Wed. Sep 23rd, 2020

कृष्णभीर पहिरोको वीस वर्ष : अझै पनि झस्काइरहन्छ, यसरी भएको थियो नियन्त्रण

त्रिशुली नदी पारिबाट खिचिएको तत्कालिन अवस्थाको कृष्णभीरको पहिरो ! तस्विर इन्जिनियर नरेशमान शाक्य

२७ साउन, धादिङ / मनिष दुवाडी-

आज साउन २७ गते, धेरैले विर्सिसकेको हुन सक्छ, अनि पछिल्लो पुस्तालाइ थाहा नहुन पनि सक्छ, २०५७ सालमा आजकै दिन कृष्णभीरमा खसेको पहिरोले राजधानी छिर्ने नाका ११ दिनसम्म ठप्प भएको थियो भनेर ।

हाल कृष्णभीरमा पहिरोको नाम निशाना छैन । यद्यपी कृष्णभीरकै छेउछाउमा नयाँ ठाउँबाट केही साना पहिरो निस्कन भने थालेको छ । कुनै बेला पहिरोकै कारण हजारौ यात्रुहरुले दुःख पाएको तर ११ दिनसम्म पुर्णरुपमा राजमार्ग नै ठप्प हुने गरि पहिरो गएको ठाउँमा हाल त्यहाँ पहिरो पनि गएको थियो र ? भन्ने गरि पहिरोको समाधान भइसकेको छ । पहिरोका कारण उक्त समयमा के कस्ता समस्या भएका थिए र पहिरो कसरी समाधान भयो भन्ने विषयमा हामीले पुराना कुरा खोतल्ने प्रयास गरेका छौँ ।

२०५७ साल साउन २७ गते पृथ्वीराजमार्गको छेवैमा रहेको चरौदीबजारका स्थानीय शिक्षक नवराज थपलिया सधै झै आफ्नै काममा ब्यस्त थिए । उनले सुने, ‘कृष्णभीरमा पहिरोले बाटो बगायो ।’ एक त बर्खामास, त्यसैमा फेरी दिनहुँ पानी परिरहेकै थियो । अघिल्लो वर्षदेखि नै साना ठुला पहिरो बेला बेलामा झरिरहेको कारणले गर्दा उनले त्यो बेला उक्त पहिरोबारे खासै चासो दिएनन् तर पहिराले ११ दिन सम्म सवारी आवागमन ठप्प बनाए पछि भने उनलाइ लाग्यो कृष्णभीरको पहिरो ठुलै रहेछ ।

त्यसपछि सुरु भयो पृथ्वी राजमार्गमा यात्रारत यात्रीहरुको कष्टपुर्ण यात्रा । छिन छिनमा सडक अवरुद्ध हुने, खुलाउन समय लाग्ने । यात्रुहरु वारीको वारी नै पारीको पारी नै हुने । नवराजले सम्झिए, ‘एक÷दुइ दिन सम्म साउनको २७ गते भन्दा अघि र पछि पनि बाटो अवरुद्ध भइरहेकै हुन्थ्यो, सडक विभाग र यात्रु भन्दा बाहेक अरुलाइ यो पहिरो र यसको समस्याको बारेमा थाहा थिएन तर साउनको २७ गते झरेको पहिरोले तत्कालिन अवस्थामा राजधानी भित्रिने मुख्य नाका एघार दिनसम्म बन्द भइदिँएपछि भने कृष्णभीरको पहिरो राज्यकै टाउको दुखाइ बन्न पुग्यो ।’

त्यो बेलाको कृष्णभीरको पहिरो । तस्विर : नरेशमान शाक्य, इन्जिनियर

त्रिशुली नदी किनारदेखी नै वाल उठाएर ग्याविन जाली भर्दै सडकको सतहमा ल्याइएको थियो भने सडक भन्दा माथि पटि सोही काम गर्दै बायोइन्जिनिरिङ प्रविधि प्रयोग गरेर पहिरो पुर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।

‘पहिले त्यति विधि दुःख र पिडा दिएको ठाउँ अहिले पहिले पहिरो झरेका थियो र भन्ने जस्तो देखिएको छ ।’ थपलियाले भने, ‘अहिले पनि कृष्णभीर आसपास पुग्दा त्यो बेलामा झरेको पहिरोले निम्त्याएको विपत्ती र त्यसले दिएको पिडाले झस्काइरहन्छ ।’

त्यो बेलामा स्थानीयले भोगेको समस्या र दुःख पिडालाइ सम्झिदै शिक्षक थपलियाले भने, ‘राजमार्गमा अहिले जस्तो धेरै होटल र स्थानीयको बाक्लो बस्ती पनि थिएन, पैसा नहुनेको त यसै विजोग हुने नै भइहाल्यो, पैसा भएका यात्रुहरु पनि हप्तौसम्म भोकभोकै बस्नुपर्ने अवस्था बनेको थियो ।’

पहिरोमा फसेर खान नपाएका यात्रुहरुको लागि भने स्थानीयले मुनलाइट युवा क्लवले २० रुपैयामा दालभात तरकारी नै पकाएर मेस संचालन गरेको हाल वडा अध्यक्ष समेत रहेका हीरालाल थपलियाले बताए । उनले भने, ‘केही सिमित ब्यापारीहरुले दशगुणा बढीसम्म पैसा लिएर खाद्यसामाग्री बेचेको भनेर बजार नै बदनाम समेत भएको थियो, अर्को तर्फ केही युवा मिलेर भोकभोकै रहेका यात्रुहरुलाइ सस्तोमा र पैसा नहुनेलाइ निशुुल्क भोजन पनि चलाएका थिए ।

गत साउन ९ गते पृथ्वीराजमार्ग अन्तरगत कृष्णभीर पहिरोको धादिङतर्फको छेउबाट पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग

यो क्षेत्रको पहिरोले गर्दा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले ३ वर्ष नमिठो दुःख पाए । पहिले पहिरो झरेको ठाँउमा अहिले पहिरोको समस्या पुर्ण रुपमा समाधान भएको छ । तर पहिलेको मुख्य पहिरोको दायाँवाँया बर्षातको समयमा स–साना पहिरो झर्न थालेकाले फेरी पहिलेकै अवस्था आउने हो कि भन्ने चिन्ता लागेको नवराजले बताए ।

यसरी भयो समाधान

सिङ्गै पहिरो नै सडकमा थुप्रिएकाले जति पन्छायो उति नै पहिरो खसिरहने समस्या थियो । करिव १ वर्षसम्म पहिरो पन्छाउदै सवारी चलाउदै गरियो । तत्कालिन अवस्थामा सडक विभागले पहिरोको दिर्घकालिन समाधान गर्न विदेशी प्रस्तावहरु माग गरेपनि एकदमै महङ्गा र नेपाल सरकारले गर्ने नसक्ने प्रस्तावहरु आए ।

पछि सडक विभागकै इन्जिनियर नरेशमान शाक्यले पहिरोको दिर्घकालिन समाधान गर्ने जिम्मेवारी पाए । शाक्य हाल सडक विभाग अन्तरगत पुल महाशाखामा कार्यरत छन् । नरेशमानले त्यसबेलाको काम सम्झिदै भने, ‘जिम्मेवारी पाएपछि लगातार त्यही बसेर पहिरोका भुबनोट अध्ययन गरेँ, माटो र पहिरोको तहरु पत्ता लगाएपछि गुरुयोजना बनाएर सडक विभागमा बुझाएँ ।’ सडक विभागले उनको योजनामा साथ दिदै आवश्यक बजेटको ब्यवस्था गरेपछि उनले आफ्नै सीप र प्रविधिलाई प्रयोग गरेर काम सुरु भयो ।

पहिरोका विभिन्न ठाउँमा पर्खाल लगाउँदै बग्ने माटोलाई नियन्त्रणमा लिन चाँडै हुर्कने बोट विरुवाहरु अम्रिसो, बाँस, बकाइनो, खयर जस्ता रुखविरुवाहरु रोप्न थालियो, सगै संरचना निर्माणका कामहरु पनि सुरु गरियो । नरेशमानले भने, ‘फिल्डमा खटिएका हामीजस्ता कामदार मात्रै नभइ माथिल्लो निकायले रहनेहरुको ब्यवस्थापकिय काम पनि सहज र उत्कृष्ट भएकाले पहिरो नियन्त्रण गर्न सहज भएको हो, एक्लो प्रयासले भएको होइन ।’

‘प्राविधिक कुराहरु त मुखले भनेर भन्दापनि देखाएर नै बुझाउन सकिन्छ,’ नरेशमानले भने, ‘यत्ति हो कि पहिरोमा विश्वमै कहिँ कतै नगरिएका प्रयोगहरु पनि हामीले कृष्णभीरको पहिरोमा प्रयोग गरेका थियौँ र त्यसमा सफलता मिल्यो पनि ।’

समग्रमा भन्नुपर्दा बायो इन्जिनियरिङ (पहिरो गएको ठाउँमा घाँस, बोटविरुवा रोप्ने कार्य) र स्ट्रक्चरल इन्जिनियरिङ (जाली, सिमेन्टेड पर्खाल, नाला निर्माण) दुवै काम एकैसाथ गरिदै गइएकाले पहिरो नियन्त्रणमा आएको नरेशमानले बताए । कृष्णभीरको पहिरो पुर्ण रुपमा नियन्त्रण गर्न विदेशकी कम्पनीहरुले ३ अर्वसम्मका प्रस्तावहरु गरेका भएपनि तत्कालिन अवस्थामा करिव साढे ३ करोड मात्रै खर्च भएको नरेशमानले बताए ।

२०७७ साल साउन २७ गते प्रकाशित

Loading...