Sat. Oct 31st, 2020

विश्व महामारी कोभिड–१९ नियन्त्रणमा निजामती कर्मचारीको भूमिका

विक्रम विक–


हाल विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोग २०१९ अर्थात “कोभिड–१९” नामाकरण गरेको छ । कोरोना भाइरसकै एक प्रजाति नोभल कोरोना भाइरसका कारण शुरु भएको यो रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो । सुरुमा ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९ एन–कोभ’ नाम दिइएको यो रोगलाई मार्च ११,२०२०मा विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नामाकरण गर्नुको साथै विश्वव्यापी महामारी घोषणा गर्यो । उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ हो ।कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो ।

यो कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट अर्को व्यक्तिमा सर्दछ । संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाछ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरुमा भएको भाइरसबाट संक्रमित सतह वा वस्तुहरु छुँदा पनि यो भाइरस सर्न सक्दछ । १००.४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउनु,खोकी लाग्नु तथा सास फेर्न कठिनाई हुनु यसका लक्षणहरु हुन् ।जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुको साथैश्वासप्रश्वासमा अत्यधिक कठिनाई समेत हुने गर्दछ ।

यो भाइरसले पहिला घाँटी, श्वासनली र फोक्सोका कोषलाई आक्रमण गर्दछ । बिस्तारै त्यी अङ्गलाई कोरोना भाइरसहरुले आफ्नो नियन्त्रणमा लिएर संख्या वृद्धि गर्न थाल्छन् र स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छन् । यि लक्षणहरु ईन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरु जस्ता देखिन्छन । त्यसकारण कसैलाई कोभिड–१९ को संक्रमण भएको हो वा होईन भनेर निक्र्योल गर्नको लागि परिक्षण गर्नु पर्ने हुन्छ ।

निजामती कर्मचारी भनेको स्थायी सरकारको रुपमा लिइने कर्मचारीतन्त्रलाई सञ्चालन गर्ने राष्ट्रसेवक तथा जनसेवक हुन् । अर्को शब्दमा भन्नुपर्दा लोकतान्त्रिक पद्धति अनुरुप आवधिक निर्वाचनको माध्यमबाट जनताको मतबाट बिजय हुँदै सरकारको नेतृत्व सञ्चालन गर्ने जनप्रतिनिधीले तर्जुमा गरेका नीति,कानून ,योजना तथा कार्यक्रमहरुको कार्यान्वयन गर्ने सारथी निजामती कर्मचारी हुन् । देशको विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने हुँदा निजामती कर्मचारीको जनस्तरमा पनि प्रत्यक्ष र नजिकको सम्बन्ध हुने गर्दछ ।निजामती कर्मचारीहरु आफैमा शिक्षित,धेरै विषयमा ज्ञान भएका,सचेत,सजग र राष्ट्रका जिम्मेवार नागरिक पनि हुन् । अहिलेको विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ को नियन्त्रणमा निजामती कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् ।

महामारीको रुपमा देखापरेको कोभिड–१९ को नियन्त्रणमा भूमिका निर्वाह गर्ने सम्बन्धमा देश र समाजले पनि निजामती कर्मचारीबाट अपेक्षा राखेको हुन्छ,जुन स्वभाविक पनि हो ।कोभिड–१९ को नियन्त्रणमा निजामती कर्मचारीहरुलेधेरै पक्षबाट भूमिका निभाउन सक्दछन् ।सर्वप्रथम निजामती कर्मचारीहरुले आफु, कार्यालयका सहकर्मी र सेवाग्राहीहरुलाई सुरक्षित राख्ने बारेमा सोच्नुपर्दछ । कोभिड–१९ नियन्त्रणको लागि पहिलो त निजामती कर्मचारीहरु आफै सुरक्षित हुनु आवश्यक छ । त्यसको लागि सधैं भाइरस प्रतिरोधात्मक गुणस्तरीय मास्क लगाउने,साथमा ह्यान्ड स्यानिटाइजर लिएर हिड्ने,आफ्नै कार्यालयका सहकर्र्मीहरु सँग पनि २ मिटरको दूरी कायम गरी सेवा प्रवाह गर्ने, कसै सँग हात नमिलाउने, कुनै बस्तु वा सतह छोइएमा साबुन पानीले हात धुने अथवा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने,खोक्दा वा हाछ्यू गर्दा नाक,मुख रुमालले छोप्ने गर्नुपर्दछ ।

