Tue. Feb 18th, 2020

पसलैपिच्छे मासुको मूल्य फरक

१ फागुन काठमाडौ –

व्यवसायीले कुखुरा मासुको मूल्य घटाउन थालेका छन् । अस्वाभाविक रूपमा मूल्य बढाएको भन्दै आलोचना भएपछि व्यवसायीले न्यून मात्रामा मूल्य घटाएका हुन् । व्यवसायीले भने मासुको माग नभएका कारण मूल्य घटाइएको दाबी गरेका छन् । ‘माघ २२ मा कुखुरा मासुको मूल्य प्रतिकिलो ३९० रुपैयाँ तोकिएकोमा मंगलबार ३६० रुपैयाँ निर्धारण गरिएको थियो ।

संघले मूल्य निर्धारण गरे पनि बजारमा भने पसलैपिच्छे फरक मूल्यमा मासु बिक्री भइरहेको छ । संघले माघ १९ देखि २२ गतेसम्म प्रतिकिलो मासुको मूल्य ३९० रुपैयाँ निर्धारण गर्दा बजारमा ४२० रुपैयाँदेखि ४५० रुपैयाँसम्ममा बिक्री भइरहेको थियो । प्रतिकिलो ३६० रुपैयाँ तोकिएको बेला भने बजारमा ३८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । मूल्यका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन एवं नियमन गर्नुपर्छ । तर बजार अनुगमन र कारबाही नहुँदा व्यवसायीले मनलाग्दी रूपमा मूल्य बढाई मासु बिक्री गरिरहेका छन् । मूल्य बढाउनकै लागि व्यवसायीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अन्डा मंसिर २९ देखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरेका थिए । उनीहरूले मंसिर २९ देखि पुस ८ सम्म ह्याचरीबाट उत्पादित ब्रोइलर, कलर ब्रोइलर र क्रोइलर चल्ला बिक्री वितरण तथा ओसार पसार बन्द गर्ने निर्णय गरेका थिए ।

सोहीअनुसार उनीहरूले नेपालका विभिन्न पोल्ट्री फार्मबाट कुखुराका चल्ला नष्ट गरे । फलस्वरूप बजारमा मासु अभाव भयो अनि उनीहरूले मासुको मूल्य अस्वाभाविक रूपमा बढाएका थिए ।
आफ्नो स्टोरबाट कुखुरा मासु प्रतिकिलो ३८० रुपैयाँमा बिक्री भइरहेको ललितपुरस्थित उपकार चिकेन कोल्ड स्टोरका सञ्चालक सविन श्रेष्ठले जानकारी दिए । एक साताभित्र प्रतिकिलो मासु ३० रुपैयाँ घटेको उनको भनाइ छ । ‘मूल्य बढेपछि उपभोक्ताले कुखुराको विकल्पमा अन्य मासु रोज्न थाले । खसीको मासुतर्फ उनीहरू आकर्षित भए,’ श्रेष्ठले भने, ‘कुखुरा अहिले पनि अभाव नै छ । तर माग नहुँदा मूल्य घटाएर बिक्री गर्नुपरेको हो ।’ मासुको मूल्य थप घट्ने उनले बताए ।

भ्याली कोल्ड स्टोर, बालाजुका मार्केटिङ म्यानेजर प्रशान्त ढकालको भनाइ पनि उस्तै छ । भ्यालीले प्रतिकिलो कुखुरा मासु ३७५ रुपैयाँमा बिक्री गरिरहेको उनले बताए । लाजिम्पाट चिकेन सेन्टरका सञ्चालक रमेश खड्कीले भने आफ्नो स्टोरले संघले निर्धारण गरेको मूल्यभन्दा पनि सस्तोमा कुखुरा मासु बेचिरहेको दाबी गरे ।

कुखुरा मासु प्रतिकिलो ३५० रुपैयाँमै बिक्री गरेको उनको भनाइ छ । होलसेलमा ३२८ रुपैयाँमा बिक्री गरिरहेको उनले बताए । ‘बजारमा ४२० रुपैयाँमा बिक्री हुँदा सेन्टरले ३८० भन्दा बढी नलिएको खड्कीले दाबी गरे । ‘यहाँबाट होलसेलमा खरिद गरेर प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री गर्ने पनि थिए,’ उनले भने । कुखुराको मासुबाट समेत नोवल कोरोना भाइरस फैलने त्रासले मासु बिक्री नभएको उनले बताए । ‘अहिलेको बजार अवस्था हेर्दा मूल्य घट्ने क्रममा देखिन्छ,’ उनले भने, ‘अब वैशाखसम्म मूल्य बढ्दैन ।’

बजारमा कुखुरा मासुको मूल्य ३८० रुपैयाँमा बिक्री भइरहँदा कुखुरापालक किसानले भने २४० रुपैयाँ मात्रै पाएको गुनासो गरेका छन् । ठूला व्यवसायी, दाना उद्योगी र ह्याचारी उद्योगीले कालोबजारी गरिरहेको उनीहरूको भनाइ छ । दाना र ह्याचरी उद्योगको निर्देशनमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य तोक्दै आएको छ । जिउँदो कुखुराको मूल्य २५० रुपैयाँ तोके पनि किसानले २४० रुपैयाँ मात्रै पाउने गरेका छन् ।

२०७६ फागुन १ गते प्रकाशित

Loading...