Sun. Dec 6th, 2020

आमा बनेर पनि आमा बन्न नपाएकाहरुको कथा

राधिका सापकोटा

गत वर्ष १४ वर्षकी एकजना बहिनी गर्भवति भएको ६ महिनामा हाम्रो सम्पर्कमा आईन । छिमेकीको एकजना ६० वर्षको व्यक्तिले उनलाई पटक पटक बलात्कार गरेपछि उनको गर्भ बसेको रहेछ । थोरै बौद्धिक अपागंकता समेत भएकी बहिनीले आफूमाथि भएको हिंसाबारे भन्न सकिनन् । बाबु धेरै वर्ष देखि घर आउने जाने नगरेको आमाले बहिनी र अरु २ सनतान साह्रै दुःखले हुर्काई रहेकी रहिछिन् ।

जब बहिनीको पेट ठूलो भएर देखिन थाल्यो त्यसपछि मात्रै घटना बहिर आयो । गर्भपतन गराउने समय कटि सकेको कारण उनी बच्चा जन्माउन बाध्य भईन । उनी सुरक्षित आवास गृहमा नै बसेर बच्चा जन्माईन । सानो उमेर बच्चा ठूलो अस्पतालको बेडमा उनी छट्पटाएर रुदा लाग्थ्यो उनीमाथि बलात्कार गर्नेलाई गएर मारिदिउँ । साह्रै गाह्रो संग उनले बच्चा जन्माईन । ४,५ पोका रगत दिनु पर्यो । बच्चा जन्माएपछि हामीले सोध्यौं , नानी बच्चा हेर्छौं ? आँखा नखोली उनले जवाफ दिईन नाई हेर्दिन । बच्चालाई दुध खुवाउँछौं ? नाई खुवाउँदिन ….. आमालाई अस्पतालमा राखेर बच्चालाई सेफ हाउस राख्यौं । उनी अलि राम्रो भएपछि मैले उनलाई सोधे किन तिमिले बच्चा नहेरेको माया लागेन ? माया त लाग्यो नी दिदि तर हेरेपछि झन धेरै माया लाग्छ, पछि सम्म याद आउँछ, म पाल्न हुर्काउन सक्दिन के गर्नु ?? साच्चै कस्तो थियो दिदि मेरो बच्चा ? साह्रै उत्सुक थिए उनका आँखा आफ्नो बच्चाको बारेमा सुन्न । मैले भने तिमी जति राम्रो थिएन हाँसेर टारीदिए मैले उनको कुरा । दुधले उनको कपडा भिझि रहँदा लाग्थ्यो हरेक दुधको थोपामा उनको मातृत्व बगिरहेको छ ।

केही महिना अगाडी आफ्नै काकाले गर्भवति बनाएको एकजना १५ वर्षकी नानीलाई गर्भपतन गराउन भन्दै काकाले नै बोकेर जिल्ला अस्पताल लिएर आएका छन् । हामीले खोजि गर्यौं, प्रहरीलाई भन्यौं । प्रहरी र हामी मिलेर खोजीगर्दा जिल्ला अस्पतालमा गर्भपतन गर्न मिल्दैन भनेपछि उनलाई चितवन लगिसेकेको बुझियो । प्रहरीको सक्रियतामा नानीको उद्दार भयो , पीडक पक्राउ पर्यो । करिब राती २ बजे सुरक्षित आवास गृहमा नानी आईपुगेकी थिईन । पहेलो अनुहार, च्यातिएका कपडा, अनुहार नै छोपिनी गरी बढेको पेट, बोल्नै नसक्ने अवस्थामा आईन उनी । भोलिपल्ट दिनभरी अस्पताल र प्रहरी सबै प्रकृयामा लाग्दा नै वित्यो । राती फेरी सेफ हाउस ल्याईयो । खानेखाएपछि पेट दुख्यो भनिन् । हामीलाई लाग्यो लामो समय हिडेको, खान नपाएको, गाडीको यात्राले पेट दुख्यो होला । रातभरी नै उनलाई पेट दुख्यो । बिहान भएसी अस्पताल लगियो । नानीलाई बेथा लागेको कुरा डक्टरले बताउनु भयो ।

७ महिनामा १५ वर्षको नानी त्यसमा पनि साह्रै कमजोर छ , के गर्ने यहाँ गर्न सकिन्न होला । तर हामी बाध्य थियौं । लकडाउनको समय, महामारीको प्रकोप जिल्ला बाहिर लान सहज थिएन । हामीले बाध्य भएर भन्यौं आमा बचाउँ बच्चाको बारेमा चिन्ता नगर्ने होला । डक्टर नर्सहरुको टिम सबै एकित्रित भएर लाग्नु भयो । जति पेट दुख्थ्यो त्यत्ति दिदि यो बच्चा नजन्माउने भनेर रुन्थिन नानी । आफ्नो बाबुको मृत्यु भएको १ वर्ष पनि नपुग्दै संरक्षणको जिम्मा लिएको आफ्नै काकाले बलात्कार गरेर आज अस्पतालको बेडमा काकाको बच्चा जन्माउन छटपटाई रहेकी बालिका देख्दा किन मेरो देशमा मृत्युदण्डको कानुन नभएको होला भन्ने लागिरह्यो । कठिन परिस्थितीमा नानीले बच्चालाई जन्म दिईन ।

१.५ किलोको बच्चा सकुसल जन्मियो । मैले सोधे नानी तिम्रो बच्चा हेर्छ्यौं ?? दुध खुवाउँछौं ? नाई हेरदिन , नाई दुध खुवाउँदिन….. उस्तै जवाफ थियो यिनको पनि । २ दिन पछि नानीलाई अस्पतालबाट फकाईयो तर बच्चा सानो भएकोले धेरै दिन राख्नु पर्यो । जब हामी उनको बच्चाको बारेमा कुरा गर्थ्यो, उनी नसुनेझै वा वास्ता नगरेझै गर्थिन तर सबै ध्यान हाम्रो कुरा तिर हुन्थ्यो । उनी आफ्नो बच्चाको बारेमा थाहा पाउन चाही रहेकी थिईन । हामीले सिधा उनीसंग भन्दा भने सुन्न चाहान्नथिन ।

आफ्नै मामा पर्नेले बलात्कार गरेर ६ महिना भएपछि अर्की नानी हाम्रोमा आईपुगिन । गर्भपतन गराउने समय नाघि सकेको थियो । १७ वर्षकी उनी देख्दा भने १४,१५ वर्ष जस्तोा मात्रै देखिन्थिन । करिब ४ महिना सेफ हाउसमा बसेपछि उनले बच्चा जन्माईन । बच्चा जन्माएर बाहिर बेडमा आउँदा उनले मेरो हात समातेर भनिन् “दिदि छोरा जन्मियो नी , मैले उसलाई छोएनी, तपाईले हेर्नु भयो ऊ कति राम्रो छ, कति ठुलो छ ” मेरो आँखाबाट अन्यास आँसु खसेछ । मैले रोक्नै सकिन , म बाहिर गएर रोए । कति खुसी छ ऊ सन्तान जन्माएकोमा । एकछिन पछि मैले सोधे नानी बच्चालाई दुध खुवाउँछौं ? नाई खुवाउदिन……. के तिमी बच्चा आफुसंगै राखेर पाल्न चाहान्छौं ?? नाई कसरी राख्ने मैले आफ्नै मामाको बच्चा ?? तर तिमीलाई बच्चाको कति माया लागेको छ नी त … लागेर के गर्नु दिदि म पाल्न सक्दिन । बच्चालाई अस्पतालमा हामीले काखमा राखेर दुध खुवाउँदा चियाएर उनी हेर्थिन, बच्चा रुदा बाबु रोयो भनेर खबर गर्थिन तर आफ्नो काखमा लिन र माया गर्न भने मान्थिनन् ।

यी ३ वटा नानीहरुको मातृत्व देखे पछि लाग्यो बच्चा जन्माएर पनि यी कहिलै आमा बन्न पाएनन् । कस्तो अनौठो परिस्थिती त्यही बच्चा जन्माउँदा कति खुसी हुन्छ, कति हर्ष उल्लाहस हुन्छ तर यीनिहरुले बच्चा जन्माउँदा न यिनको मुहारमा खुसी थियो , न यिनीहरु आमा बनेकोमा कुनै हर्ष उल्लाहस थियो । बच्चा आफ्नै अगाडी हुँदा उठाउन नसक्ने, छातिमा टासेर माया गर्न नसक्ने, दुध गानिएर टन्किदा, दुध बगेर लुगा भिजाउँदा आफ्नो रोईरहेको बच्चालाई खुवाउन नसक्ने कति अभागि आमाहरु हुन् यिनीहरु । न हामी नै यिनीहरुलाई भन्न सक्थ्यो तिमी तिम्रो बच्चा पाल भनेर । भर्खर १४,१५ वर्षका छन् यिनीहरु ।

यी सबैलाई समाजले भातपानी काटेको छ । फर्काएर घरमा ल्याए परिवारलाई आफ्नो समाज र कुलबाट भातपानी काढ्ने भनेको छ । परिवार अहिले पनि यिनीहरुलाई घर लान हिम्मत गर्दैन । यी अवोधहरुको केही दोष नहुँदा पनि समाज यिनीहरुको पछाडी हात धोएर लागिरहेको छ । हामी समाजसंग लडेर उनीहरुलाई पारिवारिक पुर्नस्थापना गर्न नसकेर सुरक्षित आवास गृहमा राखेर हाईसन्चो मानिरहेका छौं । सेफ हाउसमा खान बस्न, पढ्न सबै कुरा पाएपनि यिनीहरुको मनले के सोचिरहेको होला ? हामीलाई घर , परिवार र समाजले निकाला गर्यो भन्ने मनमा छ कि छैन होला ? हाम्रो के दोष थियो भन्ने यिनीहरुलाई लाग्ला की नलाग्ला ? आफूले जन्माएका ती सुकुमार शिशुहरुलाई सपनामा कति देख्दा हुन् उनले ।

खै सरकारले के सोचेको छ यिनका लागि ? अरु कसैको गल्तिका कारण आज मातृत्वको पीडा भोगिरहेका यी अवोध वालिकाहरुको पक्षमा के छ योजना ? यिनको शिक्षा, पालन पोषण, यिनको भविष्यका बारेमा सरकार कहाँ जिम्मेवार छ । डलर खाएको आरोप सहेरै सही आज यिनको रगतको आहाल सोरेर, अस्पतालमा कुरेर, साना शिशुहरुको स्याहार गरेर, सडकमा पुग्न दिएका छैनौं हामीले । आफ्नो गाउँपालिका नगरपालिका भित्र यस्ता घटना घटेका छन् , नानीहरु समस्यामा छन् तर आज सम्म कुनै जनप्रतिनीधिहरुले फोन समेत गरेको अनुभव छैन म संग । ती नानीहरुका लागि स्थानिय सरकारको कुनै दायित्व छैन ? तिनीहरुको पालन पोषण र शिक्षाका लागि स्थानिय सरकारले केही गर्न सक्दैन वा पर्दैन ?? प्रदेश सरकार सुरक्षित आवास गृहको लागि पैसा छ्ट्याउँछ तर फागुनमा आएर ५ लाख दिन्छ र भन्छ जेठ १५ सम्म सक । अनि यो गरिस् त्यो गरिस्, यो गर्नुपर्ने त्यो गर्नुपर्ने भनेर पैसा फ्रिज गराउँछ ।

असारमा भएको बजेट भाषणको कार्यान्वयन गर्न फागुन सम्म किन लाग्छ मैले कहिलै बुझिन् । अनि उनीहरु नै मालिक बनिरहेका छन् । उनीहरुको व्यवहार देख्दा लाग्छ हामी भिक मागिरहेका छौं सडकमा बसेर उनीहरुलाई मन लाग्दा हाम्रो थालिमा २,४ रुपैया फलिदिन्छन् न भए अपमान गरेर लात्तिले हानेर हिड्छन् । यी अवोध वालिकाहरु प्रति कुनै संवेदनशिलता छैन ।

हामीले गरिरहेको कामले सरकारलाई सहयोग पुगेको छ भन्ने कुनै वास्ता छैन । छ त पावरको कुरा । हामी पैसा दिने मालिक हौं, तिमीहरु माग्ने हौं हामीसंग झुक्नु पर्छ, हामीलाई खुसी बनाउनु पर्छ । हामीले यो वर्ष नझुके बापत, उनीहरुलाई रिझाउन नसके बापत प्रदेश सरकारले यी अवोधहरुको नाममा खर्च गर्ने गरी सेफ हाउसलाई दिएको ५ लाख मध्ये १ लाख रुपैया काटेर फिर्ता लग्यो । त्यसैले सबै जिम्मेवार नहुँदा सम्म, सबैले यो संवेदनशिलतालाई नबुझ्दा सम्म यी बालिकाहरु आमा बनेर पनि आमा बन्न कहिलै पाउने छैनन् ।

२०७७ भदौ २९ गते प्रकाशित

Loading...