Thu. Apr 9th, 2020

घर देखि अदालत सम्मको कहालीलाग्दो यात्रा


राधिका सापकोटा


मेरो १४ वर्षको उमेरमा विवाह भयो जतिखेर म कक्षा ८ मा पढ्दै थिए । म वर्षले १४ भएपनि अलि ठूलो गाँठीको भएको कारणले ठूलो नै देखिन्थे । मेरो परिवारलाई मैले आफूले मनपराएर कसैसंग आफूखुसि विवाह गर्छे भन्ने डरले बा ले आफ्नो इज्जतको रक्षा गर्न मेरो विवाह १४ वर्षमा गरिदिनु भयो । १५ वर्ष हुँदा मैले छोरा जन्माए । बच्चा जन्मेपनि मैले पढ्न भने छोडिन । विहान ४ बजे उठेर आधा घण्टाको बाटो टाढाबाट दिउँस भरीलाई पुग्ने पानी जम्मा गरिदिएर, गाईवस्तुलाई पुग्ने घाँस काटिदिएर अनि पढ्न जानु मेरा लागि थकाई मेटाउने एउटा थलो मात्रै हुन्थ्यो स्कूल ।

घर आएपछि पनि सानो बच्चा अनि काम किताव थन्काएपछि एकै पटक भोलीपल्ट विद्यालय जाने बेलामा मात्रे किताब खोलिन्थ्यो । यही विचमा १८ वर्ष हुँदा छोरी जन्मि एस.एल.सि पनि पास गरे । ११, १२ पढ्न मैले ठूलै लडाई लड्नु पर्यो । अपरिपक्क श्रीमान, बच्चै आफु र आफ्ना २ बच्चा अनि पढाई मेरा लागि कति कण्टकर थियो अहिले कल्पनै गर्न सक्दिन । राती सबै सुतिसकेपछि भोलीपल्टको लागि जाँतोमा पीठो पीधेर मात्रै मैले सुत्न पाउँथे ।

एकदिन साह्रै गाह्रो भएको थियो बच्चा विरामी थियो भोलीपल्टको लागि पिठो कुट्न सकिन विहान घाँस लिएर आउँदा सासुले थालमा मकै हालेर म तिर हुँर्याईदिन । भोकाएको पेट निस्तो मकै कसरी खानु रुदै रुदै दिउँसोको मेला गए । त्यस्ता थुप्रै दिन र रात छन् जुन खान नपाएर भोक भोकै रुदै सुतेका । बच्चाले आमा देख्नै पाउँदैन थे । दिसा पिसा एकै ठाउँमा बनाएर बारीमा सुतिरहेका हुन्थे । कतिवेला आयो अनि सफा गर्यो । लाउलाउ खाउँआउँ भन्ने र उन्मत्त बैस चढ्ने बेलामा म पुरै बुढि भएजस्तो लाग्थ्यो । हाँसो खुसी खेल्ने उफ्रने त कता हो कता । श्रीमान पैसा कमाउन भनेर इन्डिया गए ।

यहाँ दुःख सुख गरेर बसे । इन्डियाबाट त कसैलाई नभनी यहाँ आउने हो भने आइजो नत्र मेरो लास देख्लिस भनेर धम्कि आको आई गरेपछि साना छोरा छोरी माईतिमा छोडेर काठमाण्डौ उपचार गर्न भन्दै आमा संग पैसा मागेर इन्डिया गएँ । त्यहाँ गएपछि आउनै दिएन श्रीमानले त्यहि काम गर्न थाले । छोरा छोरीको यादले मुटु काम्थ्यो तै पनि सहेरै बसे । पछि श्रीमानले मलाई छोडेर भागेर नेपाल आयो । म अलपत्र परे । न नेपाल आउन पैसा थ्यो न कसरी आउने थाहा नै थियो । पछि बुबाले थाहा पाएपछि यहाँबाट पैसा पठाएर एकजनाको साथमा नेपाल झिकाउनु भयो ।

फेरी श्रीमानले माफि माग्यो ठीकै छ भनेर सहेरै बसे । त्यसपछि म माईती बस्न थाले ऊ विदेश गयो । विदेश गएर केही समय पैसा कमायो पनि तर पछि रक्सिको कुलतमा फसेर त्यही मर्न लागे मलाई यहाँबाट निकाल भनेपछि आफैले ऋण गरेर नेपाल झिकाए । फेरी गाउँ गएर कुखुरा पालौ भन्यो लु न त भनेर संगै गए । कुखुरा व्यवसाय गरियो तर रात दिन जाँड रक्सि खाने काम नगर्ने गरेपछि व्यवसाय घाटा लाग्यो । म माईतमा नै फर्के छोरा छोरी लिएर बसे । उसले जतिवेला पनि जाँड खाने रक्सि खाने र आफू पागल भएको नाटक गर्न थाल्यो ।

मैले काम शुरु गरे । कामको सिलसिलामा गाउँ जानु पर्थ्यो । जतिवेला को संग सुतेकी छेस भनेर मानसिक तनाब मात्रै दिन थाल्यो । यहि विचमा बुबा आमा दुबैको मृत्यु भयो । छोरा छोरी हेरिदिने मान्छे समेत भएन । मैले आफ्नो काम घर बसेर गर्न सक्ने गरी मिलाए । बच्चा लिएर माइतिमा नै बसे । ऊ बेला बेला आउने मलाई र बच्चाहरुलाई कुटपीट गर्ने, बच्चाहरुको जिउँमा पिसाब फेर्दिने सम्मको हर्कत गर्न थाल्यो ।

दशैमा जे जे भएनी घर जानु पर्छ भनेर घर गए । घरबाट माइतीमा टिका लगाउन भनेर आएर बेलुका सुतेको मान्छे रात भरी सुत्न दिएर र विहान छतमा गएर हामफालेर मर्छु भनेर तनाब दिएपछि प्रहरी आएर समातेर अस्पताल लगेर बेहोस हुने सुई लगाएर पाटन अस्पताल लगे । आफैले अस्पताल लगेको श्रीमानको परिवारले तँ राती अरुसंग सुतेको ले सहन नसकेर भाईयस्तो भयो भनेर आरोप लगाए । परिवारले त्यसो भन्दा श्रीमान चुपचाप लाग्यो त्यसपछि अस्पतालमा नै उसलाई छोडेर म घर फर्के ।

त्यसपछि मेरो मन मर्यो । बच्चा लिएर सुतेको मान्छेलाई यतिसम्मको आरोप लगाउन सक्छ भने म कसरी बस्न सक्छु यो संग भन्ने भयो । हिजो गाउँमा हुँदा केही बुझेको थिएन जानेको थिईन र यो भन्दा बाहेक म कसरी बाँच्छु होला र जस्तो लाग्थ्यो । बच्चाहरुका लागि पनि मैले सहनु पर्छ भन्ने लाग्थ्यो तर मैले काम गर्न थाले पछि धेरै कुरा बुझि सकेको थिए । म विस्तारै बलियो बन्दै गईरहेको थिए । म र बच्चाहरु आफै पाल्न सक्छु भन्ने हिम्मत म मा थियो त्यसैले उसका यी हिंसाका चरमा अवस्थाको मैले प्रतिकार गर्न थाले ।

ऊ रक्सिको नसामा चुर चुर हुँदै गयो । धेरै पटक मेरो आफन्त र साथीहरुले राखेर मिलाउन प्रयास गर्नुभयो तर उसको व्यवहारमा कुनै परिवर्तन आएन । बच्चाहरु ऊ देखेर तर्सन थालेपछि मैले उसलाई मेरो कोठमा आउन दिन छोडे तर पनि रक्सि खाएर ऊ आउथ्थो । १ महिना जति ऊ वेपत्ता भयो । उसले गाउँमा मेरो व्याग पैसा खोसी भनेर आरोप लगाएछ ।

उसले व्यग जाँड खाएर फालेको ठाउँबाट मेरो एकजना आफन्तले राखीदिनु भएको थियो । १ महिना जति पछि के रहेछ त्यो व्यागमा भनेर हेर्दा जग्गाको लालपुर्जा रहेछ । उसले आफ्नो सबै जग्गा आफ्नी दिदिको नाममा पास गरेर दिएछ । म छाँगाबाट खसेजस्तै भए । अनि मैले सबै भन्दा पहिला सासु र जेठाजुहरुलाई फोन गरेर यो कुरा भने तर उनीहरुलाई आफूलाई थाहा नभएको भनेर पन्सिन खोजे । उसको फोन अफ थियो । उसले जिउँदै छोराछोरीलाई समेत मार्यो तर मैले हिम्मत हारिन । म लड्छु भन्ने भयो ।

मैले आमाजुको विरुद्ध श्रीमान वेपत्ता पारेको निवेदन हाले । प्रहरीमा छलफल भयो । जग्गा लिएर आमाजुले मानसिक विरामी भाईलाई विदेश पठाइछ् । हाम्रो भागको जग्गा फिर्ता गर भन्दा उनी कुनै पनि हालतमा तयार भईनन् । उल्टै उनले छोराछोरी खोस्ने सम्मको प्रयास गरेपछि मैले स्कुलमा समेत बच्चाहरुलाई कसैसंग भेट्न नदिनु भन्नु पर्यो । केही नलागेपछि मैले अदालती प्रकृया रोजे र मुद्दा शुरु गरे । १ वर्ष जतिमा मुद्दा फैसला भयो । मैले जिते मेरो र बच्चाहरुको जग्गा फिर्ता हुने फैसला भयो । त्यसाको २ वर्ष जस्तो कार्यान्वयनमा लाग्यो । यो झन्झटिलो प्रकृया र कुराईले मलाई आजित बनाईसकेको थियो । तर पनि मैले हार मान्नु हुदैन भनेर लागिरहेको थिए । आदलतमा सरहरुलाई चिनजान भएका कारण पनि मलाई केही सहज भएको थियो । बल्ल अदालतले पुर्जाका लागि मालपोत पठायो फेरी अर्को लडाई शुरु भयो । यो वा त्यो वहानामा काम अगाडी नै बड्न नदिने रहेछन् ।

एकजना बुढिमान्छे १ वर्ष देखि मालपोत धाईरहनु भएको सुने । मलाई अत्यस लाग्यो । मैले अफिसको दिदिहरुलाई भने उहाँहरुले गएर कराउनु भयो, हाकिम संग कुरा गर्नुभयो , मिडियामा लेराउने धम्कि दिनु भयो त्यत्ति गर्दा पनि बल्ला ४ दिनमा मेरो हातमा लालपुर्जा पर्यो । अदालतले फैसला गरेपछि पनि तिरो तिरेको रसिद चाहिने चारकिल्ला प्रमाणीत चाहिने जस्ता कुराले कति असहज बनाउँदो रहेछ भन्ने महसुस मैले गरे । वडा अध्यक्ष त्यही ठाउँको भएपछि उहाँहरुको लागि म भन्दा जति नै काम नलाग्ने भएपनि मेरो श्रीमान नै नजिक हुँदो रहेछ । पितृसतात्मक सोचले ग्रस्त जनप्रतिनीधिहरुले सहजै हामीलाई कागजपत्र दिन चाहाँदा रहेनछन् । मैले भोगेका सबै पीडाको साक्षी हुँदा हुँदै पनि उनीहरु मलाई नै दोषि देखिरहेका थिए ।

मिलेर त्यो जडिया श्रीमान सुधार्नुपर्ने जिम्मेवारी मेरो देखि रहेका थिए र मैले त्यो जिम्मेवारी पुरा नगरेकोमा उनीहरु रुस्ट थिए । सकेसम्म अट्काउने कोसिस गर्थे । म संस्थासंग जोडिएको र मेरो पछाडी दिदिहरु भएका कारणमात्रै उनीहरु मेरो कागज नदिन सक्दैन थे तर कोसिस पुरा पुर गर्थे । अंशको कार्यान्वयन संग संगै मैले सम्बन्ध विच्छेदको मुद्दापनि हाले । मुद्दा चलिरहेकै अवस्थामा श्रीमान विदेशमा रक्सि धेरै खाएर मर्न लागेर त्यहाँ भएका नेपालीहरुले पैसा उठाएर फिर्ता पठाएर नेपाल आयो । आएर उसले ज्यान मार्ने धम्कि दिन्थ्यो ।

फोन गरेर अनेक लालछना लगाउने र तनाब दिने गर्थ्यो । केही समय अगाडी सम्बन्ध विच्छेदको मुद्दा फैसला भयो । यो विचमा धेरै जनाले सम्बन्ध विच्छेद नगर्न सुझाए । बच्चाहरुका लागि सम्बन्ध राख्नु पर्छ भन्नेहरु पनि भए तर कसैले उसले तिमीमाथि अन्याय गरेको छ त्यसको साजयँ उसले पाउनु पर्छ चाँही भनेने । यो समाजलाई मैले १५ वर्षको उमेरमा भोगको ती कहाँली लाग्दा दिनहरुले पीडा हुँदैन तर मैले त्यहि हिंसक मान्छेबाट आफु र बच्चाहरु छुटाउँदा पीडा हुन्छ । गत वर्ष मात्रै मसंगैको साथीले विवाह गरिन । तर मैले जीवनको एउटा अध्याय भोगि सके । सायद कसैले पनि यो पुरै जीवनमा भोग्दैन होला यी भोगाईहरु । जब सम्बन्ध विच्छेद भयो अनि फेरी शुरुभयो यो समाजको गिद्दे नजर ।

फलानोको श्रीमती मरेको छ विवाह गर्ने हो? फलानको सम्बन्ध विच्छेद भएर एक्लै छ विवाह गर्ने हो ? हरेक दिन जसो यस्ता प्रश्नहरु आउँछन् । अब विहे गर्ने त होला नी ? भेट्ने वित्तिकै शुरु हुन्छ यही प्रश्न । कसैले दयाको भाव राखे झै भन्छन् यत्रो लामो जिवन कसरी काट्ने एक्लै विवाह त गर्ने पर्यो नी । केही सिमित व्यक्ति वाहेक कोही त्यस्तो व्यक्ति भेटेको छैन जसले तिमी एक्लै जीउन सक्छौं, एक्लै आमा भएर बच्चाहरुको दायिन्त्व पुरा गर्न सक्छौं भनेर । बच्चाहरुले बाबुको महसुस गरेनन् । बाबुको माया के हो थाहा पाएनन् । त्यसैले उनीहरु अहिले बाबुको थर लेख्न मान्दैनन् । जसले कहिलै हामीलाई छोरा छोरी भनेन, बाबुको कर्तव्य पुरा गरेन भने किन हामी उसको नाम र थरबाट चिनिने हामी तपाईकै थर राख्छौं भनेर रुन्छन् । कानुनले पनि आमा वा बाबुको थर राख्न पाउने प्रावधान दिएको छ ।

त्यसैले मैले बच्चाहरुको जन्म दर्ता ससोधनका लागि गाउँपालिाकमा निवेदन दिए तर त्यसले त्यहाँ तहल्का मच्चाएको छ । बाबु त त्यही नै हो नी अनि थर किन फेर्ने, आमाको थर राखेर अब यिनीहरुको बंश को हुने ? किन यस्तो वाईयात कुरा गर्नुपरेको आदिआदि । केही दिनको समय मागिएकोले मैले निवेदन छोडेर आएको छु तर आज सम्म जवाफ पाएको छैन । कानुन बनेपनि कार्यान्वयन गर्नेहरुको मानसिकतामा परिवर्तन भएको छैन । जसका कारण मलाई थाहा छ फेरी अर्को लडाई नलडे सम्म मैले मेरो पहिचान दिन सक्दिन । सायद यो पुरै जीवन लडाईमा नै वित्छ होला यो वा त्यो नाममा तर तयार छु । मैले लडाई लडेभने अरुलाई केही सजिलो हुन्छ की । यो घर देखि अदालत र गाउँपालिका सम्मको सफरमा मैले जे भोगे त्यो श्रीमानले दिएको पीडा भन्दा त्यत्ति कम थिएन । अदालतको चौरमा उभिदा हामी उमेर भएका महिलाहरुलाई हेरिने दृष्टिकोण साच्चै कति पीडा दायक छ । मानौ म पीडाले हैन रहरले यो सब गरिरहेको छु ।

परिवर्तन हुन अझै धेरै बाँकी छ । कम्तिमा ३ वर्ष लाएर मैले मेरो र बच्चाहरुको जग्गात पाए तर अझै मेरो श्रीमान भन्नेले हुर्मत देखाएर खुट्टा टेक्लिस भन्दै छ । जुन दिन खुट्टा राख्छेस त्यो दिन तेरा ेअन्तिम दिन हुनेछ भनेर हुर्र्मत दिदै छ । समाज उसलाई नै सहयोग गरिरहेको छ । मैले रात दिन दुःख गरेर २ वटा बच्चा कसरी पालेको छु, पढाएकी छु भन्ने कुरामा समाजलाई कुनै चासो छैन र सोध्न जरुरी पनी सोच्दैन तर जो निर्लज्ज गैह्र जिम्मेवार भएर हिडिरहेको छ उसको पछमा सतिसाल झै खडा छ समाज । म यो समाज भन्दा पनि अझै बलियो सतिसाल बनेको छु । मैले पाएका पीडा र समाजले गरेका व्यवहार अनि मैले अहिले सम्मको लडाईमा भोगेका भोगाईले सतिरालमा पनि अझै बलियो सतिसाल बनाएको छ ।

आज धन्य लाग्छ कम्तिमा म त्यो हिंसा छोडेर बाहिर निस्किन हिम्मत गरेछु भनेर नत्र आज आमा दिदि बहिनी जस्तै म उसको कुटाई खादै कर्मलाई धिक्कार गर्दै बसी रहेको हुनेथिए होला ।

२०७६ चैत ५ गते प्रकाशित

Loading...