Sun. Jul 5th, 2020

गाउँपालिकाको गोदामको चामल ब्यापारीलाइ बेच्न लागिएको भन्दै स्थानीयको विरोध

गोदाम गरिएको चामल ट्रकमा लोड गरिदै

१५ जेठ, धादिङ / मनिष दुवाडी-

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकाले लकडाउनको बेला खरिद गरेर राखेको चामल ब्यापारीलाइ बेच्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । गत मंगलवार पनि चामल लिन आएको ट्रकमा स्थानीयले लोड गर्न दिएका थिएनन् भने विहीवार दिउसो पनि चामल लिन ट्रक आएपछि स्थानीयले घेरा हालेर विरोध गरेका हुन् ।

गाउँपालिकाले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ५ मा रहेको चन्द्रोदय माविको भवनमा चामल गोदाम गरेर राखेको थियो । ट्रकमा लोड भइसकेको ५०/६० बोरा चामल स्थानीय आँफैले अनलोड गरेर गोदाम बनाइएको विद्यालयमा ताला लगाइदिएका छन् ।

तर गाउँपालिकाले भने ब्यापार गरेको नभइ लकडाउन लम्विदै जाँदा पालिकालाइ आवश्यक पर्न सक्छ भनेर ब्यापारीसंगको साझेदारीमा स्टक राखिएको चामल ब्यापारीलाइ फिर्ता गर्न लागेको जनाएको छ ।

गाउँपालिकाले लकडाउन सुरु भएको दोस्रो हप्तादेखि नै चामल खरिद गरि राहत स्वरुप वितरण गर्दै आएको थियो । लकडाउन लम्विदै जाँदा भविष्यमा आइपर्ने सम्भावित संकटको लागि चामल खरिद गर्ने र गाउँपालिकालाइ आवश्यक नभएको खण्डमा ब्यापारीले नै बेच्ने सम्झौता ब्यवसायीसंग भएको र अहिले तत्कालको लागि चामल आवश्यक नभएकाले ब्यापारीलाइ नै फिर्ता गर्न लागिएको गाउँपालिकाका सुचना अधिकारी परशुराम घिमिरेले जानकारी दिए ।

उनले भने, ‘लकडाउन लम्विदै जाला, चामलको संकट हुन सक्ला, हाम्रो पालिकामा अधिकाँश मजदुर र सिमान्तकृत जातीको बस्छन्, हाहाकार नै भयो भने काम लाग्न सक्छ भनेर ब्यवसायीलाइ केही पेश्कि रकम दिएर खरिद गरिएको हो । पालिकालाइ आवश्यक नहुँदा उसैले विक्री वितरण गर्ने सम्झौता थियो । त्यही अनुरुप चामल गाउँपालिकाले गोदाम गरेको हो, अहिले चामलको अभाव पनि छैन, गोदाममा राखिराख्दा सड्ने सम्भावना भएकाले ब्यापारीलाइ बेच्नु भनेका हौँ ।’

गाउँपालिकाले बेनिघाटकै स्थानीय ब्यापारिक फर्म जयश्री जय गणेश मार्फत सम्भावित संकटको लागि भनेर चामल गोदाम गरेको घिमिरेले बताए । लकडाउनको वीचमा गाउँपालिकाले २ हजार ८ र ९२ घरधुरीको लागि खाद्यान्न राहत वितरण गरेको थियो ।

लकडाउनले खुकुलो बन्दै गएकाले अव चामलको आवश्यक नपर्ने र सड्न सक्ने भएकाले ब्यवासायीले विक्रीको लागि अनुमति दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले भने, ‘गाउँपालिकालाइ आवश्यक परेको बेलामा ब्यापारीले सुपथ मुल्यमा बेच्ने, आवश्यक नभए गाउँपालिकाले दिएको पैसा फिर्ता गर्ने र चामल लैजाने सम्झौता अनुरुप हामीले २० लाख पेश्की दिएका थियौँ । त्यही अनुसार चामल खरिद गरेर वितरण पनि ग¥यौँ । वाँकी रहेको चामल सड्न सक्ने भएकाले फिर्ता गरेका हौँ । यसमा नाफा घाटाको कुनै कारोवार गाउँपालिकाले गरेको छैन ।’

स्थानीयहरुले भने गाउँपालिकाले खरिद गरेको चामल ब्यापारीले बेच्न लागेको भन्दै आपत्ति जनाएका हुन् । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘पहिले गाउँपालिकाको पैसामा सस्तोमा चामल किनेर राखियो, अहिले जताततै चामलको अभाव भएपछि ब्यापारीसंग मिलेर महङगोमा बेच्न खोजियो, गाउँपालिकाले कुनै एउटा ब्यवसायीसंग मिलेर ब्यापार गर्न पाइन्छ ? लकडाउन लम्विदै छ, आफुलाइ आवश्यक पर्दा के गर्ने कहाँबाट ल्याउने ?’

गाउँपालिकाको गोदाममा हाल ३० केजीको २७७७ बोरा चामल रहेको छ । लकडाउनको वीचमा करिव ६० लाख बराबरको खाद्यान्न खरिद गरेर वितरण गरिसकेको सुचना अधिकारी घिमिरेले जानकारी दिए ।

२०७७ जेठ १६ गते प्रकाशित

Loading...