कोभिड–१९ को संक्रमणबाट कसरी आफु बच्ने र अरुलाई बचाउने भन्ने बिषयमा कार्यालयपरिसरमा फ्लेक्स÷व्यानर राख्ने,कार्यालय परिसरमा कोभिड–१९ को नियन्त्रण सम्बन्धमा सेवाग्राहीहरुलाई सचेत र सजग गराउन एक जना कर्मचारीले हेल्प डेस्क सञ्चालन गर्ने,कार्यालयको प्रवेशद्धारमा साबुन पानीले अनिबार्य हात धोएर मात्र कार्यालय भित्र प्रवेश गर्न कर्मचारी र सेवाग्राहीहरुलाई अनिवार्य गर्ने,सेवा लिन आउने कर्मचारीहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न र २ मिटरको दूरी कायम गरी सेवा लिन अनिवार्य गर्ने व्यवस्था गरेर कर्मचारी तथा सेवाग्राहीलाई सुरक्षित राख्नु पर्दछ ।कर्मचारी र स्वास्थ्यकर्मीहरुमाझ नै कोभिड–१९ को संक्रमण बढ्न थालेको स्थितिमा कम कर्मचारीहरु सहभागी भएर सेवा प्रवाह गर्नुपर्दछ । त्यसको लागि १५/१५ दिनको ड्यूटी रोटेसन गरी सेवा प्रवाह गर्ने, १५ दिनसम्म घरबाट आवतजावत नगरी कार्यालयमै बस्ने व्यवस्था मिलाइ सेवा प्रवाह गर्ने र १५ दिनसम्म चाहिँ घरमै बस्ने गर्दा कोभिड–१९ को संक्रमण फैलन नदिन सहयोग पुग्दछ ।

ड्यूटीमा रहेका कर्मचारीहरुको कोभिड–१९ को परिक्षण गर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालय र स्थानीय तहहरु सँग समन्वय गर्नुपर्दछ । यसबाट एकातर्फ ड्यूटीमा रहेको कर्मचारीहरुलाई कोभिड–१९ संक्रमण देखिएमा आइसोलेट गरेर संक्रमणलाई थप फैलिन बाट रोक्न सकिन्छ भने अर्कोतर्फ ड्यूटी भन्दा बाहिर रहेका कर्मचारीलाई तत्काल ड्यूटीमा खटाएर सेवा प्रवाहलाई समेत निरन्तरता दिन सकिन्छ ।आफ्नो परिवार र समुदायलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा पनि निजामती कर्मचारीहरुले ध्यान दिनुपर्दछ । कार्यालय मै १५ दिनसम्म ड्यूटी गरी कोभिड–१९ परिक्षणको नतिजा सहित घर जाने र घरमा बस्दा पनि कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरु आफु पनि अपनाउने र परिवारका सदस्यहरुलाई पनि अपनाउन लगाएमा आफु सँगै परिवारलाई पनि सुरक्षित राख्न सकिन्छ । देश र समाजकै जिम्मेवार नागरिक भएको नाताले निजामती कर्मचारीहरुले कोभिड–१९ नियन्त्रण सम्बन्धमा आफ्नो भूमिकालाई समुदाय स्तर सम्म पनि विस्तार गर्नुपर्दछ । अनिवार्य रुपमा मास्क लगाई सामाजिक दूरी कायम गर्दै कोभिड–१९ का लक्षणहरु,संक्रमण फैलिने माध्यमहरु,संक्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपायहरुको बारेमा आफ्नो समुदायमा जनचेतना जगाउने,कसैलाई कोभिड–१९ को शंकास्पद लक्षण देखा परेमा स्वास्थ्य संस्थामा जान वा स्वास्थ्यकर्मीहरु सँग परामर्श लिन सल्लाह दिने र समुदायस्तरमा मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउन जनप्रतिनिधीहिरुलाई सहयोग गर्ने जस्ता कार्यहरु गर्नु पर्दछ ।

कोभिड–१९ को भ्याक्सिन तथा उपचार पद्धतिको विकास भईनसकेको बर्तमान अवस्थामा संक्रमण फैलन नदिनको लागि लकडाउन,निषेधाज्ञा,सामाजिक दूरी कायम गर्नुपरिरहेको अहिलेको समयमा आफ्नो समुदायका मानिसहरुलाई योग,व्याम,ध्यान गर्न सल्लाह दिने,कागती पानी,बेसार पानी पिएर रोग प्रतिरोधात्मक क्षमता बढाउन सल्लाह समेत दिनु पर्दछ ।यसबाट पनि अप्रत्यक्ष रुपमा कोभिड–१९ को नियन्त्रणमा केही हद सम्म सहयोग पुग्दछ । हाल कोभिड–१९ बाट मानिसहरुमा जुन हद सम्म मनोसामाजिक असर देखा परिरहेको छ, त्यसलाई तत्काल हटाउन जरुरी छ । कोरोनाको संक्रमण देखिएको व्यक्ति र उसको परिवारलाई समाजले गर्ने एक किसिमको सामाजिक बहिष्कार तथा दुव्र्यवहारले गर्दा संक्रमित व्यक्तिहरुले रोग लुकाएर बस्ने, परिवारलाई समेत नभन्ने, कोभिड–१९ पुष्टि भईसकेका संक्रमितहरु क्वारेन्टाइन÷आइसोलेसन बाट भाग्ने, आत्महत्या गर्ने जस्ता घटनाहरु बढीरहेका छन् । यस्ता गतिविधीले समुदायमा कोरोना संक्रमण बढाउन झनै उत्प्रेरकको रुपमा कार्य गर्दछ । त्यस्तै कोरोना संक्रमितहरुको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरु माथि समेत कोरोना सार्छ भन्दै दुव्र्यवहारहरु भईरहेका छन् । यस्तो व्यवहारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेर खटिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल कमजोर बनाइरहेको अवस्था छ । यो परिस्थितिमा समाजकै अगुवा र जिम्मेवार नागरिकको रुपमा परिचित निजामती कर्मचारीहरुले नागरिकहरुमा रहेको कोरोड–१९ सम्बन्धि वास्तविकता भन्दा परको भ्रम र अफवाहलाई हटाई मनोसामाजिक असरलाई कम गर्न भूमिका निर्वाह गर्नु पर्दछ । कोरोना संक्रमितहरु कुनै अपराध गरेर आइसोलेसनमा बसेको नभएर संक्रमण फैलन नदिनको लागि आइसोलेसन (एकान्तबास) मा राखिएको हो, स्वास्थ्यकर्मीहरु भनेका हाम्रो लागि अहिलेको महामारीसँग अहोरात्र जुध्ने सहयोगी र धेरै कोरोना संक्रमितलाई मृत्यूको मुख बाट जोगाउने महामानव हुन् , अहिलेको समय भनेको स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने र सामाजिक दूरी कायम गरेर व्यवहार गर्नुपर्दछ तर कोरोनाको कारण देखाउदै कसै प्रति पनि असामाजिक व्यवहार गर्नुहुँदैन, यस्तो असामाजिक व्यवहारले झन् संक्रमण फैलाउन मद्दत गर्छ भनी निजामती कर्मचारीहरुले आफ्नो समुदायका मानिसहरुलाई सम्झाउने गर्नु पर्दछ । यसरी मानिसहरुमा रहेकोकोभिड–१९ को मनोसामाजिक असरलाई हटाउन निजामती कर्मचारीहरुले भूमिका खेल्नु पर्दछ ।

अहिले जुन गतिमा कोभिड–१९ संक्रमितहरुको संख्या बढ्दै गईरहेको अवस्था छ,यस्तै अवस्था कायम रहँदै गएमा केही समय पछि ठूलो संख्यामा कर्मचारीहरु पनि संक्रमित हुने अवस्था आउन सक्छ । यदि त्यस्तो भयावह अवस्था आएमा तिनै तहका सरकारहरुले कोभिड–१९ नियन्त्रणको लागि गरिरहेको व्यवस्थापन पनि अपर्याप्त हुने अवस्था आउन सक्छ । त्यस्तो परिस्थितिलाई समेत मध्येनजर गर्दै निजामती कर्मचारीहरु सबै मिलेरआधिकारीक ट्रेड युनियन मार्फत कोभिड–१९ शंकास्पद निजामती कर्मचारीहरुको लागि क्वारेन्टाइन भवन र बिना लक्षणका कोभिड–१९ संक्रमित कर्मचारीहरुलाई राख्नको लागि आइसोलन भवनको व्यवस्था गर्ने र संक्रमित कर्मचारीहरुलाई नियमित उपचार एवं स्वास्थ्य परामर्शको लागि स्वास्थ्य संस्था सँग समन्वय समेत गर्नु पर्दछ, जसबाट कोभिड–१९ बाट कर्मचारी बर्गलाई बचाउन र संक्रमणलाई फैलन नदिनको लागि सहयोग पुग्दछ ।कोभिड–१९ नियन्त्रणको लागि सरकारले चालेका कदमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु निजामती कर्मचारीहरुको कर्तव्य नै हो ।

कोभिड–१९ नियन्त्रणका सम्बन्धमा नीति, योजना, कार्यक्रम बनाउने मन्त्रालय, कार्यालयमा कार्यरत कर्मचारीहरुलेसरकारलाई सो कार्यमा रचनात्मक सहयोग गर्ने तथा कार्यान्वयनमा खटिने,अनुगमन र समन्वय गर्ने प्रकृतिका कार्यालयहरुमा खटिने कर्मचारीहरुले कार्यालय प्रमुख,जनप्रतिनिधीहरुलाई रचनात्मक सल्लाह,सुझाब दिएर र कार्यान्वयन गर्ने सवालमा पनि सक्रियताका साथ खटेर सहयोग गर्नु पर्दछ । कोरोना संक्रमण थप फैलन नदिनको लागि लागु गरिएको लकडाउन,निषेधाज्ञालाई कडा रुपमा कार्यान्वयन गर्ने, समन्वय तथा अनुगमन गर्ने,स्वास्थ्य सुरक्षाका सामाग्रीहरु जस्तो मास्क,स्यानिटाइजर,पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) को कालाबजारी हुन नदिई सर्वसाधारण नागरिकहरुले सहज रुपमा पाउने व्यवस्था मिलाउनुको साथै नागरिकहरुले विहान तरकारी,फलफूल,खाद्यान्न लगाएतका सामाग्री किन्न जाँदा मास्क लगाए नलगाएको अनुगमन गरी यदि नलगाएको भेटिएका अनिवार्य रुपमा लगाउन सम्झाउने,बुझाउने देखि लिएर अटेरी गरेमा कारबाही समेत गर्नुपर्दछ । यसबाट पनि धेरै हद सम्म कोभिड–१९ को नियन्त्रणमा सहयोग पुग्दछ ।संसदबाट पारित हुन बाँकी संघीय निजामती सेवा ऐनको विधेयकले स्वास्थ्य सेवालाई पनि निजामती सेवा अन्तर्गत राखेको सन्दर्भमा स्वास्थ्यकर्मी पनि निजामती कर्मचारी नै हुन् । जनस्वास्थ्यमा कार्य गर्ने स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को रोकथाम र नियन्त्रणको सम्बन्धमा योजना बनाउने, प्रचार प्रसार गर्ने, हेल्प डेस्कहरु सञ्चालन गर्ने, कन्ट्राक ट्रेसिङको लागि स्थानीय तहहरु सँग समन्वय गर्ने र सूचना व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाएर कोभिड–१९ को नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ ।

निजामती सेवा दिवस २०७७ को अवसरमा आयोजित निबन्ध प्रतियोगीतामा प्रथम भएपछि पुरस्कार ग्रहण गर्दै ।

अहिलेको कोभिड–१९ को महामारीको समयमा अस्पताल÷स्वास्थ्य संस्थामा अग्रभागमा रहेर सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको भूमिका सबै भन्दा महत्वपूर्ण हुन्छ । कोभिड–१९ का शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गर्ने, स्वाबको परीक्षण गरी कोभिड–१९ हो वा होइन पुष्टि गर्ने र आइसोलेसनमा रहेका संक्रमित व्यक्तिहरुको उपचार गरी ठूलो संख्यामा मानिसहरुलाई कोरोना संक्रमण मुक्त बनाउनुको साथै मृत्यूको मुखबाट जोगाउन सक्ने हुनाले स्वास्थ्य संथामा रही चिकित्सकीय सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीले कोभिड–१९ नियन्त्रणको लागि सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् । त्यस्तै कोभिड–१९ नियन्त्रणको लागि सरकारलेगरेको लकडाउन,निषेधाज्ञाको कारण जनजिवन एकातिर कष्टकर बन्दै गइरहेको छ भने अर्कोतिर देशको उत्पादन,निर्माण,व्यवसायहरु चौपट भई देशको अर्थतन्त्र प्रभावित भइरहेको छ । यस्तो अवस्था लामो समय सम्म कायम रहेमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि ठूलो धनराशी खर्च गर्नु पर्ने हुँदा हाम्रो जस्तो विकासोन्मूख देशको अर्थतन्त्रले सार्वजनिक खर्च धान्न नसक्ने अवस्था आउन सक्छ । यस्तो परिस्थितिमा कोरोना संक्रमितहरुको उपचार गर्नको लागि आवश्यक व्यवस्था गर्नराज्यलाई आर्थिक अभावको अबस्था आउन सक्छ ।

कोरोना महामारी सँग जुध्न सरकारले स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरुलाई स्वच्छिक र अन्य कर्मचारीहरुलाई भने अनिवार्य आधारभुत तलबमानको केही प्रतिशत सरकारी खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेता पनि निजामती कर्मचारीहरु भनेका राष्ट्रसेवक तथा जनसेवक पनि भएको हुँदा सिंगो देशनै महामारीको चपेटामा परेको अवस्थामा सबै कर्मचारीहरु मिलेर निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन मार्फत रकम संकलन गरी कोभिड–१९ नियन्त्रण गर्ने प्रयोजनको लागि सरकारलाई आर्थिक सहयोग गरेर कोभिड–१९ को यो महामारीमा नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्दछ ।

अन्त्यमा, विश्व महामारीको रुपमा देखिएको कोभिड–१९ को नियन्त्रणमा अहिले संघीय,प्रदेश र स्थानीय तीनै तहका सरकारहरु आफ्नो पूर्ण सामथ्र्यका साथ लागिरहेका छन् । निजामती कर्मचारी भनेका सरकारका नीति,योजना र कार्यक्रमहरुको कार्यान्वयन गर्ने स्थायी संयन्त्र भएकाले अहिले सरकारको कोभिड–१९ नियन्त्रणको कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आ–आफ्नो कार्यालयको कार्य प्रकृति र जिम्मेवारी अनुसार गर्न सकिने सम्म भूमिका सक्रियताका साथ निर्वाह गर्नु पर्दछ । निजामती कर्मचारीहरु देशको जिम्मेवार नागरिक तथा समाजको अगुवा सदस्य र परिवर्तनको संवाहक पनि भएकाले यस्तो महामारीको समयमा आफ्नो ठाउँ बाट रचनात्मक भूमिका पनि निर्वाह गर्नु पर्दछ । आफु,आफ्नो परिवार,कार्यालयका सहकर्मीहरु,सेवाग्राही बर्गलाई कोरोना बाट सुरक्षित राख्ने उपायहरु अवलम्बन गर्दै सेवा प्रवाह र विकास निर्माणका कार्यहरु गर्ने,आफ्नो समुदायका मानिसहरुलाई सुरक्षित राख्ने सम्बन्धमा सावधानीका उपायहरु अवलम्बन गर्न जनचेतना जगाउने,कोरोनाको मनोसामाजिक असरलाई हटाउन भूमिका निर्वाह गर्ने,कर्मचारीहरुको लागि क्वारेन्टाइन÷आइसोलेसनको व्यवस्थापन गर्न समन्वय गर्ने,कोभिड–१९ नियन्त्रणको लागि आर्थिक संकलन गरी राज्यलाई सहयोग गर्ने जस्ता कार्यहरु गरी निजामती कर्मचारीहरुले विश्व महामारी कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ, जुन वर्तमान समयको अपरिहार्यता पनि हो ।

(निजामती सेवा दिवस २०७७ को अवसरमा ट्रेड यूनियन धादिङ रर कर्मचारी मिलन केन्द्र धादिङको संयुक्त आयोजनामा भएको ‘विश्व महामारी कोभिड १९ नियन्त्रणमा निजामती कर्मचारीको भूमिका’ विषयक निबन्ध प्रतियोगीतामा प्रथम हुन सफल निबन्ध)

२०७७ भदौ २२ गते प्रकशित

Loading...