Thu. Mar 28th, 2024

टोल–टोलमा पढाई


सरिता श्रेष्ठ / १९ असार, धादिङ–


कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण चैत महिनादेखि शिक्षणसंस्था बन्द छ । बन्दका कारण विद्यालयको पठनपाठन ठप्प छ भने नियमित पठनपाठन, परीक्षा लगायतमा प्रभाव पारेको छ । शिक्षण कार्यलाई नियमित बनाउन शहरी क्षेत्रका केही विद्यालयहरुले अनलाइन कक्षा पनि संचालन गरिरहेको छ । सबै ठाउँमा इन्टरनेटको पहुँच नहुनु र विद्याथीहरु संग नेट चलाउने उपकरणहरु नुहदाँ ग्रामीण भेगका विद्यार्थीहरुमा भने प्रभावकारी देखिदैन ।

कोभिड १९ का कारण पठनपाठनलाई नियमितता दिन धादिङमा टोलटोलमा पढाउन सुरु गरिएको छ । प्रत्येक टोलटोलमा रहेका विद्यार्थीलाई जम्मा बनाई शिक्षक आफै टोलमा पुगेर कक्षा संचालन गरिएको सिद्धलेक गाउँपालिका वडा न. ४ मा रहेको जलेश्वरी माविका प्रधानाध्यपक भोजराज अर्यालले बताए । ‘एक महिना अघि देखि दैनिक तीन घण्टा टोल टोलमा कक्षा संचालन गरिरहेका छौँ’ प्रधानाध्यपक अर्यालले भने, ‘बैकल्पिक माध्यमबाट पठनपाठन संचालन गर्ने निर्देशन अनुसार अभिभावकहरुको सहयोगमा कक्षा संचालन गरिरहेका छौँ, केही ठाउँमा विषयक शिक्षकहरुको अभाव देखिएको छ ।’

पहिले चौतारी, प्रतिक्षालय, पाटी, पौवामा पठनपाठन हुन्थ्यो । विभिन्न सुविधा र प्रविधिलाई पछ्याउदै शिक्षामा फड्को मार्दै गएपनि कोभिड १९ को महामारीले गाउँका चौतारी, प्रतिक्षालय, सामुदायिक भवनहरुमा फेरी पढाई सुचारु हुन थालेको छ । यसरी टोलटोलमा नै विद्यार्थीहरु जम्मा गराई पठन पाठन गराउँदा माथिल्लो कक्षाका विद्यार्थीहरु भने समस्या देखिने गरेको प्रधानाध्यक अर्यालले बताए । सबै शिक्षक सबै विषयमा पोख्त नहुने भएका कारण सम्बन्धित विषय शिक्षक नै खटाई पढाई संचालन गर्ने तयारी थालिएको उनले बताए ।

विद्यालयले आफ्ना विद्यार्थी रहेका सात वटा टोलहरुमा पढाई संचालन गरिरहेको छ । लामो समयपछि पढ्न पाउदाँ विद्यार्थीहरु उत्साहित भएको शिक्षक खुलना मगरले बताए । ‘विद्यार्थीहरुलाई मध्यनजर गर्दै रेडियो, टेलिभिजनमा पनि पठनपाठन भइरहेको छ, त्योसँगै केही ठाउँहरुमा टोलटोलमा शिक्षण कार्यक्रम पनि भइरहेको छ, मगरले भने, ‘यो अवस्थामा दुरी कायम गर्न भने अलि गाह्रो पर्ने र सबैलाई एकै ठाउँमा राख्दा कक्षामा जस्तै प्रभावकारी शिक्षण भने हुन नसकिने रहेछ ।’

यता थाक्रे गाउँपालिकामा रहेको जनजागृती माविले ३० वटा अस्थायी केन्द्र बनाई पढाई, नेतृत्व विकास, कला, लेखनसीपका साथै हात धुने तरिका, सरसफाई, आत्मबल बढाउने विषयहरु पनि सिकाउँदै आइरहेको शिक्षक रामचन्द्र रुपाखेतीले बताए । ‘सानो सानो समूह बनाएर कोरोना भाइरस संक्रमणको जोखिमबाट सजगता अपनाउँदै पढाउन थालेका हौँ,’ उनले भने, ‘यसले शैक्षिक कार्यमा विद्यार्थीलाई आकर्षित बनाएको छ भने विद्यार्थीहरुमा भएको मानसिक समस्याहरु पनि केही मात्रामा हल गरेको छ ।’

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ । महामारीको यो अवस्थामा विद्यालयमा नै पठनपाठन सम्भव नभएपनि टोलटोल, समूदायमा विद्यार्थीहरुलाई जम्मा बनाएर पढाईप्रति आकर्षित गरिरहेका छन् । जिल्लाका केही विद्यालय आफैले भौतिक दूरी कायम गरी मास्क, स्यानीटाइजरको प्रयोग र साबुनपानीले हात धुन लगाएर टोलटोलमा रहेका चौतारी, प्रतीक्षालय र खुला चौरमा विद्यार्थीलाई राखेर शैक्षिक पठनपाठन गरिरहेका छन् ।

विद्यार्थीले विद्यालय बन्दपछि घरमा खेलेर र मोबाइल हेरेर मात्र समय बिताउन थालेपछि पढाइमा ध्यानाकर्षण गराउन शिक्षकलाई टोलटोलमा पठाएर सिकाइ सहजीकरण सुरु गरिएको शिक्षकहरुको भनाई छ । टोलटोलमा राखेर शिक्षण गर्दा कोरोनाको जोखिमका साथमा व्यवस्थापन चुनौती रहेपनि स्वास्थ्यलाई ध्यानमा राखेर शिक्षण गरिएको शिक्षक रुपाखेतीले बताए ।

२०७७ असार १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: