काठमाडौ – उपत्यकासँगै भूकम्प प्रभावित जिल्लामा जस्तापाता लगायतका निर्माण सामग्रीमा व्यापारीले व्यापक ठगी गर्ने गरेको पाइएको छ ।
आपूर्ति व्यवस्थापन तथा बजार अनुगमनको जिम्मा पाएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले भूकम्प प्रभावित जिल्लामा गरेको अनुगमनमा यस्तो पाइएको हो । विभागले केन्द्रीय स्तरबाटै खटाएको विशेष अनुगमन टोलीले हार्डवेयर पसलेले व्यापक ठगेको फेला पारेको छ । ‘अधिकांश व्यवसायीले डिलरले तोकेकोभन्दा बढी मूल्यमा जस्ता र किलाकाँटी बिक्री गरेको पाइयो,’ नुवाकोट जिल्लामा खटिएका अनुगमन टोली प्रमुख रत्नेश शशिले भने, ‘अर्कोतर्फ कारोबारको हिसाबकिताब पनि राख्ने गरेको पाइएन ।’
व्यवसायीले ३५ प्रतिशतभन्दा बढी मुनाफा लिएर बेच्ने गरेको शशिले जानकारी दिए । शशिका अनुसार अनुगमन टोलीले ३ व्यवसायीलाई प्रहरी थुनामा राखेको बताए । शशि नेतृत्वको टोलीले नुवाकोटमा १४ हार्डवेयरमा अनुगमन गरिएको थियो । ‘६५ रुपैयाँमा खरिद गरेको किल्ला १ सय २० रुपैयाँमा, एक बन्डल जस्तापातामा ७ सय रुपैयाँभन्दा बढी मुनाफा लिएको भेटियो,’ उनले भने, ‘बढी ठगी गर्ने व्यवसायीलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही गर्न प्रहरीमा बुझाएका छौं ।’ ऐनअनुसार सरकारले तोकेको कुनै पनि माल वस्तुमा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन । २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्था वा अभावको मौका छोपी मूल्य वृद्धि गरेर सामान बिक्री गरेको पाइए ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने छ ।
यस्तै, प्रत्येक थोक वा खुद्रा बिक्रेताले सरकारले तोकिदिएको वस्तुको मूल्यसूची सबैले देखिने गरी बिक्री स्थलमा राख्नुपर्छ । त्यसो नगर्नेलाई एक वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने छ ।
त्यस्तै, धादिङमा तथ्यांक अधिकृत पोषराज खनालको नेतृत्वमा अनुगमन भएको थियो । धादिङमा पनि व्यवसायीले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर बिक्री वितरण गरेको खनालले जानकारी दिए । ‘अनुगमन गर्दा जस्तापाता र त्रिपालमा तोकेको भन्दा बढी मूल्यमा बिक्री गरेको भेटियो,’ उनले भने, ‘त्यस्ता ४ व्यापारीलाई कालोबजारी अनुसार कारबाही गर्न जिल्ला प्रशासनमा सिफारिस गरेका छां ।’ विभागका अनुसार धादिङमा हुलासको एउटा मात्रै अधिकारिक बिक्रेता छ । अन्य जस्तपाताको हकमा खुद्रा पसल मात्रै छ । खनालका अनुसार धादिङमा १६ हार्डवेयर र गोदाममा अनुगमन गरिएको थियो ।
यस्तै, नौबिसेमा रहेको न्यु सुन्दर कुमार हार्डवेयरले शून्य दशमलव ३५ एमएम १२ फुटको प्रतिइकाइ ९ सय ६९ दशमलव ३ रुपैयाँमा खरिद गरेर १ हजार १७ दशमलव ६९ मा बिक्री गरेको जनाएको छ । यस्तै, विभागका उपमहानिर्देशक कमलप्रसाद भट्टराईको नेतृत्वमा बनेपा, पाँचखाल, काभ्रे र मेलम्ची र सिन्धुपाल्चोकका विभिन्न ठाउँमा अनुगमन भएको थियो । अनुगमनका क्रममा व्यवसायीले मूल्यसूची नराखेको, बिल बिजक जारी नगरेको, नापतौल नवीकरण नगरेकोजस्ता कैफियत भेटिएको भट्टराईले जानकारी दिए । कान्तिपुरबाट