Sat. Jun 6th, 2020

कोरोना संक्रमणको जोखिममा सडक सरसफाई गर्ने मजदुर

पृथ्वी राजमार्गमा सडक सरसफाइको काम गर्ने मजदुर ।


सरिता श्रेष्ठ /१० जेठ, धादिङ–


कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण देश लकडाउनमा छ । लकडाउनका कारण मानिसहरु घरभित्र नै बसिरहेका बेला सडक सरसफाई गर्ने मजदुर भने काममा नै खटिरहेका छन् । तर दैनिक काममा खटिदाँ सुरक्षा सामग्री नै नलगाइ जोखिमपूर्ण तरिकाले काम गरिरहेका छन् । न मास्क, न पञ्जा न अन्य सुरक्षाका सामग्रीहरु नै लगाएका छन् । यसले गर्दा फोहोरमा जोडिएर काम गर्ने मजदुरहरु जोखिममा छन् ।

गजुरी गाउँपालिका वडा नं २ भूमिडाडाका दयानिधि सिलवाल दैनिक सडक सरसफाई गर्ने काम गर्छन् । सडक बढाल्नु, फोहोर टिप्नु, छेउछाउका झारपात उखेली सडकलाई चिटिक्क पार्नु उनको दैनिकी हो । दैनिक व्यस्त हुने पृथ्वी राजमार्गमा अहिले फाट्टफुट्ट सवारी चलिरहेका छन् ।

राजमार्गमा होटल बन्द हुदाँ एम्बुलेन्स, खाद्यन्न तथा तरकारी लगायत अत्यावश्यक सामग्री बोक्ने सवारी साधनमा आवतजावत गर्नेले खाएका चाउचाउ, बिस्कुट लगायतको प्लास्टिकका खोलबाट पनि जोखिम हुने गरेको सिलवाल बताउँछन् । ‘होटल चलेको छैन, आफैले ल्याएका खानेकुरा खायो, फोहोर सडकमा नै फ्याकिदिन्छन्,’ उनले भने, ‘त्यो टिप्नै प¥यो, सरसफाईको काम गर्दा कोरोना भाइरस सर्ला कि भन्ने डर लाग्छ ।’

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), चश्मा, स्यानीटाइजर, सर्जिकल मास्क सफाई मजदुरले पाउन सकेका छैनन् । कोही कसैलाई संक्रमण भएको रहेछ भने फोहोरका माध्यमबाट आफूहरुमा पनि सर्ने सम्भावना रहेको सिलवालले गुनासो गरे । होटल, घर र सार्वजनिक स्थलमा पुग्नु पर्छ । यदि कोही श्रमिक संक्रमित भएमा उनीहरुका परिवारका सदस्यदेखि लिएर उनीहरुसँग सम्पर्कमा रहने सबै जना संक्रमित हुने जोखिम हुन्छ । श्रमिकले आफैं सुरक्षा सावधानी अपनाउन नसक्ने तथा नजान्ने हुँदा सम्बन्धित पक्षले ध्यान दिन आवश्यक रहेको मजदुरको भनाई छ ।

कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला उनी जस्तै सरसफाई गर्ने मजदुर फोहोर व्यवस्थापनमा असुरक्षित तरिकाले खटिने गरेका छन् । ‘कोरोनाको डरले अरू घरमै बस्छन्,’ अर्का मजदुर मंगलबहादुर बस्यालले भने, ‘डर भए पनि आफ्नो काम गर्नेप¥यो, हामीलाई सुरक्षा सामग्री दिए त डर कम हुन्थ्यो नि ।’

सरसफाईको काम गर्ने मजदुरको हात नचले सडक सफा हुँदैन नत्र फोहोरको थुप्रोले सडकलाई नै कुरुप बनाइदिन्छ । एम्बुलेन्समा आएका बिरामीले पानी आएर फालेको बोत्तलबाट पनि रोग सर्ने जोखिम छ । तर जोखिमै मोलेर भएपनि काम गर्न बाध्य छन् । काममा जाउ मरिएला भन्ने डर, नजाउ खानै नपाइएला भन्ने डर रहेको मजदुरको भनाई छ । सडक डिभिजन कार्यालय गजुरीका अनुसार सडक मजदुरलाई सुरक्षाका सामग्री प्रदान गर्ने तयारी भइरहेको बताए ।


२०७७ जेठ १० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: