Fri. Oct 30th, 2020

के नेकपामा अहिलेका भिलेन नेपाल हुन् ?


केशव दुवाडी –


२०४६ साल सम्म माधव नेपाल आम मानिसमा गुमनाम जस्तै थिए । २०४७ सालको संविधान सुझाव आयोगको सदस्य भए पछि उनको नाम अलि अलि सुन्न थालिएको हो ।
२०४८ मा भएको आम निर्वाचमा पहिलो संसदीय निर्वाचन परिचालन कमिटी का संयोजक बनेका नेता नेपाल आफू भने निर्वाचनमा भाग नलिई परिचालनमा खटिएका थिए । २०४८ मा तात्कालिन नेकपा एमालेलाई ६८सीट प्राप्त गराई सशक्त प्रतिपक्ष बनाउन महत्वपूर्ण योगदान गरेका उनी स्वर्गीय नेता मदन भण्डारीका प्रमुख सहयोगी र विश्वास पात्र थिए ।

२०४८ देखि २०५५ सालम सम्म राष्ट्रियसभा विपक्षी दलका नेताको रुपमा जिम्मेवारी प्राप्त गरेका नेता नेपाल जननेता स्वर्गीय मदन भण्डारीको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भए पछि पार्टीको कार्यबाहक महासचिबको रुपमा महत्वपूर्ण भूमिका खेलाका थिए ।

२०५१ सालमा भएको मध्यावधी निर्वाचनमा आफू रौतहटको दुबै क्षेत्रबाट विजयी भएर एमालेलाई सबै भन्दा ठूलो दल बनाउन महत्वपूर्ण भूमिका खेलेका माधव नेपाल नोपलमा पहिलो पटक कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख सहयोगीको रुपमा उपप्रधान तथा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यो नौ महिने अल्पमतको सरकारले गरेका लोकप्रीय काम हरुका कारण एमाले जन स्तरमा स्थापित भएर २०५४मा भएको स्थानीय चुनाबमा ६५ प्रतिशत भन्दा बढी स्थानमा एमालेले जितेको थियो । अहिलेको दुई तिहाइ नजिक नेकपाको सरकारले अढाइ बर्षमामा पनि विगतमा आफैले राखेको किर्तिमान छुन सकेको छैन ।

२०५२ साल माघ २९ गते भएको महाकाली सन्धीले एमाले भित्र ठूलो विवाद ल्यायो, केन्द्रीय कमिटीका आधा भन्दा बढी सदस्यहरुले विरोध गर्दा गर्दै पनि काँग्रेस राप्रपा गठवन्धनको सरकारले प्रस्ताव गरेको उक्त सन्धीलाई माधव नेपाल र अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा एमाले संसदीय दलमा ह्वीप लगाएर पारित गराइयो । जसले पार्टी भित्र ठूलो अन्तरविरोध सिर्जना गरायो त्यसलाई व्यवस्थापन गर्न सएिन र छैटौँ महाधिवेशन पछि पार्टी नै फुट्न पुग्यो । जसको परिणाम स्वरुप २०५६को आम चुनावमा एमाले पुनः प्रतिपक्षमा खुम्चिन पुग्यो ।

यता सोही सन्धी लगाएत तात्कालीन देउबा सरकारले गरेका कामहरु प्रति विमति राख्दै २०५२ साल फागुन १ गते देखि नेकपा माओवादीले भूमिगत र उनीहरुकै शब्दमा जनयुद्ध शुरु गरे । एमालेबाट फुटेर माले तिर गएका अधिकांश कार्यकर्ता माओबादीमा लागे । झण्डै २८ हजार एमालेका संगठित सदस्य माले हुँदै माओबादीमा गएका थिए ।पछि वामदेव गौतमले माले एमाले एकिकृत गरे पनि सीपी मैनालीहरुको एक समूह एकीकृत हुन मानेन भने माओवादी तिर गएका माओबादीमै बसीहाले ।

माओबादी युद्धमा झण्डै २५सय एमाले कार्यकर्ता मारिए, यो संकटके बेलामा वर्तमान प्रधानमन्त्री ओलीले माओबादीको विरोध गरिरहे भने,माधव नेपाल माओबादीलाई शान्ति प्रकृयामा ल्याउन खटिई रहे । यसले गर्दा ओली कार्यकर्ता माझ आँटिला नेता ठहरिए भने माधव नेपाल ढुलमुले स्पष्ट अडान राख्न नसक्ने ठहरिए । वास्तवमा पार्टी भित्र आक्रामक र नम्र दुबै खालको नेता चाहिन्छ नै । तर माधव नेपालको सन्तुलित स्वभाव नभएको भए एमाले अहिलेको अवस्थामा आइपुग्दैनथ्यो । किन भने त्योबेलामा माओवादी सँग एमालेले भिडन्त गर्न सक्ने अवस्था थिएन । सारा प्रशासन र राज्यशक्तिनै सहर केन्द्रीत भएको बेला माओबादी सँग भिडेरै जान पर्छ भन्नेलाइनलाई माधव नेपालले समर्थन गरेको भए यो भन्दा बढी क्षति हुन्थ्यो ।

उनको यो कुरालाई बामदेव गौतम र झलनाथ खनालले बुझेका थिए । माओबादीलाई शान्ति प्रकृयामा ल्याउन यी तीन नेताको ठूलो हात छ । २०५८ सालमा भएको राज दरबार हत्या काण्ड र पछि राज्याभिषेक समारोहमा ज्ञानेन्द्र राजा हुँदा तात्कालीन प्रमुख प्रतिपक्षदलको नेताको हैसियतमा नेपालको प्रचलित चलन अनुसार माधव नेपालले राजालाई दाम चढाएर स्वस्ति गरे त्यसले उनी विरुद्ध ठूलो मसलाको काम गर्यो । हनु त त्यसबेलाका प्रधानमन्त्री, प्रधान न्यायाधीश सबै संबैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरुले दाम चढाएर स्वस्ति गरेका थिए र त्यो औपचारिकता मात्र थियो । तर पार्टी भित्र र बाहिर दुबै तर्फबाट त्यो दाम चढाइउको घटनालाई अपराधै गरेको जसरी प्रचार प्रसार गरियो ।

जब राजाले शासन हातमा लिएर पुनः फिर्ता गरे प्रतिगमन आधि सचियो भनेर प्रधानमन्त्रि हुन निवेदन दिएर उनले अर्को भूल गरे जसले कम्युनिस्ट भन्ने, प्रधानमन्त्री बन्न राजालाई बिन्तीपत्र हाल्ने, दाम चढाएर ढोग्ने भनेर उनको ठूलो बदनामी गरियो ।

ज्यानको बाजी राखेर युद्धरत पक्षलाई भेट्दै १२ बुँदे समझदारी गरी माओबादीलाई शान्तिप्रकृयामा ल्याउन ठूलो सहजीकरण गर्ने नेना नेपाललाई सोही विन्तीपत्र र दाम चढाएको फोटो भाइरल बनाएर माओबादीका जिल्लास्तरका नेताले काठमाण्डौबाट २०६४ सालको संविधान सभाको चुवाबमा शर्मनाक रुपमा पराजित गरिदिए । पार्टीले व्यहोर्नु परेको पराजयलाई प्रमुखको हैसियतले नैतिकताको आधारमा महासचिब पदबाट राजिनामा दिएको नेता नेपाललाई एमालेलाई तेश्रो दलमा झार्ने, असक्षम, पदलोलुप, ढुलमुले भन्ने आरोप अहिले सम्म लागिरहेको छ ।

जबकि तात्कालिन प्रधानमन्त्री स्व।गिरिजाप्रसाद कोइराला र माधव नेपालले यो अबस्थामा संविधान सभाको चुनाव घोषणा गर्दा कांग्रेस एमालेले ठूलो हार व्यहोर्नु पर्ने समिक्षा गरेका थिए । तैपनि देशमा शान्ति ल्याउनका लागि आफ्नो राजिनीति दाउमा राखेर भए पनि गिरिजा र माधवले रिस्क मोलेका थिए । चुनाव हारिन्छ भन्ने थाहा थियो माधव नेपाल प्रत्यक्षमा नउठेर पहिल्यै समानु पातिकमा गिरिजाले जस्तै नाम राख्न पनि सक्थे तर उनले त्यसो गरेनन् ।
माओबादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए पछि रुक्मांगत कटुवाललाई शेनापतिबाट हटाउँन खोज्दा देशमा झण्डै शैनिक विद्रोह हुन खोजेको थियो । माधव नेपालले तात्कालिन शेनाका उच्चस्तरका अधिकृतहरुसँग समन्वय गरी यस्तो हुन नदिन आफूले सहजीकरण गर्ने कुरा अघिसारेर संकट टार्न सफल भएका थिए ।

यता प्रचण्डले पनि माधव नेपाल जस्तो अनुभवी मान्छे संविधान सभामा चाहिने महसुष गरे भने गिरिजाले पनि शान्तिप्रकृयामा महत्वपूर्ण भूमिका भएको व्यक्ति संविधान सभामा आवश्यक पर्ने ठानेर उनले मनोनित गरे र पछि प्रधानमन्त्री समेत बन्न सफल भए । प्रधानमन्त्री हुँदा अनमिनलाई फिर्ता पठाउन महत्वपूर्ण रोल खेलेका नेता नेपाललाई आफ् सहयोगी नेताले बालुवाटार जग्गा काण्डमा नराम्रोसँग झुक्याएर अहिले बदनामी गराइदिए । माधव नेपालले जीवनमा गरेको यो तेश्रो भूल थियो ।

एमाले नवौ माधव नेपाल महासचिव हुँदा खेरी देखिनै अर्का प्रभावशाली नेता केपी ओली आफ्नो छुट्टै गुट बनाएर सकृय रहँदै आएका थिए । प्रखर र विपक्षीलाई दह्रो प्रहार गर्न सक्ने वाकटुता भएका ओली शक्तिशाली बन्दै थिए । नबौ महाधिवेशनमा माधव नेपालले आफूले कार्यबाहक महासचिब बनाएको झलनाथ खनाललाई नसघाएर ओलीलाई सघाए । तर त्यो महाधिवेशनले झलनाथ खनाललाई अध्यक्ष चुन्यो ।

दशौँ महाधिवेशन सम्म आइपुग्दा ओलीले धेरै पापड बेलिसकेका थिए, मदन भण्डारी फाउण्डेसन र स्पोर्ट्स एकेडेमीका नाममा देशव्यापी सामानान्तर कमिटी जस्तै बनाएर युबा कार्यकर्तालाई परिचालन गरिरहेका थिए । तर माधव नेपालले खासै गुटवन्दी गरेनन् सायद उनले अध्यक्षमा उठ्ने सोचाइ राखेका थिएनन् होला ।

यता ओली समूह भित्र अटाउन नसकेका दोश्रोपुस्ताका प्रभावशाली नेताहरु भीमरावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्रपाण्डे, राजेन्द्रपाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, आदिले आफूहरुले अभिभावक नपाएकोले अध्यक्षमा उठेर साथ दिन आग्रह गरे । उनलाई पनि पदको लोभ लाग्यो र चुनावमा होमिए । तर त्यतिबेला सम्म ओली समूहले धेरै रणनीतिक तयारी गरिसकेको थियो । माधवका धेरै नजीकका सहयोगी इश्वर पोख्रेल र विष्णुपौडेल ओलीतिर लागि सकेका थिए भने अर्का प्रभावशाली नेता वामदेवको सानो गुटलेले पनि संसदीयदलको चुनाव देखि नै ओलीलाई सहयोग गरिसकेको थियो । उता झलनाथ खनाल र प्रदिप नेपालहरु जस्था नेताहरु ततष्ठ जस्तै थिए । परिणाम स्वरुप उनीे ४४ मतले पराजित हुन पुगे भने उनलाई अभिभावक मानेर उठेका माथि उल्लेख गरिएका मध्ये सुरेन्द्र र राजेन्द्र पाण्डे बाहेक सबैले जिते ।

स्थानीय चुनाबमा कांग्रेसँग मिलेको माओबादीले यु टर्न लिएर २०६४ को आम निर्वाचनमा खै त्यो ओली भन्ने कोहो म चिन्दिन भन्ने, प्रचण्ड र माओवादी भनेको फुकेको बेलुन हो कटुवालको एक छेस्कोले फुट्यो भनेर टिप्पणी गर्ने ओली अचानक मिलेर चुनाव लड्छन् पार्टी एकीकरण गर्छन् भन्ने कुरा धेरै ले पत्याएका थिएनन् । तर समयको वाध्यता दुबैको महत्वकांक्षा र शक्तिको भोकले दुबैलाई एकिकृत गरायो। त्यो स्टेपले नेपालको कम्युनिस्टको चुनाबी विजको माहोललाई ठूलो सफलतामा पुर्यायो ।

दुई अध्यक्षात्मक प्रणाली ४५ र ५५ को शक्ति बाँडफाँड गर्दा पूर्व माओबादीमा प्रचण्डको एकल निर्णय चल्यो भने पूर्व एमालेमा ओली एक्लैको चल्न सकेन, माधव र वामदेवको पनि शक्ति सन्तुलन गर्नु पर्ने वाध्यता भयो । एकल नेतृत्वामा चलेको प्रचण्डलाई जति सजिलो हुन्छ आफूलाई त्यति सजिलो नहुने भन्ने सोचेर नै ओलीले दुई अध्यक्षको सहमतिको आधारमा एकताको महाधिबेशन सम्म चल्ने भन्ने कुरा विधानमा राखियो ।

शुरुका दिनमा माधवलाई दुई अध्यक्ष पछिको तेश्रो बरियातामा राखेका ओलीले केही समय पछि त्यो बरियाना खोसेर झलनाथलाई दिए । त्यस पछि शुरुभयो ओली माधवको टसल । अर्का अध्यक्ष प्रचण्डसँग मिलुन्जेल सम्म त ओलीलाई खासै समस्या परेर माधव र उनका समूहका नेताहरुलाई पेलेरै अघि बढे । माधवले त्यसको विरोध गर्न विधानमा भएको एक व्यक्ति एक प्रमुख पदको व्यवस्थालाई अगाडि सारेर वैठकहरुमा नोट अफ डिसेन्ट सम्म लेखे तर त्यो कसैले सुनेन । र ओली माधवको भेटघाट त के बोलचाल पनि बन्द भो ।

जब प्रचण्डले आफूहरु बीच आधा आधा सरकार प्रमुख बन्ने सहमती भएको संझौता बाहिर ल्याए तब ओली झल्याँस्स भएर माधवसँग नजिकिन खोजे तर उनी नजिकिएनन् । वामदेव गौतमको पनि उचित व्यवस्थापन गर्न नसके पछि वामदेव पनि ओली सँग टाढिए । त्यस पछि अहिले विवादको गाँठो कसिएर फुकाउन गारो परि रहेको छ । सरकार र पार्टी सञ्चालनमा सबैलाई समेट्न नसक्नु प्रमुख समस्या हो । अहिले माथि देखि तल सम्म पार्टी एकीकरण गठन गर्दा पूर्बमाओबादी तर्फ धेरै समस्या छैन, उनीहरु एकमत छन् । तर पूर्व एमालेका केही नेता कार्यकर्ताहहरु पेलेरै जानु पर्छ भन्छन् ।

योग्यता ईतिहाँस र योगदान नहेरी चाकरीवालाहरुलाई जिम्मा दिइएको छ । दुबै पक्षले । आफूप्रति विमति राख्ने मौजुदा कमिटीका सदस्यहरुलाई मौका यही हो भनेर हटाइएको छ । समस्या यही हो । राष्ट्रवाद त देखावटी मात्रै हो । महाकाली सन्धीमा गल्ति भो भनेर जनता समक्ष माफी नमागी यिनीहरुको राष्ट्रवाद पत्याउन सकिन्न। अबको वास्तवमा माधव नेपाल अहिले दुई अध्यक्षको चेपुवामा परेका छन् । उनी पार्टी भित्र एउटाधारको शक्तिशाली नेता पनि हुन् उनलाई सबैले रिस गर्नुको कारण पनि त्यही हो । प्रचण्डलाई पनि अबको महाधिवेशनमा माधव नेपाल नै पनि अध्यक्षमा उठ्छन् कि भन्ने भए छ त्यही भएर अहिले प्रधानमन्त्री त्यागेरै भए पनि अबको महाधिवेशनबाट अध्यक्षमा ओलीको सहयोग पाउँछु कि भन्ने आसमा छ । त्यसैले ओलीलाई पेलेरै जान सक्ने स्थीतिमा छैनन् । माधवलाई आफ्ना कार्यकर्तालाई उचित स्थान दिन नसक्दा प्रेसर छ । समस्या यहीँ छ ।

तुलनात्मक रुपमा माधव सबैलाई समेटेर जानु पर्छ, विधि पद्धतिमा पार्टी चल्नु पर्छ भन्ने मान्यता बोक्ने नेता पनि हुन् । उनको कार्यकालमा फरकमत राख्नेलाई पेलेरै जान पर्छ भन्ने मान्यता राखेनन् । समयको ख्याल गर्ने, सके सम्म अरुलाई नचिढियाउने स्वाभावका माधव असल नेता भन्दा पनि कुशल व्यवस्थापक हुन् । ओलीले उनलाई नचिढियाइकन, उनका पक्षका नेताहरुलाई पनि केही मुख्यमन्त्री र मन्त्रीमण्डलमा ल्याएर उनको सल्लाह सुझावमा सरकार सञ्चालन गरेका भए सायद सरकारले राम्रै काम गर्न सक्थ्यो । ओलीलाई माधवसँग टाढा बनाउने उनका सल्लाहकार पनि हुन् ।

अन्त्यमा दुई अध्यक्षको बीचमा माधव नेपाललाई चेपेर पूर्व एमालेको किचलो रोकिने हैन झन बढ्न सक्छ । दुबै पक्ष नसचिए पार्टी सकिन्छ ।अहिले केपी ओलीलाई प्रधान्मत्रीबाट हटाएर प्रचण्ड बा माधव प्रधान मन्त्री बन्दैमा काया पलट भै हाल्दैन । सन्देश पनि राम्रो जाँदैन छिटो भन्दा छिटो केन्द्रीय कमिटीको बैठक डाक्ने र छलपल गरेर ओलीले अध्यक्ष छाड्ने, प्रथम अध्यक्ष प्रचण्ड बन्ने र दोश्रो अध्यक्ष माधव वन्ने ओलीले सरकार सञ्चालन गर्ने प्रचण्ड माधव मिलेर पार्टी एकताको प्रकृया सक्ने र चैत्र भित्र महाधिवेशन गरेर अघि बढ्नु नै सबैको लागि हित हुन्छ ।


२०७७ साउन ६ गते प्रकाशित

Loading...