Wed. Sep 23rd, 2020

‘यस्तो रोग कसैलाइ नलागोस्’

२९ भदौ,धादिङ –

कोरोना (कोभिड १९) ले विश्व नै तहसनहस अबस्थामा छ । नेपालमा पनि पछिल्लो समय नयाँ संक्रमण दर बढ्दो छ । दैनिक एक हजारको संख्यामा नयाँ संक्रमित बढ्दै गएको छ । रोग लागेर निको हुनेहरु पनि बढ्दै गइरहेका छन् ।
कोरोना एउटा सरुवा रोग भएकाले एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्न सक्छ । त्यसैले यो रोग लाग्न नदिनका लागि सामाजिक दुरी कायम गर्नुपर्छ भनेर सरकारले नै सुचना जारी गरिरहेको छ ।
हिजोआज कोरोना रोगी हरेक गाउँका कुना कुनामा पनि भेटिन थालेका छन् । सचेत रहँदा रहदै पनि समुदाय स्तरमा नै रोग फैलिन थालिसकेको छ । संक्रमितहरुलाई कोरोनाको रोगले भन्दा पनि रोग संगै भित्रिएको दुब्र्यब्यहार, लान्छना, छिःछि दुरदुरले बढी तनाव दिएको कोरोना संक्रमणपछि निको भएर घर फर्किएकाहरुले बताएका छन् ।
कोरानालाई पराजित गर्नको लागि आत्मविश्वास बलियो बनाउनुपर्छ भनेर संचारमाध्यमहरुमा विज्ञहरुले भनिरहेकै छन् । संक्रमितलाइ ढाढस दिनु, सान्त्वना दिनु त परको कुरा गाउँघर र छरछिमेकीबाट संक्रमित र तिनका परिवारले भोग्नुपरेको तितो यथार्थले हाम्रो समाजको बास्तविकतालाइ राम्रोसंग देखाइदिएको छ ।
हामीले कोरोना रोग लागेर निको भएका ब्यक्ति र उनीहरुको परिवारसंग केही कुराकानी गरेका छौँ । उहाँहरुसंग गरिएको कुराकानी सारांशः
यस्तो रोग कसैलाइ नलागोस ः रमादेवी
मेरो श्रीमानलाइ कोरोना कसरी लाग्यो थाहा भएन । दुइ पटक गरेर उहाँ एक महिना जति आइसोलेशन र क्वारेन्टीनमा बस्नु भयो । त्यही गएर मैले श्रीमानलाइ बाहिरबाटै भेटे, उहाँलाइ कोरोनाले शारिरिक केही असर गरेको थिएन, मलाइ पनि खासै केही अनौठो लागेन यो रोग लागेको भनेर । घरबाट टाढा हुनुभयो भन्ने मात्रै लागेको थियो ।
तर घर ब्यवहार, छरछिमेकी र ऐचौपैचो गर्दा मैले भोगेको पिडा र दुब्र्यबहार सम्झिदा रुन मन लाग्छ । नाम त कसैको पनि नलिउँ, गाउँले छर छिमेकी यसको बुढालाइ कोरोना लागेको भनेर म हिडेको बाटो हिडेनन्, घरमा चामल सकिँदा पैचो नदिदा भोकै भएँ । घरमा लाइटर विग्रिएर आगो फुक्न नसक्दा लाइटर÷आगो समेत दिएनन् । काठमाण्डौबाट छोराले एक जना छिमेकीलाइ फोन गरिदिएर आमा भोकै भएको कुरा सुनाइदिएपछि तिनले ल्याइदिएको विस्कुट खाएर समेत छाक गुजारेँ ।
१ महिना काट्न जुनी काटेजस्तै गाह्रो भयो । गाउँमा सवै त्यस्तो थिएन, कसैले फोन गरेर नआत्तिउ केही हैन भनेर सात्वना पनि दिनुभएको थियो । तर हजार सान्त्वना भन्दा एउटा हेलाले मन दुख्दो रहेछ ।
अहिले श्रीमान निको हुनुभएर त्यही गाउँसमाजै हुनुहुन्छ । विरामी हुँदा जस्तो नै ब्यवहार चाहि छैन । पहिला छिछि दुरदुर भएर होला कहिँ कहिँ अहिलेपनि कोरोना संक्रमित थिए रे भन्ने सुनिन्छ ।
अहिले दिनहुँ संक्रमितहरु बढिरहेको समाचार रेडियोले भन्छ । तिनका परिवारहरुले पनि कस्तो पीडा भोगिरहेका होलान भन्ने लाग्छ । रोगले भन्दा पनि गाउँलेले गर्ने दुब्यवहारले मानिसलाइ झनै विरामी बनाउदो रहेछ । यस्तो रोग कसैलाइ नलागोस, मलाइ जस्तै पीडा कसैलाइ नहोस ।

(रमादेवी कोइराला (नीलकण्ठ ७, धादिङ) संक्रमित ब्यक्तिका श्रीमती हुन् ।)

कोरोनाको भन्दा पनि सामाजिक लाञ्छनाले मरिन्छ कि भन्ने पिर ः बुर्लाकोटी

आफ्नो ब्यवसाय चलाएर बसिरहेको थिए, आकस्मिक रुपमा काठमाण्डौ जाने काम परेर नागढुङ्गामा चेक गराउँदा मेरो कोरोना रिपोर्ट पोजेटिभ देखियो । एउटै गाडी चढेर हिँडेका साथीहरुलाइ सवैलाइ नेगेटिभ मलाइ मात्रै कसरी पोजेटिभ आयो मैले थाहा पाउन सकेको छैन ।
घरपरिवार र मेरो ब्यवसायमा जोडिएका सवैलाइ जाँच गराइयो कसैलाइ पनि संक्रममण देखिएन । म बस्ने घरको संरचना पनि त्यस्तै फरक रहेकाले म घरकै आइसोलेशनमा बसे । तर बाहिर मलाइ आइसीयुमा राखेर उपचार भइरहेको, छोराछोरी एकदमै विरामी भएको भन्ने प्रचार भएछ । सधै भेट्ने केही साथीहरुले फोनमा समेत कुरा गर्न अप्ठ्यारो माने । धेरै जसो साथीहरु दिनकै मलाइ म आइसोलेशन बसेको ठाउँमा आएर हौसला पनि दिनुभयो तर भित्रका कुरा भन्दा बाहिरका कुराले मन दुखाउदो रहेछ ।
हो नजिक हुनु हुँदैन, दुरी कायम राख्नु पर्छ तर दुरी कायम राख्ने भनेर अनावश्यक हल्ला फैलाउनु त विरामीलाइ झनै मानसिक तनाव दिनु हैन र ? जे होस कोरोना रोगले हामी कत्तिको सामाजिक प्राणी रहेछाँै त भनेर चिन्ने अवसर दियो । नियमित स्वास्थ्य ब्यायम खानपान र आत्मविश्वासले कोरोनालाइ जितियो र मान्छेहरुको स्वभावलाइ चिनियो पनि ।

(ठाकुर बुर्लाकोटी, होटल ब्यवसायी, नीलकण्ठ ३ धादिङ)

२०७७ भदौ २९ गते प्रकाशित

Loading...