Fri. Apr 26th, 2024

महामारीलाइ जिस्काउदै धादिङका राजनितिक दल, भीडभाड जम्मा गरेर पार्टी प्रवेश गराउने होडबाजी

लकडाउनको समयमा राखिएको नेकपा र काङग्रेसको छुट्टाछुट्टै पार्टी प्रवेश कार्यक्रम

१३ भाद्र, धादिङ/मनिष दुवाडी-

कोरोनाको संक्रमण संगै मृत्युदर बढ्दो छ । सरकारले पनि संक्रमण समुदाय स्तरमा फैलिन नदिनको लागि ३ महिना देशलाइ नै लकडाउनमा राख्यो । त्यसपछि लकडाउन केही खुकुलो बनाइए पनि संक्रमण झनै फैलिन थालेपछि अहिले स्थानीय स्तरमा नै लकडाउन गरिन थालेको छ ।

संक्रमणलाइ थप फैलिन नदिनको लागि २५ जना भन्दा बढी भेला हुन नपाउने, कुनैपनि धार्मिक कार्यक्रम, भेला, जमघट, बैठक जस्ता काम गर्न कडाइ गरिरहेका बेला धादिङका जिम्मेवार राजनितिक दलहरुले भने महामारीलाइ बेवास्ता गर्दै पार्टी प्रवेश गराउने, बृहत भेला तथा अधिवेशन गराउने जस्ता कार्यक्रमहरु गरिरहेका छन् ।

पार्टी प्रवेशको होडबाजी

गत जेठ ३१ गते मध्यरातमा नेपाली काङग्रेसका सभापति रमेश धमला सहित जिल्ला तहका नेताहरुको उपस्थितिमा नीलकण्ठ नगरपालिका वडा नं १४ स्थित धुवाँकोटमा बृहत पार्टी प्रवेशको कार्यक्रम आयोजना गरियो । मध्यरातको समयमा गरिएको उक्त कार्यक्रममा ३ सय भन्दा बढी सहभागी भएका थिए ।

त्यसको २० दिनपछि सोही ठाउँमा नेकपाका बागमती प्रदेशका नेता राम बहादुर भण्डारी र प्रदेश साँसद डाक्टर राम कुमार अधिकारी समेत सोही गाउँमा गएर २ सय भन्दा बढी मानिसहरुको भेला गरि पहिले पार्टी छाडेकाहरुलाइ फिर्ता बोलाए । धुवाकोट प्रदेश साँसद डाक्टर राम कुमार अधिकारीको गृहगाउँ पनि हो ।

नेकपा प्रवेश कार्यक्रम

स्मरणीय के छ भने धुवाकोट धादिङ जिल्लामा कोरोना संक्रमित देखिएका क्षेत्रहरुमा अति संवेदनशील क्षेत्र हो । सोही ठाउँका तुल बहादुर तामाङ कोरोना संक्रमणकै कारण ज्यान समेत गइसकेको छ ।

त्यस्तै असार १२ गते नीलकण्ठ नगरपालिकाको वडा नं ७ मा नेकपा नीलकण्ठ नगरका अध्यक्ष दीपक विश्वकर्माको गाउँबाट नेपाली काँङग्रेसले ३५ भन्दा बढी नेता कार्यकर्ताहरुलाइ कार्यक्रम नै आयोजना गरि पार्टी प्रवेश गरायो । त्यसैको काउन्टर स्वरुप नीलकण्ठ नगरपालिकाकै वडा नं ७ डाँडागाउँमा पुगेर साउन २३ गते प्रदेश साँसद राम कुमार अधिकारीले पनि २२ जना काँङग्रेस कार्यकर्तालाइ नेकपा प्रवेश गराए ।

असार २० गते नीलकण्ठ २ मा काँङग्रेस सभापति धमलाले ८० जना कार्यकर्ता काँङग्रेस भित्राए भने सोही दिन खनियावास गाउँपालिकामा नेकपा बागमती प्रदेशका नेता प्रदीप फ्युवाले ५० भन्दा बढी भेला गरेर अन्य पार्टीबाट नेकपा प्रवेश गराए ।

लकडाउन भएयता धादिङमा पार्टी प्रवेश गराउने होडबाजी यतिसम्म छ कि लकडाउनका कारण काठमाण्डौमै थुनिएका नेता कार्यकर्ताहरुलाइ केन्द्रीय कार्यलयमै लगेर पनि पार्टी प्रवेश गराइएको छ ।

खाल्टेमाा काङग्रेस प्रवेश कार्यक्रम

भीडभाड गरेर पार्टी प्रवेश गराउने काममा नेपाली काङग्रेसका नेता कार्यकर्ताहरु अघि देखिएका छन् । नेपाली काङग्रेसको जिल्ला अधिवेशन नजिकिएकाले आफनो प्रभाव देखाउन स्थानीय नेताहरु अन्य पार्टीबाट आफ्नो पार्टीमा कार्यकर्ता भित्राउदै जोखिम बढाइरहेको काङग्रेस कै नेताहरुले बताएका छन् ।

देश नै महामारीसंग जुधिरहेको बेला सरकारको निति नियम पालना गराउनुको साटो देशका जिम्मेवार राजनितिक पार्टीहरुले निति नियम उलङ्घन गर्दै भीडभाड सहित कार्यक्रम गराउन थालेपछि सर्वत्र आलोचना हुन थालेको छ । नीलकण्ठ ३ का स्थानीय दशरथ भण्डारीले भने, ‘दलका नेताहरुको नजरमा भोट नै सवैभन्दा ठुलो कुरा हो, विश्व नै महामारीसंग संघर्ष गरिरहेको बेला जिम्मेवार भनिएकाहरु नै दलगत स्वार्थबाट माथि उठ्न नसक्नु निकै निन्दनिय छ । लाशमा समेत राजनिति गर्नेहरुको पछि लाग्दा समस्या त आइहाल्छ नी ।’

अझ रोचक कुरा त सामान्य नागरिकले गरेको पारिवारिक कार्यक्रमलाइ समेत बाधा अवरोध गरिरहेको स्थानीय प्रशासन जिम्मेवार भनिएका राजनितिक दलहरुले ठुलो सङ्ख्यामा मानिसहरु उपस्थित गराएर कार्यक्रम तथा भेला गरिरहदा पनि मुकदर्शक बनेर बसिरहेको छ ।

महामारीलाइ बेवास्ता गर्दै राजनितिक दलहरुले ठुला भेला र कार्यक्रम आयोजना गर्न थालेपछि सर्वसाधारण भन चिन्तित देखिएका छन् । अर्का स्थानीय केशव लंसालले भने, ‘राजनितिक कार्यक्रम राख्दा चाहि कोरोना नसर्ने रहेछ कि के होला ? यस्तो महामारीको बेलामा कार्यकर्तालाइ सचेत बनाउनुको साटो अगुवा नै बाटो विराउन थालेपछि भयानक अवस्था आयो भने को जिम्मेवार हुने ?

२०७७ भाद्र १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: