Fri. Jun 5th, 2020

काम नपाएपछि सल्यानटारका विस्थापित मजदुरलाइ खाद्यान्न समस्या(भिडियो रिपोर्ट)

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ मा रहेको भुकम्प पिडित शिविरका महिलाहरु गिटि कुट्दै

२२ चैत, सल्यानटार (धादिङ) / मनिष दुवाडी-

बस्तीभरिका मानिसहरु एक ठाउँ जम्मा भएर गिटि कुटिरहेका छन् । गिटि कुट्नेको समुहमा १० बर्षे बालकदेखि ६५ बर्षे बृद्धसम्म छन् । यो दैनिकी हो, २०७२ को विनाशकारी भुकम्प पछि उत्तरी धादिङबाट विस्थापित भएर त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं १ पौवाडिलमा अस्थायी शिविरमा बसिरहेका विस्थापितहरुकोे ।

भिडियो रिपोर्ट

भुकम्प पछि उत्तरी धादिङको लापा, झार्लाङ लगायतका अति जोखिममा परेका बस्तीबाट सुरक्षित रहन उनीहरु यहाँ आएका थिए । उनीहरुले कुटेको गिट्टिको थुप्रो दिनप्रतिदिन बढिरहेको छ, तर विक्री भएको छैन । ज्यालादारीमा गर्ने अन्य कामहरु पनि बन्द भएकाले बस्तीमा रहेकाहरुलाइ विहान बेलुकाको छाक टार्ने समस्या भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनका कारण सवै काम ठप्प हुँदा धादिङको सल्यानटारमा भुकम्प पछि अस्थायी शिविरमा बसेर ज्यालामजदुरी गरिरहेका परिवारहरु समस्यामा परेका छन् । दैनिक गर्ने काम पनि नपाएको मौज्दात रहेको खाद्यान्न सामाग्री सकिएपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको उनीहरुले गुनासो गरेका छन् ।

विस्थापित शिविरकी मजदुर धनमाया तामाङले भनिन्, ‘दैनिक मेलापात गरेर, काम गरेर गुजारा चलिरहेको थियो, अहिले सवै काम ठप्पछ, वाँकी रहेको सामानहरु पनि सकिदैछ, कुटेको गिट्टि पनि विक्री भएको छैन, अव भोक भोकै पो भइन्छ कि भन्ने पिर लागिरहेको छ ।’

कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले देशैभर लकडाउन गरेको छ । विकास निर्माणका सवै कामहरु ठप्प रहेकाले यो शिविरका मजदुरहरुले पनि काम पाएका छैनन् । विस्थापित बस्तीका पुरुषहरु ज्याला मजदुरीमा काम गर्न जाने तथा महिलाहरु गिट्टि कुट्ने काम गर्थे ।

तर लक डाउनका कारण गिट्टि पनि विक्री नभएको र दैनिक ज्यालादारीमा गर्ने काम पनि नपाएकाले भोक भोकै बस्नुपर्ने अवस्था आउन लागेको बताए । शिविरका स्थानीय कान्छा तामाङले भने, ‘हामी टाढाबाट आएका मान्छे प¥यौँ, सवैजनाले उधारोमा खाद्यान्न किन्न पनि नपाइएला, सवै ठाउँमा खुलेको पनि छैन, घरमा भएको सकिदैछ, बाहिरबाट ल्याउन पाइएको छैन । धेरै समस्या परिरहेको छ ।’

अस्थायी शिविर

यता गाउँपालिकाले भने विस्थापित शिविर सहित पालिका भित्रका सवै मदजुरहरुको लागि राहत प्याकेज ल्याइन लागेको जनाएको छ । पालिका भित्रका वडा वडामा रहेको दैनिक ज्यालादारीले छाक टार्ने मजदुरहरुको लगत संकलनको काम भइरहेकाले अव छिट्दै मदजुरहरुलाइ खाद्यान्न लगायतका सामाग्रीहरु उपलब्ध गराइने पालिका अध्यक्ष शम्भु थापाले बताए ।

उनले भने, ‘सम्पुर्ण जनप्रतिधि खटाएर आफ्नो आफ्नो क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेरै परिवार पाल्नेहरुको आँकडा झिकाएका छौँ, एक दुइ दिन भित्रमा उनीहरुलाइ लकडाउन अवधीभरको लागि राहत उपलब्ध गराउनेछौँ ।’

भाइरसको संक्रमण फैलिन नदिनको लागि लकडाउन अपरिहार्य थियो तर दैनिक ज्याला मजदुरी गरेर आफ्नो र परिवारका पेट पालिरहेका यी र यस्तै मजदुरहरुलाइ भने ठुलो समस्या निम्तिएको छ । दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्ने मदजुरहरुको यो प्रतिनिधि समस्या हो । यस्तै समस्या जिल्लाका अन्य पालिकाभित्रका दैनिक ज्यालादारी काम गरेर विहान बेलुकाको छाक टार्ने मजदुरहरुलाइ पनि परेको छ । तसर्थ स्थानीय सरकारले तत्काल त्यस्ता मजदुरहरु पहिचान गरि उनीहरुलाइ भोकै बस्ने अवस्था आउन नदिन आवश्यक कदम चालिहाल्नुपर्ने देखिएको छ ।

२०७६ चैत २२ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: