ , बेइजिङ –

नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।

बेइजिङमा कोरोना भाइरस नियन्त्रणमा भइरहेका प्रयास अनुगमन गर्ने क्रममा स्थानीयलाई अभिवादन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ । तस्बिरः सिन्ह्वा

चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृतकको संख्या बढेको हो। आइतबार मात्रै ९७ जनाको मृत्यु भएको थियो। सोमबार मृत्यु हुनेमध्ये १०३ जना हुबेई प्रान्तका थिए।कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन्। यो संख्या आइतबारको तुलनामा भने धेरै कम हो।

आइतबार ३ हजार ६२ जना नयाँ संक्रमित भएका थिए । योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा एकरएक जनाको मृत्यु भएको छ । यसैबीच, चिनियाँ स्वास्थ्य अनुसन्धानकर्ताले कोरोना भाइरसको इन्क्युबेसन अवधि १४ बाट २४ दिन पुर्‍याउनुपर्ने हुन सक्ने बताएका छन् ।

२०७६ माघ २८ गते प्रकाशित

Loading...