Sun. Nov 1st, 2020

नारायणगढ,मुग्लिङ सडक प्रयोग गर्दा शुल्क


१६ साउन,काठमाडौ –


मुग्लिङ सडक प्रयोग गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस् है । अब केही समयपछि दस्तुर नतिरी यो सडक आवतजावत गर्न पाउनु हुने छैन । ३६ किलोमिटर दूरी रहेको यो सडक खण्डमा सरकारले सवारीसाधन गुडाएबापत शुल्क उठाउने निर्णय गरेको छ । त्यसका लागि हलुका र भारी सवारीसाधनको फरकफरक शुल्क निर्धारण गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा शुल्क लिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । ‘केही सडक आयोजनाको निर्माण सकिएपछि तिनीहरूको नियमित मर्मतसम्भार गर्न स्रोत चाहिन्छ,’ उनले बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउँदै भने, ‘स्रोत अभाव नहोस् भन्न मर्मतसम्भार दस्तुर लिने चलन छ, त्यसैअनुसार यस्तो निर्णय गरिएको हो ।’ उनका अनुसार हलुका सवारीका लागि २५ र भारी सवारीका लागि ५५ रुपैयाँ प्रतिटिप सडक उपभोग दस्तुर संकलन गर्न दिने निर्णय भएको हो । स्कुटर र मोटरसाइकलका लागि भने दस्तुर लाग्नेछैन । सडक स्तरोन्नतिपछि सञ्चालनमा आएको एक वर्ष भएको छ । अहिले यो खण्डमा पहिरोको जोखिम उच्च छ ।

सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत भने सरकारले सडक उपभोग दस्तुर ०५२ सालदेखि उठाउँदै आएको बताउँछन् । त्यो बेला ९ ठाउँमा दस्तुर उठाउने निर्णय भएकामा तीन ठाउँबाट मात्र लिन थालिएको उनको भनाइ छ । ‘सडक मर्मतसम्भारलाई सरकारले रकम उपलब्ध गराउन नसक्ने भएपछि राष्ट्रिय राजमार्गमा सवारी चाप बढी हुने र सडक भत्किने हुन्छ, यसलाई पारदर्शी बनाउन उपभोक्ताले तिरेको पैसा त्यही ठाउँमा खर्च गर्ने गरी उठाउन थालिएको हो,’ उनले भने, ‘जुन ठाउँमा सडक विस्तार हुँदै जान्छ, विस्तार भइसकेपछि त्यो सडकमा शुल्क लिएर मर्मत गर्ने गरिएको छ ।’ उनका अनुसार नारायणगढ–मुग्लिङ सडकबाहेक अन्य १९ वटा सडकमा पनि दस्तुर लिने निर्णय भएको छ । निर्णय गरिएका सडक दुई लेनका भएकाले अहिले चार लेनको बनाइँदै छ ।
२०७७ साउन १६ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: