Sat. Oct 31st, 2020

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज मतदान हुँदै

२० असोज ,बुटवल –

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबार प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् । बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ । प्रदेशसभा बैठक मंगलबार दिउँसो १२ बजेका लागि बोलाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बिहान साढे आठ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको छ । पार्टीका प्रमुख सचेतक सहसराम यादव र सदस्य पुर्मती ढेंगा मगरले संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले मंगलबारको बैठकमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने बताए । ‘आज मतदान प्रक्रियाबाट स्थायी राजधानी र नामको टुंगो लाग्छ,’ उनले भने, ‘प्रस्तावको पक्षमा दुई तिहाईभन्दा बढी मत प्राप्त हुन्छ ।’ मंगलबारको बैठकमा अन्य थप कुनै कार्यसूची नहुने उनले बताए ।

२०७७ असोज २० गते प्रकाशित

Loading...