Fri. Oct 30th, 2020

पीएसजी च्याम्पियन नेमारको निर्णायक गोल

११ साउन , रोम –


रोम फ्रेन्च कप फुटबल प्रतियोगिताको उपाधि पेरिस सेन्ट जर्मन पीएसजीले जितेको छ। पीएसजीले शनिबार बिहान खेलिएको फाइनल खेलमा सेन्ट एटिनलाई १–० गोलले हराउँदै उपाधि चुमेको हो। यसअघि फ्रेन्च लिग फुटबलको उपाधि पनि पीएसजीकै पोल्टामा परेको थियो।

पीएसजीको जितमा चर्चित ब्राजिलियन खेलाडी नेमारले निर्णायक गोल गरे। स्पेनिस ला लिगा क्लब बार्सिलोना छाडेर पीएसजी पुगेको नेमारले प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा टोलीका लागि विजयी गोल गरेका थिए। केलियन एमबाप्पेको प्रहारलाई सेन्ट एटिनका गोलरक्षकले पन्च गर्दै पुनः मैदानमै फर्काइदिएपछि सोही अवसरको फाइदा उठाउँदै नेमारले गोल गरेका थिए।

खेल अवधिभर सेन्ट एटिनले बलियो पीएसजीलाई दबाबमा राखेको थियो। पहिलो हाफमै सेन्ट एटिन १० खेलाडीमा समेटिएको थियो। तर, पीएसजीले त्यसको फाइदा उठाउन सकेन। निर्धारित समयको ३१औं मिनेटमा सेन्ट एटिन १० खेलाडीमा समेटियो। सेन्ट एटिनका लोइक पेरिन सीधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

पीएसजी सबैभन्दा बढी फ्रेन्च कपको उपाधि जित्ने क्लब हो। हालसम्म पीएसजीले १३ पटक फ्रेन्च कपको उपाधि चुमिसकेको छ। अघिल्लो सिजनको उपाधि भने रेन्सले जितेको थियो। त्यति बेला फाइनलमा रेन्सले पीएसजीलाई नै हराएको थियो। त्यसअघि लगातार चार पटक पीएसजीले नै उपाधि हात पारेको थियो।

कोरोना भाइरसको महामारीका कारण फ्रेन्च कपको फाइनल खेल पनि लगभग दर्शकविहीन रंगशालामै खेलाइएको थियो। यद्यपि ८० हजार दर्शक क्षमताको रंगशालामा पाँच हजारलाई भने प्रवेश दिइएको थियो। खेल सुरु हुनुअघि फ्रान्सका राष्ट्रपति एमानुयल म्याकरोनले मैदानमा दुवै टोलीका खेलाडीलाई भेटेर शुभकामना दिएका थिए।

२०७७ साउन ११ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: