Thu. Dec 3rd, 2020

रक्षक नै भक्षक भए पछि

राधिका सापकोटा

घटना नं १ ः भर्खर उनी छ वर्षकी पुगिन । चञ्चले स्वभाव, वालशुलभ चेहरा लाग्थ्यो उनलाई केही भएकै छैन । उनकी आमाको काखमा सानो भाई थियो । उनलाई एउटा हातले डोर्याउदै उनी आएकी थिईन । उनलाई काखमा लिदै मैले उनको नाम सोधे । उनले सजिलै आफ्नो नाम भनिन् । मैले विस्तारै उनलाई घटनाको बारेमा सोधे । सायद अप्ठेरो के हो ? लाज के हो ? पीडा के हो ? थाहै नपाउने उमेर भएर होला उनले सरर आफूलाई भएको कुरा भनिन् ʺ बाबा, ममी म र भाई संगै सुतेको थियौं । राती बाबाले मेरो सुसु गर्ने ठाउँमा बाबाको सुसु गर्नेले घोचिदिनु भयो । मलाई कस्तो दुख्यो अनि म रोए ।

म रोएँ पछि ममिले थाहा पाउनु भयो अनि बाबालाई गाली गर्नुभयो । मलाई ममिले आफु पट्टि सुताउनु भयो । म रातभरी दुखेर रोएँ । सुस गर्दा अहिले नी दुख्छ ।“ एउटा ५ वर्षको अवोध वालिकाले आफूमाथि भएको घटनाको बारेमा सुनाईरहँदा छाति फुट्ला जस्तो भयो । अनि आमा पट्टि फर्के म “हामी इट्टा भट्टामा काम गर्छौ । पहिलाको श्रीमानले सधै जाँडरक्सि खाने कुटपीट गर्ने गरेकाले छोडेर भागे । घरबाट हिड्दा नानी १ वर्ष जतिको मात्रै थियो । सानो बच्चा बोकेर धेरै ठाउँमा भौतारिए । के गर्ने आइमाई मान्छे एक्लै देखेपछि जसले नी हेप्ने, फाइदा लिन खोज्ने बाँच्ने गाह्रो भयो । त्यसपछि बाबुको बाबासंग भेट भयो । राम्रो गर्छु छोरी नी स्विकार गर्छु भने ,एक्लै बाँच्न गाह्रो भएकोले आतिएको थिए म । लु न त भनेर विवाह गरे । राम्रै थियो । एउटा छोरा पनि जन्मियो । एउटा कोठा भएकोले हामी लाईनै सुत्थ्यौं । बाबुलाई मैले च्यापेर सुत्थे, नानीलाई बाबाले । त्यो राती म धेरै थाकेको थिए । उसले मलाई सम्बन्ध राख्न भनिरहेको थियो । मलाई मनै थिएन । मैले नाई भनेर गाली गरेर बाबु च्यापेर सुते । म निदाएछु । एक्कासी नानी रोएपछि व्युझिए ।

व्युझिदा नानी नाङ्गै थिई, बाउ चाहिको नी तल नाङ्गै थियो । बुबाको सुसुले मलाई घोच्यो भनेर नानी रोई । नानीको तल्लो शरिर सबै भिजेको थियो । अवाक भए । छोरीलाई ताने , बेसरी रोए, गाली गरे । भोली पल्ट नानीले छिमेकीहरुलाई भनिछ सबैले गाली गरे । प्रहरीकोमा जाउँ भने । प्रहरीलाई खबर गरिदिए र अनि आएको । के गर्र्ने २ , २ वटा बच्चा छ कमाएर पाल्ने उही हो, ऊ जेल परे हाम्रो विजोक हुन्छ । म कसरी उसलाई मुद्धा हालु ? म त मुद्दा हाल्दिन । जे भयो भयो । ”

घटना नं २ ः प्रहरीकोबाट फोन आयो म्याडम एकजना ८,९ वर्षको नानी छ, बाउले नै जबरजस्ती करणी गरेको रहेछ , एकजना भाउजु पर्नेले जाहेरी दिनु भयो उहाँको नी सानो बच्चा छ रे भनेर जानु भयो , यो नानीको कोही छैन सेफ हाउसमा राख्नु पर्र्छ जस्तो छ । मैले पठाईदिनुहोस् न हामी राख्छौं नी भने । केही बेरमा प्रहरीले सानी बच्चीलाई लिएर आयो । गाडीबाट बोकेर झार्यो । मैले सोधे हिड्न सक्दैन ? उसलाई धेरै नै गाह्रो भको छ । हामीले भित्र लग्यौं । नानीको अवस्था हेर्दा कति दिन देखि खान नपाएको, धेरै थकित र विरामी जस्तो देखिन्थ्यो । खाजा खुवाएर सुत्न भने । केही छिन पछि सेफ हाउसको बैनिले नानीलाई धेरै नै ज्वरो आएको भन्नु भयो । गएर हेर्दा उनलाई १०२ ज्वरो थियो ।

हामी आतियौं साँझ भैसकेको थियो । फेरी कोविडको महामारी । लकडाउनको अवस्था । हामीले हतार हतार हस्पिटल लग्यौं । इमरजेन्सीमा राखियो । ज्वरो वेस्सरी थियो । नानीको यौनाङ्ग क्षतिविक्षत रहेछ । ज्यानभरी विमिरा नै विमरा । खुट्टा काटेको । सायद यही घाउँको पीडाले होला ज्वरो आएको भन्ने भयो । नानीलाई भर्ना गरेर २ दिन राख्यौं । उनी उठेर हिड्न सक्दिनथिन । पिसाब आएपछि रुन्थिन, सायद पिसाब फेर्दा उनको घाउ दूख्दो हो । उनी ३, ४ वर्ष हुँदा आमाले छोडेर गएकी रहिछिन् । आमाको अनुहार पनि याद छैन उनलाई । बाबुले हरेक रात उनलाई सुत्न नदिने रहेछ । उनको यौनङ्ग खेलाउने, आफ्नो लिङ्ग चलाउन लगाउने । रातभरी विभिन्न माध्यमबाट उसले यौनसन्तुष्टि लिने गरेको रहेछ ।

नानीलाई यो कसैलाई नभन्नु भनिस भने मार्दिन्छु भनेर धम्कि दिने रहेछ । नानीले छिमेकीहरुलाई भनेकी पनि रहिछिन तर कसैले बोल्ने हिम्मत गरेन । पहिला पहिला बाहिर बाहिर चलाउने गरेकोले उनलाई त्यत्ति पीडा भने भएको थिएन तर त्यो रात उनको यौनाङ्गमा बाबुले लिङ्ग पसाएर जबरजस्ती करणी गर्यो । उनी रोइन कराईन तर पनि उसले छोडेन । भोलीपल्ट नजिकै रहेको पुलिस चौकी गएर नानी आफैले प्रहरीलाई अक्कल मेरो बाबालाई थुनिदिनु न मेरो बाबाले मलाई यसो गह्रो भनेर रोएपछि घटना बाहिर आयो ।

घटना नं ३ ः साँझ भैसकेको थियो, प्रहरीले एकजना १४,१५ वर्षको नानीलाई सेफ हाउसमा लिएर आए । नानीघर छोडेर केटासंग भागेकी रहिछिन् भेटेर लेराको, अभिभावक आएका छैनन् भोली आएसी बुझाउने आज राखिदिनु पर्यो भनेर छोडेर जानु भयो । बेलुका नानीले खाना खान मानिनन् । मलाई लाग्यो यीनलाई अलिकति संझाउनु पर्यो किन भागेको भनेर भन्ने लागेर कुरा गर्न थाले । उनी बेस्सरी रोइन र भनिन् “ दिदि मा बाँच्नै नसक्ने भएर भागेको , कतिदिन बाउ स्वास्नी भएर बाँचु ? मलाई कहिले देखि बाउले जबरजस्ती गर्यो त्यो थाहा छैन तर म ५ वर्ष हुँदा देखि मलाई याद छ । कति पटक त्यो गनेर साध्यै छैन ।

हरेक २,३ दिनमा मैले बाउसंग सुत्नु पर्थ्यो । आमाले पनि धेरै पटक देख्नु भएको छ । पहिलो पटक देख्दा आमाले बाउलाई गाली गर्नुभयो । म अध्यक्षको मा जान्छु र भन्छु भनेर आमा हिड्नु भयो तर बाउले ठुलो स्वरले कराएर मारिदिन्छु विजोक बनाईदिन्छु भनेपछि आमा जान सक्नु भएन । त्यसपछि आमाले वास्ता गर्न छोड्नु भयो । आमा सुतेपछि मसंग आएर बाउ सुत्थो, आमा कतै काम गर्न जाने वित्तिकै बाउले मलाई त्यसो गथ्र्यो । मलाई थकाई नलाग्ने औषधी भनेर खुवाउँथ्यो तर त्यो बच्चा नबस्ने औषधी रहिछ त्यो पनि आमाले भनेपछि थाहा पाए । आमाले पनि सधै वाउको स्वास्नी, सौता भनेर गाली गर्नुहुन्थ्यो । मैले २ पटक आत्महत्या गर्ने कोसिस गरे तर सकिन । अति भएपछि गाउँमा काम गर्न आएको बाहिरको एकजना केटासंग भागे । मैले उसलाई देखेको पनि एक हप्ता मात्रै भएको थियो । बाउको स्वास्नीहुनु भन्दा बरु भाग्छु भनेर भागेको हो ।
यी केही प्रतिनीधि घटना मात्रै हुन् । तर यस्ता थुप्रै घटना छन् जो आफ्नै बाउबाट छोरीहरु जबरजस्ती करणीको शिकार भएका । पत्याउन पनि गाह्रो हुन्छ, सुन्न पनि सकिदैन । उनीहरुको कथा सुनिरहँदा छाती गह्रौ हुन्छ, सबै पुरुषसंग घृणा लागेर आउँछ । बाबु शब्द त्यक्ति सम्मानित शब्दप्रति घृणा लाग्छ । आखिर कसरी आफ्ना अवोध छोरीहरु प्रति पनि यौनआंकक्षा आउँछ ? श्रीमतीसंगै हुँदा समेत छोरीहरु प्रति त्यस्तो भावना कसरी पैदा हुन्छ ? कहाली लाग्छ संझदा र सुन्दा पनि ।

बुबा जो संरक्षक हो , जसले आफ्ना छोरा छोरीको भविष्य सुखका लागि आफ्नो सम्पूर्ण जीवन खर्च गर्छ तर त्यही बाउको मनमा यस्ता घृणित भावना कसरी आउन सक्छ ? कसरी विश्वास गर्ने हरेक छोरीले आफ्नो बाउलाई ? अनि समाज तिनै बाउको पक्षमा उभिन्छ र भन्छ यो हुनै सक्दैन । यो आरोप मात्रै हो , यस्तो पनि हुन्छ र ? अनि निर्धक्क हामीलाई गाली गर्छ । महिला अधिकारकर्मीको काम छैन, डलर खानलाई घटना बनाउँछन् । घटना उठाए बापत यिनीहरुले पैसा पाउँछन् , आफु चरित्रहिन छन् अनि अरुको चरित्र पनि रहन दिदैनन् आफ्नो घर विगारेर अरुको घर पनि विगार्छन……………………….. अरु त तपाईहरुले नै सुनिहाल्नु भएको छ के के भन्छन् भनेर । हो हामी अवोध वालिकाहरुको चित्कारलाई निमोठेर छोपिएको त्यो इज्जतलाई इज्जत संझनौ र बाहिर ल्याएर च्यात्न खोज्छौं । समाज कहिलै यी निर्दोश वालिकाको पक्षमा भएन । १७ वर्षको यो अनुभवमा एउटा पनि त्यस्तो फोन आएको छैन जुन यी वालिकाहरुको न्यायका लागि सहयोग पुगोस् । आएको छ त त्यो मुद्दा दर्ता नगर्नका लागि, पैसा दिएर छोड्नका लागि । अहिले देशमा संघिय संरचना लागु भएको छ । गाउँगाउँमा सिंहदरबार छ । लागेको थियो अब यी वालिकाहरुको न्याय, लालनपालन र शिक्षाका लागि गाउँको सिंहदरबारले केही गर्ला तर झन सिंहदरबार त उही समाज जस्तै नानीको विपक्षमा पो रह्यो त । हामी जनप्रनिनिधीलाई नसोधी को हो त्यो केस दर्ता गर्ने, हाम्रो अनुमति नलिने यस्तै यस्तै । अनि प्रहरी वा हामीलाई धम्क्याउन यो जनप्रतिनिधीको विल्ला पावरफूल बनेको छ ।

एउटा पनि कुनै घटना छैन जहाँ जनप्रतिनिधिले मेरो नगरको वा गाउँको घटना रैछ म वालिकाको पालन पोषण र शिक्षाको लागि यसो गर्छु भनेको होस् । हामीले यो कुरा उठायौं भने उहाँहरुले भन्नु हुनेछ हामीलाई थाहै छैन, कस्ले भनेको छ र ? आफ्ना हरेक नागरिकका घरघर सम्म सरकारका प्रतिनीधि पुग्छन्, हरेक दुख सुखमा सरकार हुन्छ भनेर संघियता लागु भएको हो , गाउँ गाउँमा सिंहदरबार आएको हो तर यो सिंहदरबारलाई बाटो खन्ने भन्दा बाहेक अरु कुराले कहिलै छोएन र छुन सकेन । यी अवोध वालिकाहरुको पीडाले त झन अलिकत्ति पनि छोएको छैन ।

आफ्नै रक्षक भन्ने बाबु नै भक्षक भएपछि अरु कस्को आशा गर्ने यिनीहरुले । सरकारसंग कुनै त्यस्तो नीति तथा कार्यक्रम छैन जसले यस्ता पीडित वालिकाहरुको भविष्यको बारेमा सोचोस । आफ्नो अभिभावक अभिभावक हुन सकेन राक्षस भयो कम्तिमा यिनका लागि राज्यले त अभिभावकत्व लिन सक्थ्यो नी तर खै यसको बारेमा कस्ले बुझाईदिने र सरकारलाई ? प्रधानमन्त्रि र मन्त्रिहरुलाई ?

२०७७ असोज १३ गते प्रकाशित

Loading...