Tue. Apr 20th, 2021

यात्री

मुक्तिकला लामिछाने (सरु)

अनगिन्ती चोटका आहलहरूमा
म मरूभूमी जस्तै रूखो निर्झर भएर
नारी सत्ताको खोजमा
आफ्ना अनवरत यात्राको तय गर्दै
लगाइएका लगामहरूलाई
निर्वादरूपमा छुटाउन
अनि , टुटाउनको लागि
ध्रवसंकल्प लिएर कुनै तपस्वी जस्तै
महान लक्ष्य लिएर
भट्किएका आत्माहरूको समन गर्न दृढनिश्चय लिएर
बढ्दै छ यो यात्रा ।

सदिऔँको तिस्कार, तितीक्षाका परीक्षामा
कहिले सफल त कहिले असफलका भोगाईहरूले
काटिएका पखेटाहरू लिएर
स्मृतिको पर्खालहरूमा
आर्तनादका सिंढीहरू चढ्दै,
पीडाका दहभित्र
चुर्लुम्म डुवाएकी छौँ ।
तर अपसोच तिमी मेरै जाती हौँ,
तिमी मेरै हिस्सा हौँ,

सत्तासीन मायावी महलमा
रमाउने तिमी
झुपडीका दर्दनाक कोलाहल भित्र
अभावको मझेरीमा
लहरिन सकिनौँ
त्यसैले त उत्पीडक बन्यौँ,
अनि उत्पीडितको भोक बन्यौ ।
मैले हर प्रयास गरे तिमीलाई रोक्न,
तिमी रोकिनै चाहिनौ,
अनविज्ञताको ढ्वाङमा
धेरैलाई झुक्यायौ
परजीवी बनायौँ, शासकीय उन्मादमा
दवायौँ आफ्ना कलुषित वाणीले
स्वाभिमानमा रमाउन चाहने
निस्छल प्राणीलाई
दवायौ उसको सम्वेदनालाई

पुरूषत्वको पोस खुवाएर
मत्ताइएको छ तिमीलाई
जहाँ पनि जान सक्छौ सबैतिर छुट छ तिमीलाई प्रतिबन्ध छैन
त्यसैले पिजडा भित्रको भोगाइ
के थाहा तिमीलाई ।

योगी जस्तै भए पनि
अब रोकिने छैनन् यी पाइलाहरू
पुग्नेछु गन्तब्यमा
बनेर एउटा सफल यात्री
हेलिने छैन अब भेलसँग सारथि भएर
चुम्नेछु उन्मुक्तिको आकाश
खोज्नेछु स्वतन्त्र नारीसत्ता
लड्नेछु अब निडर बनी
चाहे बाधक बनोस् आफ्नै जाति
हुनेछैन अब अर्को कुनै लक्ष्य
मेरो निश्छल स्वाभिमान भन्दा माथि ।।

लेखक आर्दश बहमुखी क्याम्पस गजुरीमा अध्यापन गराउनुहुने शिक्षिका हुनुहुन्छ

२०७७ असोज १९ गते प्रकाशित

Loading...