Wed. Sep 23rd, 2020

धादिङका किसानलाई कोरोना भन्दा मलको चिन्ता


१३ भदौँ, धादिङ–

बढ्दो कोरोना संक्रमणको डरले जिल्लामा निशेधाज्ञा जारी गरिएको छ । तर मल पाउने आशाले शनिबार एकाबिहानै हातमा नाम्लो र बोरा बोकेर सदरमुकामस्थित नीलकण्ठ सहकारी कार्यालय भवन परिसरमा खचाखच थिए । निकै ढिलो गरी सदरमुकामस्थित नीलकण्ठ सहकारीमा आएको मल लिन किसानहरुको भीड थियो । मल नपाउने चिन्तामा एकाबिहानै सहकारीमा आइपुगेका किसानलाई सामाजिक दूरी, मास्क लगाउनुभन्दा पनि मलकै चिन्ताले सताएको देखिन्छ । उनीहरुले मल सकिन्छ कि भन्ने चिन्ताले सहकारीको फलामे गेटसमेत फोडेर भित्रै पसेका थिए ।

सहकारीमा आएको ४ सय २० बोरा मल स्थानीय प्रशासनलाई जानकारी गराएर वितरण गरिएको नीलकण्ठ सहकारीका व्यवस्थापक हरि रिजालले बताए । ‘मल वितरण गर्ने भन्ने खबर पाएर बिहानै किसानहरुको भीड लागेको थियो, हामीले प्रति किसान १५ किलोका दरले वितरण गरेका हौँ,’ व्यवस्थापक रिजालले भने, ‘सिमित मात्रामा मल आएका कारण तीनसय भन्दा बढी किसानहरु खाली हात फर्कनुप¥यो ।’ कोरोना कहरको समयमा भीडभाड धेरै नहोस् भन्नका लागि प्रहरी समेत परिचालन गरिएको र सकेसम्म दुरी कामय गरेर वितरण गरिएको उनले बताए ।

वितरण प्रणाली व्यवस्थित नगरिदिदाँ उपस्थित सबैले मल पाउन नसकेको किसानहरुले गुनासो गरे । रासायनिक मल आयो रे भन्ने सुनेका किसानहरुले मल पाउनेमा ढुक्क हुँदै सदरमुकाम झरेका केही किसानहरु निराश हुँदै घर फर्किएका थिए । निशेधाज्ञाका कारण नजिकको नीलकण्ठ, सिद्धलेक, ज्वालामुखी क्षेत्रका किसानहरु आएका थिए । कृषि सामाग्री कम्पनी शाखा कार्यालय धादिङले भने जिल्लामा मल आउन अझै केही दिन लाग्ने बताएका छन् । कृषि सामाग्री कम्पनी शाखा कार्यालय गजुरी धादिङले सहकारी मार्फत रासायनिक मल वितरण गर्दै आएको छ ।

खेतीपातीको मुख्य सिजनमा मलको अभाव खेप्नु किसानहरूका लागि नियति जस्तै बनेको छ । कृषि प्रधान देशमा बीउ छर्ने र फल दिने मुख्य सिजनमा नै मल नपाएपछि किसान नराम्ररी पिरोलिने गर्छन् । प्रत्येक वर्ष किसानले मलको अभाव झेलिरहेको विडम्बनापूर्ण अवस्था छ । प्रायः सबै सरकारले कृषि र किसानलाई मुख्य प्राथमिकतामा राखेको भने पनि यी दुवै क्षेत्र जहिले पनि राज्यद्वारा अपहेलित र उपेक्षित भएका छन् । तीन चौथाई जनतालाई पुग्ने खाद्यन्न उत्पादनको जिम्मा बोकेका किसानहरु मलकै अभाव खेपिरहनुपर्ने बाध्यता बनेको किसानको भनाई छ ।

२०७७ भदौ १३ गते प्रकाशित

Loading...