Sat. Oct 31st, 2020

धादिङवेशीमा मनाइयो सातौ परिवार योजना दिवस

३ असोज, धादिङ-

धादिङवेशीमा सातौ परिवार योजना दिवस मनाइएको छ । ‘कोभिड १९ को अवस्था, गुणस्तरिय परिवार योजना सेवाको निरन्तरता’ भन्ने नाराका साथ स्वास्थ्य कार्यलय धादिङको आयोजनामा शुक्रवार एक कार्यक्रम गरि दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले कोभिडको महामारीका बाबजुत पनि सवै स्वास्थ्य संस्थाबाट परिवार नियोजनका सवै सेवाहरु जारी रहेकाले ढुक्क भएर सेवा लिन आम नागरिकलाइ आब्हान गरे ।

धादिङमा लकडाउन सुरु भएको चैत महिनामा केही ठाउँका सेवाहरुमा समस्या आएको भए पनि अहिले सबै स्वास्थ्य संस्थाबाट यसअघिका परिवार नियोजनसम्बन्धी सेवाहरु सुरु भएको उनले बताए ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत दिपक अछामीले महामारीका कारण गर्भपतन गराउनेहरुको सङ्ख्यामा केही बृद्धि भएको तथा आकस्मिक गर्भ निरोधकका साधनहरुको बढी प्रयोग भएको बताउदै आम संचारमाध्यमले त्यस्ता आकस्मिक गर्भ निरोधक साधनहरुको असरका बारेमा जनचेतना दिनुपर्ने बताए ।

महामारीको डरले स्वास्थ्य सस्थामा जान डर मानी आकस्मिक गर्भ निरोधकको प्रयोग बढेकाले सरकारले परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु निःशुल्क उपलब्ध गराइरहेको र कोरोनाको सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका साथ स्वास्थ्य सस्थाहरुबाटै सेवा प्रवाह भइरहेकाले ढुक्क भएर परिवार नियोजनको सेवा लिन डाक्टर पौडेलले अनुरोध गरे ।

कार्यक्रममा कोरोनाको अवस्था र परिवार नियोजनको अवस्थामा बारे जानकारी गराइएको थियो । जनसङ्ख्या नियन्त्रणको उद्देश्यले सुरु भएको परिवार नियोजन सेवा अहिले महिलाहरुको प्रजनन अधिकारका रुपमा पनि स्थापित भएको भन्दै अनिच्छित गर्भधारण रोक्न परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

नेपालमा कुल गर्भधारणको ५० प्रतिशत गर्भधारण अनिच्छित रहेको र लकडाउन तथा निषेधाज्ञाका कारण यो सङ्ख्या अझै बढ्ने सम्भावना रहेको निलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।

Loading...