Sat. Oct 31st, 2020

नेपालमा एकै दिन दुई हजार २० कोरोना संक्रमित थपिए


२ असोज, धादिङ–

नेपालमा शुक्रबार एकै दिन दुई हजार २० कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ६ सय ९८ , भक्तपुरका ८२ र ललितपुरका ७९ गरेर उपत्यकामा ८५९ जनासहित एकै दिन दुई हजार २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको छ। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।

मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९३९ पुगेको छ।

कोरोनाले २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।

२०७७ असोज २ गते प्रकाशित

Loading...