Fri. Mar 29th, 2024

रसुवागढी नाकाबाट आयात सुरु हुने


१९ असार, रसुवा –


चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि आयात सुरु हुने भएको छ । एक साताअघि नै नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले हिजोदेखि सामग्री लोड गर्न थालेको हो ।

सामग्री लोड हुन थालेको र सम्पूर्ण जाँचपासको प्रक्रिया पूरा गरेर चिनियाँ गाडी सोमबार रसुवागढी नाका आइपुग्ने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो ।

सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोनाको सङ्क्रमण पनि फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको थियो । पहिलो चरणमा नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराएको छ ।

नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिनेछन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने उनले बताए । मितेरी पुललाई प्यासेन्जर निषेधित क्षेत्र बनाइनेछ । यसअघि सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो ।

तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रने सक्ने त्रासमा स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आयो । नाका सञ्चालन नआउँदा साढे तीन महिनादेखि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ ।

२०७७ असार १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: