Fri. Mar 29th, 2024

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्‍यो’


२८ असार, म्याग्दी –

धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।” पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए ।

जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए । “खेतबारी, गोठ र घर सबै पहिरोले बगायो”, उनले भने, “न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।” पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

पहिरो खस्न थालेपछि घरभित्र सुतिरहेकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए । घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर गएका थिए ।

“मामा (प्रकाश) ले राति १ बजे आएर हामीलाई उठाउनुभयो । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ”, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भनिन्, “पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पु¥यो । हामीलाई पनि भाग्दाभाग्दै ढुङ्गाले चोट लाग्यो ।”

धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ । बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन् । चार अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए । रासस


२०७७ असार २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: