२५ जेठ, धादिङ – सुनसरी हाँसपोसाकी देविका दर्नाल भूकम्प पीडितका लागि अस्थायी घर बनाउन भनेर १५ दिनअघि धादिङ आएकी थिइन् । तर, अब फर्किंदा उनले धादिङमा सधैंका लागि एउटा स्थायी नाता गाँसेर जाँदै छिन् ।
सुनसरीबाट धादिङ आउने १७ वर्षीया देविका एमालेको स्वयंसेवक टोलीकी एकमात्र महिला सदस्य हुन् । उनी करले होइन, रहरले आएकी थिइन पहाड हेर्न भनेर । तराईबाट पहाड चढेकी देविकाले धादिङको थाक्रेमा अजम्बरी नाता गाँसिन्, सोही ठाउँकी अप्सरा सापकोटासँग मित लगाएर ।
देविका थाक्रेका भूकम्प पीडितहरुलाई अस्थायी घर बनाउने अभियानमा थिइन् । उनले सोचिन्(यति टाढा अनकन्टार डाँडामा आइ त सकियो, एउटा नाता किन नगाँस्ने रु अघिपछि आउने बाटो पनि त हुन्छ ।अभियान चलिरहेकै बेला उनकै जस्तो अनुहारकी अप्सरा सापकोटा भेटिइन् । एमालेको कोशी अञ्चलको उनी सम्मिलित टोलीले अप्सराको घर बनाइदियो । अनि यी दुईजनालाई मितिनीको नाता पनि गाँसिदियो ।
मितिनीले धेरै पढुन्
नौबिसेबाट अलि माथि त्रिभुवन राजपथ छाडेर उकालो लागेपछि पुगिन्छ थाक्रे । थाक्रे गाविस वडा नम्बर १ को महांकालेश्वरी उच्च माविमा १० कक्षामा पढ्ने अप्सरा सापकोटा सुनसरी हाँसपोसाकी देविका दर्नालसँग मितिनी बन्न पाउँदा दंग थिइन् । देविकाले पढेकी छैनन् । तर, अप्सराले धेरै पढुन् भन्ने चाहान्छिन् । ‘आफू त गरिव दलित परिवारमा जन्मिएर पढ्न पाइँन, मेरी मितिनीले धेरै पढेर ठूली मान्छे भएको देख्न चाहान्छु’ मितिनीसँग टाउको जोडाउँदै देविकाले भनिन् । कहिल्यै पहाड नचढेकी देविकाले स्वयंसेवक अभियानका क्रममा धादिङका धेरै डाँडाकाँडा पैदल नै चढिन् । अब पहाडसँग कहिल्यै नटुट्ने साइनो जोडेकी छन् । ‘अब पहाड आउने साइनो गाँसियो, बेला बेलामा मितिनीलाई भेट्न आउँछु’ उनले भनिन् ।
जातभन्दा ठूलो साइनो
मित लाउनुअघि देविकाले पार्टीका नेताहरु समक्ष प्रस्ताव राखिन् । उनीहरुले अप्सराको परिवारको राय खोजे । अप्सराको परिवार ब्राम्हण, देविका दलित । कतै अवरोध हुने पो हो कि भन्ने आशंका थियो । तर, अप्सराका परिवार पनि तराईबाट आएकी स्वयंसेवीलाई मित छोरी बनाउन तयार भए । ‘हाम्रो सम्बन्धलाई जात धर्म र भूगोलले अवरोध गरेन’ देविकाले भनिन् ‘हाम्रो पार्टीले मान्छेका दुई जात मात्र हुन्छन् भनेको छ, महिला र पुरुष’ । अप्सरा पनि आफ्नी मितिनी अब परिवारको सदस्य भएको भन्दै जातको कुरा कतै नआउने बताउँछिन् । मित लगाइसकेपछि अप्सराको परिवारले देविकालाई घरभित्रै राखेर खानपिन गराए । यी दुईको मित सम्बन्धको साक्षी बनेका कोशी अञ्चलका एमालेका युवा नेता बाबुराम थापाले भने(हामी भूकम्प पीडित जनतालाई सघाउन आएका थियौं, देविकाले सधैं सम्झिने साइनो गाँसिन्
नाम बन्द, सपिङ गोप्य
देविकाले थाक्रेबाट एक घण्टा तल झरेर नौबिसेमा मितिनीका लागि सपिङ गरिन् । अप्सराले पनि गच्छे अनुसारको सपिङ गरिन् । मित लाउँदा उपहार साटासाट गर्ने प्रचलन हुन्छ । उपहार के दियौ त रु दुबैजनाले लजाउँदै भने – यो त गोप्य हो ।मित लगाएपछि अब दुबैले एक अर्कालाई नामले बोलाउन मिल्दैन । मितिनीलाई फोटो खिच्न बोलाउन विद्यालयको कक्षा कोठामै पुगेकी देविकाले नाम नलिई भनिन्मि-तिनी बाहिर आउनुस् त । कहिल्यै तराई नदेखेकी अप्सरा पनि अब मितिनीको घर हेर्न चाँडै नै सुनसरी जाँदैछिन् । उनी भन्छिन्-अरु नाता स्वार्थका हुन्छन्, त्यसैले हाम्रो मितिनीको नाता निस्वार्थी र अजम्बरी हुनेछ ।देविकाको टोलीले भूकम्प पीडित थाक्रेबासीलाई बनाइदिएका अस्थायी घर टहरा केही महिना वा वर्षपछि फाट्नेछन् तर देविकाले थाक्रेमा लाएको साइनो कहिल्यै फाट्ने छैन ।
अनलाइनखबरबाट