Sun. Jul 5th, 2020

धादिङवेशीमा कोरोना संक्रमणको जोखिम बढ्दो, लकडाउन फितलो

जिल्ला सदरमुकाम धादिङवेशीको देखिएको भीडभाड र चहलपहल

१४ जेठ, धादिङ / मनिष दुवाडी-

कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या देशब्यापी रुपमा दिनहुँ बढ्दो छ । नेपालमा देखिएका अधिकाँश संक्रमणमा तेस्रो मुलकबाट आएकाहरु र उनीहरुको संसर्गमा रहेकाहरु मात्रै छन् । सरकारले पनि संक्रमणलाइ समुदाय स्तरमा फैलिन नदिनको लागि देशभर लकडाउन गराएको छ ।

तर पछिल्लो पटक जेठ ५ गते दुइ साताको लागि थपिएको लकडाउन भने धादिङ वेशीमा उल्लङघन भइरहेको छ । एकातर्फ भारतबाट आउनेहरुको सङ्ख्या दिनका दिन बढिरहेको छ, अर्को तर्फ बजारमा भीडभाड पनि दिनहुँ बढ्दै जानथालेपछि स्थानीयहरु त्रसित बन्न थालेका छन् ।मानिसको आवतजावतले कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै सरकारले गरेको लकडाउनको प्रभाव धादिङवेशी आसपासका क्षेत्रहरुमा भने निकै फितलो देखिएको छ ।

लकडाउनलाइ प्रभावकारी रुपमा कार्यन्वयन गराउने निकायहरुले नै लकडाउन फितलो हुने निर्णय गरिदिएपछि धादिङवेशीमा लकडाउन भन्दा अघिकै जस्तो चहलपहल र भीडभाड देखिएको छ ।
जिल्ला प्रशासन कार्यलय, उद्योग बाणिज्य संघ र चेम्वर अफ कमर्श को संयुक्त वैठकले अति–आवश्यकिय बस्तुहरुको विक्रीवितरणको लागि विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकेर पसल खुल्ला निर्णय गरेको छ । त्यस्तै उद्योग बाणिज्य संघको समन्वयमा बसेको सवैखाले ब्यवसायीहरुवीचको बैठकले पनि विहान ६ बजेदेखि दुध फलफुल तरकारीको ब्यापार गर्न पाउने निर्णय गरिदिएको छ ।

उद्योग बाणिज्य संघ र प्रशासनको निर्णयले ठुला ब्यापारीहरु र खाद्यान्न ब्यापारीहरुलाइ लाइ मात्रै फाइदा पुगेको तर जोखिम उत्तिकै बढाएकाले आफुहरुले ब्यापार ब्यवसाय बन्द गर्नुको पनि कुनै अर्थ नरहेको भन्दै अतिआवश्यक भन्दा बाहेकका ब्यवसायहरु फेन्सी, निर्माण सामाग्री, भाडा पसल, इलेक्ट्रीक लगायतका पसलहरुपनि खोल्न थालेपछि मानिसहरुको भीड बढेको हो ।

स्थानीय प्रशासन र उद्योग बाणिज्य संघले अतिआवस्यक पसलहरु मात्रै चलाउन पाउने भनेपनि स्थानीय प्रशासनले ठुला ब्यापारीहरुलाइ मनलाग्दी गर्न छुट दिएको र साना ब्यापारीहरु सधै पसल बन्द गरेर बस्न बाध्य भएको भन्दै सवैखाले ब्यवसाय खुल्लम खुल्ला चलाइरहेका छन् । जसले गर्दा बजारक्षेत्रमा अस्वभाविक भीड बढेको हो ।

ठुला खाद्यान्न ब्यवसायीहरुले संकटग्रस्त जिल्लाबाट नियमित सामान ढुवानी गरिरहेकाले जोखिम बढेको र साना ब्यवसायीले मात्रै पसल बन्द गर्नुको कुनै अर्थ नरहेको भन्दै विरोध आउन थालेपछि धादिङ भित्रिने सवारी साधनलाइ निर्मलीकरण अनिवार्य गरिएको छ तर त्यसको कार्यन्वयन हुन भने सकेको छैन ।

उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्रीले भने, ‘हामी यहाँ ब्यवसाय बन्द गरेर बस्ने, यहाँको ब्यापार ब्यवसायको उपभोक्ताहरु भने विकल्प खोज्दै रसुवा नुवाकोट पुग्ने हुन थाल्यो । यसले गर्दा ब्यवासायीहरु मर्कामा पर्नुभएको छ, तर पनि हामीले अति आवश्यक भन्दा बाहेकका अरु ब्यवसाय चलाउन भनेका छैनौँ ।’

यतिबेला भारतबाट सरकारी र ब्यक्तिगत पहलमा जिल्ला आउनेहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । यहीबेलामा जथाभावी रुपमा खोलिएका बजारहरु र त्यसले निम्त्याएको भीडले कोरोनाको जोखिमलाइ उच्च बनाएको स्थानीयबासीहरुको गुनासो छ ।

स्थानीय सीता पाण्डेले भनिन्, ‘लकडाउनको सुरुवाती अवस्थामा त पुरै सुनसान थियो, हिजो आज त पहिलेकै जस्तै भीडभाड हुन थालेको छ, यसरी छिनमै खोल्ने, छिनमै प्रहरी लगाएर बन्द गराउने प्रहरी गएपछि फेरी खोलिहाल्ने गर्नको सट्टा कि सवै खोल्न दिए भैगो नी । अहिले झन जोखिम बढेको बेला गरिएको जवरजस्तीले २ महिना बन्द गरेको के अर्थ रह्यो र ?’

लकडाउनलाइ कार्यन्वयन गराउने निकाय जिल्ला प्रशासन भने अतिआवश्यक बस्तुहरुको अभाव हुन नदिन, बजार ब्यवस्थापन र आपुर्तिको ब्यवस्था मिलाउने जिम्मा उद्योग बाणिज्य संघलाइ दिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘हामीले निर्णय गरिदिएर ब्यवस्थापनको जिम्मा उद्योग बाणिज्य संघलाइ दिएका छौँ, हामीले अनुगमन पनि गरिरहेका छौँ ।’

बजारमा बढेको भीडभाडलाइ नियन्त्रण गर्नुको सट्टा उद्योग बाणिज्य संघ र प्रशासन एक अर्कालाइ दोष थुपारिरहदा स्थानीय सरकार भने मुकदर्शक जस्तै बनेर बसेको छ । बजार क्षेत्रमा बढेको भीडभाड र त्यसले निम्त्याउन सक्ने जोखिमलाइ कम गर्न सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकाले पनि कुनै चासो देखाएको छैन ।

२०७७ जेठ १५ गते प्रकाशित

Loading...