Fri. Mar 29th, 2024

कोरोना भाइरस, लकडाउन र हाम्रो नियति

विकास श्रेष्ठ–


मानव सभ्यताको विकासक्रमको आजको घडीसम्म आइपुग्दा पछिल्ला पाँच महिना संसारभरको सिंगो मानव जाति अत्यन्तै कठिन र चुनौतीपूर्ण अवस्थामा असहज जीवन गुजार्न बाध्य छ । एउटैमात्र कारकले हरेक देश र हरेक मानिसलाई एकैचोटि एउटै परिस्थिति र मनस्थितिमा एकै ठाउँमा बन्दी बनाउँछ भन्ने न त तीक्ष्ण वा उत्तरआधुनिक चेतयुक्त वैज्ञानिक/विज्ञसँग यस्तो पोष्टसाइटण्ड (पश्चातदर्शी)अनुमान थियो न त जस्तोसुकै गफ पनि ‘होला’ जस्तो बनाउन खप्पिस गफाडीले समय कटाउन यसो भन्थ्यो वा न कसैले पागलपनमै भन्थ्यो । भनिन्थ्यो तस तेस्रो विश्वयुद्ध हुन्छ, भूकम्प जान्छ, आँधीबेहरी आउँछ, सुनामी आउँछ, अतिवृष्टिरअनावृष्टि हुन्छ, निश्चित भूभागमा महामारी चल्छ । यसो भन्दै गर्दा पनि सामान्य चेत भएको मान्छेले पनि आजको जस्तो अवस्था आउँदैन भन्ने ठोकुवा नै गर्न सक्थ्यो ।

वर्ष २०१९ ले आफू बिदा भएर जाँदै गर्दा संसारभरका साँढे सात अर्बभन्दा बढी सबै मानिसलाई सोच्दैनसोचेको एउटै साझा चिज छोडेर गयो, कोरोना भाइरसबाट सिर्जित कोभिड-१९ रोग । अहिले राज्य, सरकार र आफ्नै क्षमताबमोजिम हामी उक्त रोगको सामना गर्न विवश छौं । भाइरस देखिएको यति लामो समय बितिसक्दा पनि यसको निर्मूल गर्ने, कम गर्ने वा यसबाट जोगिने औषधि पत्ता लागेको छैन । औषधिको टुंगो लगाउन संसारभरका विज्ञहरू अनवरत लागिपरेका छन् स आफ्ना सबै अध्ययन, ज्ञान र क्षमता लगाइरहेका छन् । शक्तिराष्ट्रहरू कसले पहिले पत्ता लगाउने भनेर अघोषित प्रतिस्पर्धामा छन् , असीमित धनराशि खर्च गरिरहेका छन् । सरकारहरू आफ्ना नागरिक जोगाउनलाई आफ्ना शासकीय क्षमताको परीक्षामा छन् । नागरिक त्रास र चिन्ता अनि औषधि पत्ता लागिहाल्ने व्यग्र आसका बीचमा ज्यान जोगाउनेु जीवन गुजारिरहेका छन् ।

नागरिकको ज्यान जोगाउन विश्वभरका राज्य र सरकारहरूले समान उपाय अवलम्बन गरेका छन् ( हात धुने, सामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजाने भन्नेजस्ता चेतनामूलक गतिविधिका साथमा लकडाउन । कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रवृत्ति र यसलाई फैलन नदिन अपनाइएको लकडाउनको प्रवृत्तिलाई विस्तारित रूपमा हेर्दा औषधि वा अर्को विश्वसनीय उपायको टुंगो नलाग्दासम्मको यसको औषधि लकडाउन नै हो ।

जसरी कोरोना भाइरस र यसको संक्रमणको प्रवृत्ति संसारभर निकै नौलो थियो, जोगिने उपाय पनि निकै नौलो नै अपनाउनुपर्ने भयो । हामीले आत्मीयताका साथ अत्यन्तै सामान्य मानिआएको सँगै बस्ने, खाने, हिँड्ने, रमझम गर्ने जस्ता सामाजिक गतिविधि र हात मिलाउने प्रचलनरसंस्कार एकैचोटि सर्लक्कै छोड्नुपर्ने भयो । ‘ज्यानको मायाले’ यस्ता कर्ममा अभ्यस्त हुन हामी ‘बाध्यतापूर्वक राजी’ भयौं । हाम्रा दैनिकी आफ्नै घरको चौघेरामा सीमित गरिरहेका छौं । आज सुन्दर जीवन बाँच्ने र भोलिको जीवन झन् सुन्दर बनाउनको लागि जोहो गर्न जहिल्यै गरिने दौडधुप र हुने कमाइको भोक थाती राखिरहेका छौं । नागरिक र राज्यको जीवन सुदृढ तथा प्रतिष्ठित बनाउन रक्तसञ्चारको भूमिका निर्वाह गर्ने कमाइ वा आर्थिक उपार्जन ठप्प छ । चलायमान वा गतिशील हुनुपर्ने अर्थतन्त्र नै वर्तमानमा ठप्प र भोलि अनिश्चित हुँदा राज्यले गति लिन सक्दैन ।

कोरोना भाइरसको दुष्प्रभाव केवल कुनै एक क्षेत्रमा मात्र पर्दैन, यो बहुआयामिक हुन्छ, हरेक क्षेत्र र हरेक नागरिक प्रभावित हुन्छ । एकातिर रोगले लाखौंको संख्यामा एकैपटक मानव जीवन गुमिरहेको छ, अकल्पनीय, अगणित र अपूरणीय क्षति भइरहेको छ । अर्कोतिर विकास निर्माण, सामाजिक रुपान्तरण, उद्योगधन्दा, व्यापारव्यवसायमा भएको क्षतिको हिसाबकिताब अनुमान मात्रै गर्न सक्छौं, परिपूरण त सम्भव नै छैन ।

हाम्रोजस्तो सानो अर्थतन्त्र भएको देश त्यसमाथि साधारण खर्च टार्न हम्मेहम्मे पर्ने र विकास खर्चका लागि वैदेशिक ऋण तथा अनुदानको आस गर्नुपर्ने, खर्च गर्न सक्ने कमजोर क्षमता र व्यवस्थापन, माथिबाट तलसम्म कमिसनको खेलोफड्को वा अनियमितताको नियति, कानुनको समयमै बन्दोबस्त गर्न नसक्ने (अझ पछिल्लो समयमा निश्चित घरानाको स्वार्थपूर्तिका लागि कानुन बनाउने झेली प्रवृत्ति), तीन तहको सरकारको कसले के गर्ने भन्ने स्वार्थको लडाइँ वा अन्योलता भएको देशमा जसरी संभावित महामारी रोक्ने र अन्य दैनन्दिन व्यवस्थापनमा क्षमता कमजोर देखियो, भोलिको अर्थतन्त्र उकास्ने पूर्वतयारीमा सरकार उत्तिकै उदासीन देखिन्छ ।

सरकारले नागरिकलाई जीवनरक्षा गराउने प्रत्याभूति दिन सकेको छैन । चीनको वुहानमा संक्रमण फैलिएको र त्यहाँको हृदयविदारक दुर्दशाका साँढे दुई महिनाको समय हाम्रा लागि सुविधा थियो । तर, सरकारले संभावित संकटको पूर्वानुमान नै गर्न सकेन, उक्त समयसुविधामा पार्टीभित्र एमसीसी र सरकारभित्र सेक्युरिटी प्रेस खरिद कमिसन प्रकरणजस्ता विषयमा अल्झायो । विडम्बना, आजसम्म आइपुग्दा पनि नागरिक ढुक्क हुन सक्ने स्थिति बनेन ।

सरकार निस्तो लकडाउन पस्केर’अरु’ गतिविधिमा लाग्छ । लकडाउनले घरबाट बाहिर निस्कन मिल्दैन, कमाउने बाटो बन्द छ, खल्ती खाली भैसक्यो । पर्याप्त तयारी र नागरिकको दैनिक गुजारासँग नजोडिएको अत्यन्त लामो र अनिश्चितकालीन लकडाउन अनिवार्य हुँदाहुँदै पनि तिनले आज्ञा शिरोपर गरिराख्दैनन् भन्ने त बैशाखको तेस्रो सातासम्म हप्तौं घामपानी, असिनाहुरीको मार खेपेर भोकैतिर्खै गर्भवती, सुत्केरी र लालाबालासहित पैतालाले राजमार्गको दूरी नापेका मजदुर र निमुखाको लस्करको कारुणिक दृश्यबाट प्रष्ट हुन्छ ।

नेपालमा कसैको जीवन नगुमोस् भन्ने कामना गर्दागर्दै संवेदनशील अवस्थामा रहनुपर्ने सुत्केरी गुमाउन पुग्यौं । यही अन्तिम होस् भन्दाभन्दै ऊर्जावान् युवा गुमायौं । संक्रमितको संख्या थपिएकोथपियै छ । सरकारको फितलो व्यवस्थापन र नागरिकको हेलचक्र्याइँ भइरहने हो भने लकडाउन मात्रले कोरोना रोकिँदैन, झन् बढ्दै जान्छ । त्यसपछिको हाम्रो नियति निकै अकल्पनीय र अनपेक्षित हुन्छ । नागरिकले सरकारको लकडाउनको नीति जिम्मेवार भएर पालना गर्नुपर्छ । तीनै तहको सरकारको अहिलेको मूल दायित्व नागरिकको जीवनरक्षा गर्ने हो, यसलाई केन्द्रविन्दुमा राखेर आआफ्नो अधिकार क्षेत्रभित्रको जिम्मेवारी पूरा गर्नुपर्छ, क्षमता बढाउनु पर्छ ।

लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्ने, समुदायस्तरमा पिसिआर परीक्षणको दायरा व्यापक बनाउने, भारतमा नेपाली सीमामा अलपत्र परेका र विदेशबाट आउन चाहने नेपाली नागरिकलाई ल्याई क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गरी स्थानीय तहलाई हस्तान्तरण गर्ने, लकडाउन अवधिभर नागरिकको दैनिक गुजारालाई न्यायपूर्ण सम्बोधन गर्ने आर्थिक वा उपयुक्त प्याकेज कार्यान्वयन गर्ने काम तत्काल गर्नुपर्छ । चुलो नबल्ने भएपछि र बालबच्चाको पेट सुक्दै गएपछि संक्रमण वा मृत्युकै सन्त्रासका बीचमा पनि ुमर्नुभन्दा बहुलाउन निकोु भनेजस्तो रोटीको खोजीमा पहिले जसरी नै व्यापक मात्रामा नागरिक घरबाहिर निस्कन सक्ने खतरा उत्तिकै छ ।


२०७७ जेठ ६ गते प्रकाशित

About The Author

Loading...