Wed. Aug 12th, 2020

विषालु च्याउ खाएर जाजरकोटमा मृत्यु हुनेको संख्या ५ पुग्यो

१६ साउन , वीरेन्द्रनगर –

गत शुक्रबार जंगली च्याउ खाएर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिकाका थप १ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा गत सोमबारदेखि उपचाररत २२ वर्षीय ललित चलाउनेको बिहीबार राति मृत्यु भएको हो ।

योसँगै च्याउ खाएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । विषालु च्याउ खाँदा गत शनिबार एकै घरका ८ जना बिरामी परेका थिए । बिरामी भएकामध्ये २ वर्षीया अन्जनाको साउन ११ गते गाउँमै मृत्यु भयो । अन्य ७ जना बिरामीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल उपचारका लागि ल्याइएको थियो ।

उपचार गराइरहेकामध्ये घरमुली टेकबहादुर चलाउनेकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातीनी निरुता सिंहको मंगलबार राति मृत्यु भएको थियो ।

अहिले टेकबहादुरसहित उनकी ३३ वर्षीया बुहारी कल्पना र १५ वर्षीया भतिजी पशुपति उपचाररत छन् । टेकबहादुरलाई अहिले सघन उपचार कक्ष आईसीयु मा राखिएको अस्पतालका मेडिकल विभाग प्रमुख डा केएन पौडलले बताए ।

२०७७ साउन १६ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: