Thu. Apr 9th, 2020

बागमती प्रदेश सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनः निर्माण गर्ने

१४ फागुन , मकवानपुर –

बागमती प्रदेश सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनः निर्माण गर्ने भएको छ । प्रदेश दुईसँगसमेत सहकार्य गरेर सुरुङमार्गलाई आकर्षक हिसाबले पुनःनिर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको देशलाई पर्यटनमय बनाउने योजना तथा मुख्यमन्त्री डोरमणि पौडेलको परिकल्पनामा काम भइरहेको बताउँदै मन्त्री फुयाँलले वैशाखदेखि काम सुरु गरिने जानकारी दिए ।

उनले वर्तमान समयमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभएपनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरेर पुनःसञ्चालनमा ल्याउने योजनाअनुरुप काम अगाडि सारिएको जानकारी दिए ।

तत्कालीन समयमा एशियाका विशाल र शक्तिशाली भनिएका देशले बनाउन नसकेको सुरुङमार्ग नेपाली प्राविधिक र कामदारसमेत नेपाली नै सहभागी भएर उक्त सुरुङमार्ग निर्माण भएको थियो । त्यो इतिहासको प्रचारप्रसार गर्नु तथा पर्यटन प्रवद्र्धन गर्नु एवं विकासका परम्परागत प्रविधिका बारेमा अध्ययन गर्ने स्थलका रुपमा विकास गरेर विगतमा के कस्ता सामग्रीको प्रयोग कसरी गरिँदोरहेछ भन्ने जानकारी वर्तमान पुस्ता र भावी पुस्तालाई समेत गराउने उद्देश्यसहित व्यवस्थित र सुरक्षित तबरले पुनःनिर्माण गराउने प्रदेश सरकारको योजना रहेको छ ।
मन्त्री फुयाँलले नेपालकै पहिलो सुरुङमार्गको संरक्षण र सम्बद्र्धन आवश्यक रहेको उल्लेख गर्दै चुरियामाई मन्दिर र सुरुङमार्ग प्रवेश गर्ने स्थानमा आकर्षक प्रवेशद्वार निर्माण गरिने पुरातत्व विभागसँग समन्वय गरेर काम गरिने उनले बताए ।
विसं १९७३ मा पाँचौँ राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएको एक स्थानियबासीले बताए ।
उनले आफ्नो २८ वर्षे शासनकालमा थुप्रै विकास निर्माणका काम गरेकामध्ये महत्वपूर्ण काम थियो अमलेखगञ्जदेखि भीमफेदीसम्मको मोटर बाटो । सोही खण्डमा पर्ने बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर द्रुतमार्ग ९सुरुङ० बनाइएको थियो ।

त्यस समय भारतबाट बाराको अमलेखगञ्जसम्म रेल आउँथ्यो भने अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।
आजभन्दा १०३ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोल शास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उहाँले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा उल्लेख गरेका छन् । स्वीट्सजरल्याण्डबाट नेपालको खानी लगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किन्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

२०७६ फागुन १४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: