Sun. Sep 20th, 2020

धादिङमा भारतबाट फर्किएका २५ जना क्वारेन्टाइनमा

धादिङको नीलकण्ठ नगरपालिकामस्थित डिभिजन वन कार्यलयको भवनमा निर्माण गरिएको क्वारेन्टाइन ।

१२ चैत, धादिङ


धादिङमा भारतबाट फर्किएका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको गल्छी गाउँपालिका वडा नं ६ बैरेनी १६ जना र नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित सदरमुकाममा ९ जनालाई क्वारेन्टाइनमा राखिएको हो । बैरेनीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका सबैजना गल्छि गाउँपालिका वडा नं ८ गोगनपानीका हुन् ।

रोजगारीका क्रममा भारत गएर फर्किएका १६ जना युवा मध्ये एक जनालाई ज्वरो आएपछि सबै जनालाई क्वारेन्टाईनमा राखिएको गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमबाट बच्न गाउँपालिकाले यस अघि नै बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाइन कक्ष निर्माण गरिएको थियो । उनीहरुलाई सोही कक्षमा खानाको व्यवस्था व्यहोर्ने गरि राखिएको हो ।

त्यस्तै नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित सदरमुकाममा पनि भारतबाट फर्किएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला अस्पतालमा स्वास्थ परिक्षण पश्चात धादिङबेसीस्थित डिभिजन वन कार्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा राखिएका मध्ये सबैजना नीलकण्ठ नगरपालिका वडा नं ६ भोर्लेका हुन् । क्वारेन्टाईनमा राखिएका ९ जनालाई खानाको व्यवस्था नीलकण्ठ नगरपालिकाले गर्ने बताइएको छ ।

भारतमा कोरानाको संक्रमण फैलिएको र त्यहाँबाट आउनेहरुमा पनि कोरोना लागेको हुनसक्ने आशंकामा उनीहरुलाई क्वारेटाइनमा राखिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु प्रसाद रिजालले बताए ।

कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमबाट धादिङबेसीस्थित वन कार्यालयको भवनमा २५ शैया र टुडिखेलमा ४० शैयाको क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । प्रत्येक स्थानीय तहहरुले पनि आइसोलेशन कक्ष र क्वारेन्टाइन स्थल निर्माण गरिएको छ ।

स्वास्थ्यकर्मीको सुरक्षाका लागि धादिङ अस्पताललाई १४ सेट पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) आएको छ । त्यस्तै त्रिपूरासुन्दरी गाउँपालिकाले प्रत्येक स्वास्थ्य संस्थालाई दुई÷दुई वटाका दरले व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ । सम्भावित संक्रमण देखिएमा स्थापना गरिएको आइसोलेशन कक्ष र क्वारेन्टाइन कक्षमा राखिने गाउँपालिकाले जनाएको छ ।


२०७६ चैत १२ गते प्रकाशित

Loading...