Fri. Mar 29th, 2024

पुज्दिनँ म ढुङ्गालाई !


डा.हरिप्रसाद सिलवाल

चढाउन्नँ फूल भाकेर पत्थरलाई !!
रोज्जामा कि ढुङ्गा कि तिमीलाई पुज्नैपर्छ भने
सहर्ष मनले ढुङ्गालाई म पुज्दछु
बेइमानी जो छन् तिम्रा ती म बुझ्दछु !
झुन्ड्याएर उभिएको छु–न्यायको तुलो
जोख्नु छ तिमी अनि ढुङ्गोमा के ठूलो ?
ढुङ्गा चुपचाप पर्खाल बन्दछ
ढलाउन्न पर्खाल कसैको, सीमा हेरेर उभिरहन्छ
भत्काउन्न सीमास्तम्भ कसैको ।
तिमी ढुङ्गालाई देवता ढोग्छौ
तर देवताको सीमामा थुकसाटी खेल्छौ
तिम्रा मनमा देवता भत्काउने ढुङ्गाहरु छन् !
तिमी ममता चोर्न देवत्वहरु लुकाउँछौ !
ढुङ्गा आफै देवता त हैन, कहलाइन्छ कतै दैवीय अवतारमा
आफैमा तिमी ढुङ्गा त होइनौ, बाँच्दछौ तिमी ढुङ्गे उत्थरावतारमा ।
मलाई तिमीभन्दा विश्वासिला लाग्छन्– ढुङ्गाहरु
ढुङ्गाले कहिल्यै मेरो दागा धरेन
घरभित्र पस्ला कि भनेर ताला मार्नु परेन
ढुङ्गा आफै ठाउँ सर्दैन– मलाई तर्साउन
गर्दैन जिद्दी कुनै मनभरि तनाव वर्षाउन
तम्सिँदैन ढुङ्गो सिमानाको बुटो लर्काउन
इमानको बोटमा ऐँजेर पलाउँदैन ढुङ्गा
विकासको यात्रामा काँडा घोच्दैन ढुङ्गा
न त पिलाउँछ देश बिगार्ने विषाक्त प्याला
मुलुकमारासित घाँटी पनि मिलाउँदैन ढुङ्गा ।
हो, ढुङ्गाभन्दा निकै दुष्ट छौ तिमी
कलिला फूलसित पत्थरको नाता जोड्छौ
हृदयका गह्राहरुबाट ढुङ्गा टुसाउन खोज्छौ
तिमी फूल फूल जुधाएर पत्थरको माला उन्छौ !
कमिसन खाँदैन ढुङ्गाले ढुङ्गाको, जात हेप्दैन ढुङ्गाले ढुङ्गाको
म मन्दिरमा लड्डु चढाउन्नँ, मन्दिर कुँद्नेको श्रम पुज्दछु
म ढुङ्गामा आगो देख्नेलाई वैज्ञानिक मान्दछु
ढुङ्गाको भारी बोक्नेका पसिना पुज्दछु
पुज्दिनँ म पुज्न ढुङ्गालाई
रोज्जामा कि ढुङ्गा कि तिमीलाई पुज्नैपर्छ भने
सहर्ष मनले ढुङ्गालाई म पुज्दछु
बेइमानी जो छन् तिम्रा ती म बुझ्दछु !

[email protected]

२०७७ जेठ १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: