Fri. Mar 29th, 2024

कोरोना भाइरस इटालीमा मृतकको संख्या २५ सय नाघ्यो, अमेरिकाका ५० वटै राज्यमा संक्रमण


५ चैत , एजेन्सी –

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस कोभिण १९ चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने फैलिइरहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ ।

बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८० हजार भने निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । निको हुनेहरुमा चिनियाँ नै धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् । चीनमा निको हुनेको संख्या करिब ६८ हजार रहेको छ ।

इटाली आक्रान्त
युरोपेली मुलुक इटालीमा भने दिनप्रतिदिन संक्रमण फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या ३१ हजार नाघेको छ । इटालीमा निको हुनेको संख्या भने करिब ३ हजार रहेको छ ।

त्यस्तै मंगलबार इटालीपछि स्पेनमा सबैभन्दा बढी १९१ जनाको मृत्यु भएको छ । त्यस्तै थप एक हजार ८ सय ८४ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या ५३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सयभन्दा बढी रहेको छ ।

बुधबार इरानमा पनि थप १३५ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ । इरानमा बुधबार बिहानसम्म ९८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ हजार नाघेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा २७, अमेरिकामा २३, नेदरल्यान्ड्समा १९, बेलायतमा १६, जर्मनीमा ९, स्विजरल्यान्डमा ८, दक्षिण कोरियामा ६, क्यानडामा ४, मलेसिया, इजिप्ट, इन्डोनेसिया र सान मारिनोमा २–२ जना तथा अस्ट्रिया, स्विडेन, जापान, पाकिस्तान, पोल्यान्ड, इराक, भारत, लेबनान, टर्की, अल्जेरिया, मोरक्कको र युक्रेनमा एक–एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ८ सय ३ जनाको मृत्यु भएको छ भने थप १५ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ ।

अमेरिकामा ५० वटै राज्यमा संक्रमण
वेस्ट भर्जिनिया राज्यले मंगलबार पहिलो संक्रमण पुष्टि गरेसँगै अमेरिकाका ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको छ । मंगलबार वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले राज्यमा पहिलो संक्रमित भेटिएको पुष्टि गरेका थिए । बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या १०९ पुगेको छ ।

त्यस्तै अमेरिकामा संक्रमितको संख्या ६ हजार ४ सय ६८ पुगेको छ । अमेरिकामा मंगलबार मात्रै थप २३ जनाको मृत्यु भएको छ भने थप एक हजार ८ सय ५ जनामा संक्रमण देखिएको छ ।

२०७६ चैत ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: