Tue. Oct 8th, 2024

एघार जिल्लाका साढे १६ सय होटल क्षतिग्रस्त

 काठमाडौं –  विनाशकारी महाभूकम्पले होटल क्षेत्रमा १८ अर्ब बढीको क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ । राजधानीसहित ११ जिल्लाका साढे १६ सय होटल, लज र होम स्टेमा क्षति पुगेको छ ।

hotels-1

क्षति हुनेमा अधिकांश साना होटल तथा गेष्ट हाउसहरु रहेको पर्यटन विभागका निर्देशक केशव विमलीले बताए ।पर्यटकलाई लक्षित गरी सञ्चालन गरेका अधिकांश होटलहरु सुरक्षित रहेको उनको भनाइ छ ।पर्यटन विभागले होटल संघ नेपाल, नेपाल माउन्टेनियरिङ संघ, टान, होमस्टे एशोसियसन लगायतका निजी क्षेत्रका संघ(संस्थासँग सहकार्य गरी भूकम्प प्रभावित क्षेत्रका होटल तथा लजहरुको तथ्यांक संकलन गरेको हो ।सबैभन्दा बढी काठमाडौंमा रहेका होटल तथा गेष्ट हाउसमा क्षति पुगेको छ । विभागका अनुसार काठमाडौंमा ३ सय होटल तथा गेष्ट हाउसहरु क्षतिग्रस्त भएका छन् । जहाँ तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । भत्किनेमा गोंगबुस्थित नयाँ बसपार्कमा सञ्चालित गेष्ट हाउस धेरै छन् ।

‘काठमाडौं उपत्यकामा सञ्चालित ९० प्रतिशत पर्यटकस्तरीय होटलहरु सुरक्षित रहेको भेटिएको छ’ निर्देशक केशवले विमलीले भने- ‘यो क्षेत्रमा अधिकांश साना होटल तथा गेष्ट हाउसहरुमा क्षति पुगेको छ ।’ललितपुरमा ५० होटलहरु भत्किएको प्रारम्भिक अध्ययनमा देखिएको छ । जहाँ एक अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । भक्तपुरमा एक सय ११ होटल तथा लज भत्किँदा एक अर्ब ८८ करोड रुपैयाँको क्षति पुगेको छ ।भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा रहेका केही पर्यटकीय होटलहरु भूकम्पले भत्किएका छन् । भक्तपुरको उपत्यका क्षेत्रमा भने साना होटल तथा गेष्ट हाउसहरु बढी क्षतिग्रस्त भएको विभागको भनाइ छ ।काठमाडौंमा सञ्चालित ८ वटा पाँचतारे होटलमध्ये एभरेष्ट होटलमा रातो स्टिकर लगाइएको छ । अन्नपूर्ण होटलमा रहेको अन्ना क्यासिनोले पनि रातो स्टिकर पाएपछि भत्काउने काम भइरहेको छ । हायत होटलको तारा क्यासिनोको छत चर्किएपछि पँहेलो स्टिकर लगाइएको छ । यो भवन मर्मतपछि सञ्चालनमा ल्याउन मिल्छ ।

सातवटा पाँचतारे होटल पूर्ण रुपमा सुरक्षित रहेको विभागले जनाएको छ । ठमेलमा रहेको बिजनेश होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ठमेलमै रहेको काठमाडौं गेष्ट हाउसको हेरिटेज ब्लकमात्र बस्न अयोग्य ठहरिएको छ । पाँचवटा ब्लक भएको गेष्ट हाउसमा तीनवटामा हरियो स्टिकर टाँसिएको छ भने एउटामा पँहेलो स्टिकर लगाइएको छ ।काठमाडौंको मुलपानीमा रहेको गोकर्ण फरेष्ट रिसोर्टको हन्टर ब्लक पनि भत्किएपछि रातो स्टिकर लगाइएको छ । अरु सबै ब्लक सुरक्षित पाइएको निर्देशक केशव विमलीलले बताए ।काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा रहेका पर्यटक बस्ने होटलहरु सुरक्षित रहेका छन् । पर्यटकीय क्षेत्र ठमेलका सबैजसो होटलहरु बस्न योग्य देखिएका छन् । बस्न नहुने भनिएका होटलमा पनि रेक्ट्रोफिट गरेपछि बस्न योग्य हुने अनुमान गरिएको छ ।काभ्रे जिल्लामा पनि धुलिखेलमा रहेको एउटा होटलको ब्लकले रेड स्टिकर पाएको छ । अन्य पर्यटकीय होटलहरुमा पनि सामान्य क्षति भएको बताइन्छ । यस क्षेत्रमा पनि साना होटल तथा लजमा बढी क्षति पुगेको नेपाल होटल संघको दाबी छ ।काभ्रेमा ५० वटा होटलमा क्षति पुगेको संघले जनाएको छ । जहाँ एक अर्ब बढीको क्षति भएको छ । काभ्रेको धुलिखेल क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । काभ्रे भूकम्पको बढी प्रभाव पर्ने जिल्ला हो ।

रसुवा, सोलुखुम्बु, सिन्धुपाल्चोक, गोरखा, दोलखामा भने ट्रेकिङ लजहरु धेरै भत्किएको बताइएको छ । ट्रेकिङका लागि प्रख्यात मानिएका मनास्लु, लाङटाङ, खुम्बु, रोल्वालिङ, दोलखा(सिन्धुपाल्चोक हेलम्बु क्षेत्रमा रहेका लजहरु भत्किएका हुन् ।विभागका अनुसार रसुवामा ३ सय ६७ होटल तथा लजमा क्षति पुगेको छ भने सोलुखुम्बुमा २१०, सिन्धुपाल्चोकमा सय, गोरखामा एक सय १४, दोलखामा एक सय ३० र तनहुँमा सय होटलमा क्षति पुगेको छ । त्यस्तै, धादिङमा एक २७ होटलमा क्षतिग्रस्त छन् ।प्रारम्भिक अध्ययन अनुसार रसुवामा १ अर्ब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने सोलुखुम्बुमा २ अर्ब १० करोड, धादिङमा १ अर्ब ६२ करोड, सिन्धुपाल्चोकमा २ अर्ब, गोरखामा ५३ करोड ९३ लाख, दोलखामा १ अर्ब ४४ करोड र तनहुँमा २० करोडको क्षति भएको छ ।

भूकम्प प्रभावित क्षेत्र लमजुङबाट भने अहिलेसम्म कुनै तथ्यांक नआएको विभागका निर्देशक केशव विमलीलले बताए । भूकम्प प्रभावित १४ जिल्लाका ३ सय ४४ होम स्टेमा क्षति पुगेको छ ।विभागले होम स्टेमा एक अर्ब ७२ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । तर, होम स्टे एशोसियसनले भने ७ अर्ब रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको उनले बताए ।प्रमुख पर्यटकीय गन्तव्यहरु पोखरा, चितवन र लुम्बिनी(भैरहवा क्षेत्रमा रहेका होटल तथा लजमा भने कुै क्षति नपुगेको होटल संघ नेपालले जनाएको छ । संघका अनुसार पोखरामा ४५०, चितवनमा २०० र लुम्बिनीमा १५० होटलहरु दर्ता भएर सञ्चालन भइरहेका छन् । अनलाइनखबरबाट

About The Author

अन्य समाचारहरु: