Thu. Apr 9th, 2020

कोरोनाको संक्रमण फैलन नदिन धादिङ जिल्लामा यस्तो छ तयारी


९ चैत, धादिङ


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन धादिङ जिल्लामा विशेष योजना बनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा धादिङबेसीमा बसेको बैठकले कोरोना भाइरस संक्रमणबारे प्रचारप्रसार तथा सचेतना अभिवृद्धि गर्न जिल्ला सदरमुकाम धादिङबेसी,गजुरीबजार तथा अन्य बजार क्षेत्र र स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीसहितको हेल्थडेक्स संचालन गर्ने निर्णय गरिएको छ ।

कोरोना भाइरस संक्रमण र सोको रोकथाम र नियन्त्रण गर्न जिल्लाका सबै स्थानीय तहहरुका स्वास्थ्य संस्थामा आउने नागरिकलाई सचेतनामूलक जानकारी प्रदान गर्ने, हात धुने तरिकाको बारेमा जानकारी गराइने बताइएको छ । स्थानीय तहहरुमा संचालनमा रहेका एम्बुलेन्स चुस्त र तयारी अवस्थामा राख्ने, धादिङ अस्पतालमा आइसोलेसन एरियासहितको आइसोलेसन बेड तयार गरिने बताइएको छ ।

अत्यावश्यक सामग्रीहरु अभाव हुन नदिन नियमित बजार अनुगमन गर्ने, कालोबजारी गर्ने, अनियमितता गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बैठकमा बताइएको छ । अत्यावश्यक काम बाहेक अन्य प्रयोजनको लागि घर बाहिर आवातजावत तथा हिडडुल नगर्न समेत आग्रह गरिएको छ ।

त्यस्तै संक्रमणबाट सुरक्षित रहन भन्दै धादिङ जिल्लामा संचालित उद्योगहरु बन्द गरिने भएको छ । जिल्लाको राजमार्ग आसपासमा संचालित क्रसर उद्योग, इट्टा उद्योग, धेरै संख्यामा मानिसहरु उपस्थित हुने होटल लगायत बन्द गरिने निर्णय गरिएको छ । जिल्लामा संचालित खानी, बालुवा धुने बासिङ उद्योग समेत बन्द गर्ने निर्णय गरिएको हो ।

बैठकमा बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

२०७६ चैत ९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: