Thu. Apr 9th, 2020

विकासमा संचार माध्यमको भुमिका

६ फागुन , धादिङ –

अम्बिका रुपाखेती

विकास र संचार एक अर्काका परिपुरक हुन् । संचार विनाको विकास र विकास विनाको संचार हामी कल्पना गर्न सक्दैनौं अर्थात संचार विना विकासको प्रचार प्रसार हुन सक्दैन भने विकास विना संचारको औचित्य पुष्टि हुन सक्दैन । परम्परागत समाजमा प्रविधिको विकास भएको थिएन तर पनि विभिन्न वा माध्यमबाट एक आपसमा संचार गरिन्थ्यो आजको आधुनिक समाजमा संचार जगतले ठूलो फड्को मारेको छ ।

विशाल समुदायलाई लक्षित गरेर संगठन र प्रविधि समावेश गरि छरिएर रहेका समुह, स्रोता, पाठक, दर्शक अर्थात असिमित समुदाय सामु सन्देश पठाउन आम संचार प्रयोगमा आएको छ । अहिले असिमित जनसमुदायका लागि कुनै पनि माध्यम जस्तो रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाईन , ईमेल, फेसवुक, टुईटर आदिका सहयताले कुनै पनि विषयवस्तुलाई सन्देश वा जानकारीको रुपमा प्रकाशन वा प्रशारण गर्ने प्रकृयालाई आम संचार भनिए संगै संचारको व्यापक परिभाषा र दायित्व थपिएको छ । जस अन्तर्गत विभिन्न समाजमा हुने दैनिक गतिविधिलाई हेरविचार गर्ने परिक्षण गर्ने, रेखदेख गर्ने, खवरदारी गर्ने वा नियाल्ने कार्य आमसंचारको हो । यसका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्कमा नभएका पक्षहरुलाई संयोजन गर्दै लक्षित वर्गमा असल संस्कृति र मुल्यमान्यताहरुको हस्तान्तरण र पुस्तान्तरण गर्नु पर्दछ । आमसंचारका माध्यमहरुको प्रमुख कार्य परिवार र समुदाय देखि विश्वमा घटेका राम्रा नराम्रा घटनाहरुको जानकारी गराउनु, संविधान र यस मातहत बनेका ऐन निति नियमहरुमा आधारित भई समय सापेक्ष शिक्षाप्रद सन्देशहरु प्रवाह गर्नु, तनाव आलस्य र एक्लोपनबाट मुक्ति दिन मनोरञ्जनका विभिन्न विधाहरुमार्फत कला संस्कृतिको जगेर्ना गर्नु, कोहि कसैका सफलता र असफताका कथा, भनाई वा नविनतम कार्यहरुबाट आम समुदायमा उत्प्रेरणा तथा अभिप्रेरणा जगाउनु जस्ता कार्यहरु बाट आम संचारले समाजको विकासको गति प्रदान गरिरहेको छ ।
संचारको आधुनिकिरण र विश्व व्यापीकरण संगै यसको सकारात्मक र सुधारात्मक पक्षहरुको पनि उत्तिकै विश्लेषण गर्नु पर्ने भएकोछ । आम संचारका कारण समाजले भोग्दै आएको सवल तथा दुर्वल पक्षहरुको लेखाजोखा गर्नु आवश्यक छ । समाजमा रहेका सामाजिक, साँस्कृतिक मूल्य र स्थानिय श्रोत साधन माथिको वाह्रय प्रभाव र हस्तक्षेपका कारण लोपउन्मुख असल संस्कृति, मुल्यमान्यता र श्रोत साधनहरुको पहिचान, संरक्षण र सम्वर्धनमा टेवा पुर्याउन जोड दिनु आजको टड्कारो आवश्यकता बनेको छ । यसैगरी आम संचारको विषेशता भित्र पर्ने पेशेवर संचारकर्मीको मर्यादा भन्दा वाहिर गएर आर्थिक प्रलोभन र स्वार्थ केन्द्रित भई संचालन गरिएका संचार माध्यमहरुबाट समाजको विकासमा पर्न गएको नकारात्मक प्रभाव नियन्त्रण र नियमन गर्न आम नागरिक सचेत हुनुपर्छ भने राज्यको तर्फवाट ठोस कदम चाल्न जरुरी रहेको छ । यद्यपी संचार र विकास एक अर्काको महत्वपूर्ण साझेदार बन्न आमसंचार जगत र सरोकारवालाहरुले मनन गर्नुपर्ने कार्यहरु निम्न अनुसार रहेका छन् –
क. तथ्यपरक, वस्तुनिष्ठ र विश्वसनीय समाचार ः एउटा भनाई छ ः संसार विश्वासमा अडेको छ । त्यसमा पनि पत्रकारीता श्रोता वा पाठकहरुको विश्वासमा अडेको हुनाले पेशेवर संचारकर्मीहरुले पत्रकारीताको प्रकृयाभित्र रहेर कार्य गर्नु पर्दछ । तर तोकिएको प्रवाधान र प्रकृयाहरु पर्वाह नगरी पछिल्लो समय अनाधिकृत रुपमा संचालन गरिएका केहि संचारमाध्यमहरुवाट जथाभावी सुचना तथा समाचारहरु प्रशारण भएबाट संचारमाध्यमहरु आलोचित हुदै विश्वास गुमाउने खतरा पैदा भएको छ । यस प्रवृतिले समाजमा नकारात्मक सन्देश प्रभाव भई समाजको विकासलाई उधो गती तिर लम्काईरहेको छ ।
ख. व्यक्तिगत पूर्वाग्रह÷वदलाभाव÷प्रलोभन ः राज्यको चौथो अंगको पहिचान बोकेको संचार क्षेत्र आफ्नो पेशाप्रति ईमान्दार बन्नु पर्छ । तर पछिल्लो समयमा व्यक्तिगत पुर्वाग्रहका आधारमा समाचारहरु बनाउने र नवनाउने अभ्यास मौलाउदै गएको छ । आर्थिक, राजनीतिक प्रभाव र प्रलोभनका आधारमा उठाउनु पर्ने मुद्धाहरु नउठाउने र कोहि कसैलाई दुःख दिईन कै लागि प्रमाण विनाका अपुष्ट समाचारहरु प्रकाशन गर्ने वा प्रकाशन गर्ने धम्की पूर्ण भाषा गर्दै मोततोल गर्ने कार्यबाट सामाजिक विकास र रुपान्तरणका लागि सहकार्य गर्ने पक्षहरु आपसी बेमेलको स्थिति झेल्नु परेको छ । समाजमा भए गरेका उत्कृष्ट कार्यको प्रचार गर्न पैसाको वार्गेनिङ गर्ने र नकारात्मक समाचारका लागि पैसा नचाहिने जतिपनि प्रकाशित÷प्रशारित हुने क्रमको अन्त्य नहुँदा सम्म विकास र संचारमा तालमेल देखिएको छैन ।
ग. संचारको आचारसंहिता र सिद्धान्तहरुको पूर्ण पालना ः विकास र संचारलाई सन्तुलित गतिमा अगाडी वढाउन संचार क्षेत्रमा यसका आचारसंहिता र सिद्धान्तहरुको पूर्ण पालना गर्न सक्नु पर्दछ । समाचारका लागि संकलिन सुचनाहरु वा तथ्यहरुको शुद्धता, घटनामा संलग्न सबैपक्षहरुको सन्तुलन, श्रोतहरुको विश्वनीयता, नैतिक सिद्धान्तको पालना अर्थात सबैलाई आदर गर्ने र समाजमा कुनै पनि नराम्रो घटना भएको छ भने त्यसलाई कानुनी दायरामा ल्याउदै समाजिक सद्भाव कायम राख्न सहयोग गर्ने , लगनशिलताको प्रयोग मार्फत स्वच्छता कायम गर्दै आफैले आफैलाई नैतिकवान बनाउनु संचारकर्मीहरुको कर्तव्य हो । समुदायका आलोचनात्मक र स्वतन्त्र आवाजहरुलाई संरक्षण र स्थान प्रदान गर्ने दायित्वबाट चुक्नु हुदैन । संचार क्षेत्रले यस किसिमको आचारसंहिता र सिद्धान्तहरुको पूण रुपमा परिपालना गरेको खण्डमा विकासका प्रकृयामा सहयोग पुग्न गई सेवा प्रदायक र सेवाग्राहीहरुको विचमा असल सम्बन्ध स्थापित गर्न संचारकर्मीहरु मध्यस्तकर्ताको रुपमा समेत स्थापित हुन सक्दन् ।
घ. राज्यको नीति, कार्यक्रम र कार्यदिशा स्पष्ट राज्यको नीति कार्यक्रम र कार्यदिशा पक्डन सक्ने खुबी साथै अन्तराष्ट्रिय अभ्यास विश्लेषण गर्ने क्षमता आम संचारकर्मीहरुमा हुनु पर्दछ । समाजको विकास निरपेक्ष रुपमा एकैनासले हुन्छ भन्ने हुदैन । राज्य संचालनका लागि यसको संविधान, मार्गदर्शक सिद्धान्त, ऐन, कानुन आदीको फेरवदको आधारमा पनि सामाजिक साँस्कृतिक मुल्यमान्यता र चालचलनहरु स्थापित वा विस्तापित हुन सक्छन् । यसको आधारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जनमुखी अभ्यासहरुलाई प्राथमिकताका साथ उजागर गर्न र विभेदपूर्ण व्यवहारहरु अन्त्यका लागि जनमत सिर्जना गर्नु संचारकर्मीहरुको मुख्य भुमिका रहेको हुन्छ । यसका लागी नपालको संघिय व्यवस्था र यसका सकारात्मक प्रभाव र अवसरहरुलाई प्राथमिकताका साथ उठाई यसमा हुन सक्ने खतरा पक्षहरुमा तथ्यपरक र वस्तुनिष्ठ आधारमा विश्लेषण र खवरदारी गर्नु पर्दछ । स्थानिय सरकार जनतासंग प्रत्यक्ष जोडीने र जनताको पहुँचमा रहने भएकोले समुदाय र सरकारको विचमा पुलको काम गर्दै संचार क्षेत्रले योगदान गर्नु पर्छ भने स्थानिय सरकारको तर्फवाट पनि भए गरेका कार्यहरुको जानकारी गराउन हुन बाँकी रहेका कार्यहरुमा प्रत्येक्ष नागरिक तथा सरोकारवालाहरुमा सहकार्यको वातावरण बनाउदै अत्यावश्यक सन्देशहरु प्रवाह गर्न संचारमाध्यमहरुसंगको सहकार्यलाई विशेष जोड दिनु अत्यावश्यक छ ।
ङ. श्रोतको पहिचान र हानीकारक प्रथा, परम्परा, अभ्यास विरुद्ध पैरवी समाजको हानीकारक प्रथा, परम्परा, अभ्यास र मुल्यमान्यताको विरुद्ध सशक्त अभियान संचालन गर्न संचारमाध्यमहरुको भूमिकालाई तीनै तहका सरकारहरुले सहकार्य गरी विशेष कार्यक्रमहरु संचालन गर्नुपर्दछ । समाजमा व्याप्त बन्दै गएको भ्रष्टाचार, हिंसा, विभेद, शोषण मुक्त गरी सामाजिक न्याय र समानतामा आधारित समाज स्थापना गर्न संचार क्षेत्र एक असल साझेदार बन्न सक्नु पर्छ । राज्यको मुलधारवाट पछाडी पारिएका वर्ग क्षेत्रको पहिचान सुरक्षा र सम्मानमा आधारित सवालहरुमा पैरवी गर्दै समुदायमा लुकेर रहेका श्रोत, साधन, वस्तु, सेवा, पूंजी, संस्कृति आदिको पहिचान,संरक्षण र सदुपयोगका लागि संचार क्षेत्रले उल्लेखनीय योगदान गर्न सक्छन् । यसका लागि उपयुक्त वातावरण र दर्विलो ईच्छा शक्ति आवश्यक छ ।
च. संचार क्षेत्रलाई सुरक्षित र मर्यादित वनाउन राज्यको योगदान ः यी सम्पूर्ण कार्यका लागि पेशेवर संचारकर्मीहरुलाई जिवन धान्न पुग्ने पारिश्रमिक ÷सुविधा र सम्मानको व्यवस्था गर्न जरुरी छ । जेरेमी प्याक्सम्यान, विविसी पत्रकारको परिभाषमा “पत्रकारहरु अप्ठेरो समुहका सदस्य हुन् । उनीहरु माया गरिन वा प्रसिद्ध हुन कहीं कतै गएका होईनन् तर कसैले उत्तर दिन नचाहेका विषयमा प्रश्न सोध्न गएका हुन् ।” उनकोे यो परिभाषालाई आधार मान्ने हो भने पनि संचारक्षेत्रमा क्रियाशिल संचारकर्मीहरुको महत्व र निर्वाह गर्ने भुमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । यो कठीन कर्म पनि हो जहाँ पेशा प्रति ईमान्दारीता कायम गर्ने क्रममा कतिले आफ्नो जीवन गुमाउनु परेको छ भने कति परिवारका सदस्यहरु टुहुरो बनेका छन् । पेशेवर संचारकर्मीहरुको जीवन धान्न पुग्ने पारिश्रमिक तथा सेवा र सुविधा नहुनुले यो पेशा प्रति दिलोज्यान लगाएर टिकिरहन कठिन भएको छ । मर्यादित रुपमा पेशामा क्रियाशिल रही ज्यान गुमाउँदा पाउनु पर्ने सम्मान र परिवारलाई सान्त्वना स्वरुप राज्यले विशेष सुविधा उपलब्ध गराउने व्यवस्था नहुदा पारिवारिक सहयोग र सम्मानको वातावरण बन्न सकेको छैन । यसका लागि राज्यको तर्फवाट ठोस पहल गर्न जरुरी छ । लामो संघर्ष र वलिदानी पूर्ण ईतिहासको गर्भवाट प्राप्त हालको उपलब्धीको रक्षा गर्दै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न विकास साझेदारको रुपमा संचार जगत कर्तव्यनिष्ठ भएर उभिन सकोस् ।

लेखक थाक्रे गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ

€ZX

Loading...

अन्य समाचारहरु: