Sat. Oct 31st, 2020

महिलाको यौनिकतामाथि नियन्त्रणको श्रृखला

राधिका सापकोटा

एकजना उपप्रमुखको फोन आयो , राधिका जी एकजना एकल महिलालाइ घरमा बस्न दिइएन , अरु संग लागेको आरोप लगाएको छ परिवारले । मैले छलफल गराउन खोजे तर छलफल गराउने वातावरण नै भएन । उहाँको १६,१७ वर्षको छोरा छ छोराले समेत उहाँलाई तथानाम भन्छ । मैले सकिन है जिल्ला पठाए ।

भोलीपल्ट उहाँ आउनु भयो । उमेरले ४२ वर्ष पुगेपनि दुख हण्डर र ठक्करले उनी करिब ५० वषर््ाको जस्तो देखिन्थिन । आउने वित्तिकै उनले आफ्नो कुरा शुरु गरिन् । लाग्थ्यो उनलाई आफ्ना मनभित्रका सबै सबै कुरा बाहिर पोखेर आफुलाई खाली बनाउनु छ , रित्याउनु छ आफुलाई र सन्चो बनाउनु छ । श्रीमानको मृत्यु भएको १२ वर्ष भयो । छोरा पालेर सबै सृष्टी धानेर बसेको थिए । करिब १ वर्ष ६ महिना जति भयो होला । मलाई मेरो ससुरा सासु र कान्छो ससुरा, माइलो ससुरा, सासुहरु भएर एकजना तामाङसंग लागेको बात लगाए । कुटपीट दुर्व्यहार गरेर मलाई घर निकाल गरे । मैले म निस्कदा छोरालाई पनि लिएर निस्कन खोजेको थिए तर दिएनन् । म केही समय माइती, दिदिको घर , मामा घर बसे । घरमा नावालक छोरा छ ,छोराको विजोक हुन्छ म वाहिर बसे भन्ने लागेर फेरी दिदिलाई साथी लिएर म घर आए । घर आउदा सासु ससुराहरु र देवरहरु मिलेर मलाई र दिदिलाई बाधेर कुटपीट गरे ।

हामीले प्रहरीलाई फोन गर्यौं र प्रहरीले हाम्रो उद्दार गर्यो नत्र सायद मार्थे होला । म घरमा छोरासंगै आफ्नो सम्पत्ति स्याहारेर बस्न चाहान्छु तर उनीहरु मलाई पोइल गको भनेर भन्छन् र घरमा बस्न दिदैनन् । एकै सासमा आफ्ना सबै पीडा र कहाँनी भनिन उनले । कुरासंग संगै उनका आँखाबाट उत्ति नै आँसु बगिरहेका थिए । हामीले प्रहरीमा निवेदन दियौं । प्रहरीले सबै जनालाई झिकायो छलफलको लागि । प्रहरीमा छलफल शुरु के भएको थियो , सबै जना एकै पटक खनिए । उनीहरु प्रमाणित गर्न खोजिरहेको थिए, उनी पोइल गएकी हुन् भनेर तर कुनै प्रमाण थिएन उनीहरुसंग । उनीहरु यति समय कहाँ बसेको भन्ने प्रमाण माग्दै थिए । कुरा आमा छोराको हो भन्ने भएपछि छोरालाई आमाले भनिन् बाबु तिमी सानो हुँदा नी तिम्रा बाबु मरे, म पोइल जाने भएत उमेरमा जान्थे नी किन यो बुढेशकाल पर्खेर बस्थे ।

मेरो एउटा ज्यान म जहाँ गएर नी पाल्थे तर तिमी आमा हुँदा हुँदै टुहुरो भयौं, तिम्रो विचल्ली भयो भनेर म फर्केको हो । तर छोरा यो सब सुन्ने पक्षमा थिएन । ऊ तिमी पोइल गएर सम्पत्तिको लागि आएको भन्दै थियो । ऊ आमाले १६ वर्ष पालेको, हुर्काएको हिसाब छोडेर डेड बर्ष हजुरबा आमाले पालेको महगों हिसाब पेश गर्दै थियो । उ बार बार भन्दै थियो । तिमीलाई मैले स्विकारे कै थिए, घरमा राखेकै थिए, संरक्षण गरेकै थिए किन पोइल गयौं त । म अवाक भएर सुन्दै थिए । यो कस्तो संस्कार दियौं हामीले एउटा १६ वर्षको छोराले आमालाई स्विकार गरेको ? पालेको ? संरक्षण गरेको ?

ऊ भन्दै थियो अब म तिमीलाई स्विकार्दै स्विकारदिन, तिमी घर गए म आत्महत्या गरेर मर्छु । उसको कुरा सुनेर हामी अवाक थियौंं , जसले उसलाई यो सब पढाएका थिए उनीहरु आफु सफल भएकोमा मुसुमुसु हाँस्दै थिए । आमा संझाउने प्रयासमा थिइन छोरालाई तिम्रो विजोक हुन्छ, तिमी सानै छौं, तिमीले यो समाज बुझेका छैनौं जुन दिन बुझ्छौं त्यो दिन तिमीले मलाई पाउँदैनौ तर उ आमाको कुरा सुन्न खोजिरहेको थिएन । ऊ बारबार आमालाई पोइल गएकी प्रमाणित गर्न चाहीरहेको थियो । छोरा अब पछि हट्दैन भन्ने पक्का भएपछि, यो युद्ध छोराले नै जित्छ भन्ने पक्का भएपछि समाज पछि हट्यो र अघि लगायो एउटा कलिले बच्चालाई । उसले आफ्नी आमा लान्छ भने हामीलाई केही छैन हामी त बाहिरको मान्छे हो ।

पितृसत्ताले भरपुर प्रशिक्षित गरेर युद्धमैदानमा छोडेको त्यो योद्धा विचल्लित हुने कुरै थिएन । आमाको १६ वर्षको ममताले हार्यो , मातृत्वले हार्यो, आमाको दुधले हार्यो । अन्तिम निष्कर्ष आमा घर गए आफु आत्महत्या गर्ने निर्णयसंग पुरुषत्वले जित्यो , आमाको ममताले हार्यो । आँशु झारेर फेरी पनि ति आमाले भनिन बाबु जुन दिन आमा चाहिन्छ त्यो दिन संझेर दुख पर्दा तेरी आमा छ । म आफ्नो प्रश्रव पीडा संझेर टेबुलमै छटपटाउँदै थिए, आँखाबाट आँसु बगिरहेका थिए । मैले जस्तै प्रश्रव पीडामा यी आमाले पनि कति सपना बुनेकी थिइन होला, त्यो छोरा जन्मेर उसको मुहार हेर्दा उसकै मुहारमा आफ्नो भविष्य सजायँकि थिइन् होला । श्रीमानको मृत्युपछि पनि आफ्ना सबै इच्छा चाहानालाई उनले त्यही छोराको अनुहार हेरेर भुलिन होला तर आज त्यही छोराले उनको चरित्रमाथि प्रश्न उठायो । उनको यौनिकतामाथि आफ्नो नियन्त्रण जताउन खोज्यो र खोज्यो पृत्तिसत्ताको कठिबद्ध पहरेदार बन्न ।

लामो समय देखि नेपालको महिला आन्दोलनले मेरो शरिर मेरो अधिकारको मुद्दा उठाईरहेको छ । नेपाल लगायत संसार भरी नै महिलामाथि हुने हिंसाको कारणलाई हेर्ने हो भने महिलाको शरिर माथिको अधिकार नहुनु नै हो भनिन्छ । महिलाको यौनिकताको निर्णय महिलाले हैन अरुले नै गर्छ । एउटा महिला जब सम्म छोरी हुन्छे तब सम्म उसको यौनिकतामाथि उसको बुबा, दाजु वा काका मामाले नियन्त्रण गर्छन । को संग वोल्ने, को संग हिड्ने वा कोसंग विवाह गर्ने सबै सबै खाले निर्णय एउटा छोरी हैन उनका घरमा पुरुषहरुले नै गरिदिन्छन् ।

विवाह पछि महिलाको यौनिकता माथिको नियन्त्रण उनको श्रीमानको हुन्छ । महिलाको यौनिकता श्रीमनको नीजि सम्पत्ति हो उसले आफ्नो नियन्त्रण भन्दा एक इन्च पनि त्यसलाई बाहिर जान दिदैन । श्रीमानको मृत्युपछि महिलाहरुको यौनिकता छोराहरुको नियन्त्रणमा हुन्छ । कुनै पनि समय वा कुनै पनि कालखण्ड यस्तो छैन जहाँ महिला स्वतन्त्र होस् ।

जहाँ महिलाले आफ्नो शारिर आफ्नो अधिकारको प्रयोग गर्न पाओस । केही समय अघिको एउटा घटनाले महिलाको यौनिकतामाथिको नियन्त्रणको सृखलाले मन पोलिरहेको छ । कसरी अन्त्य हुन्छ यो सृखलाको भनेर चिन्तित पनि बनाईरहेको छ । एकल महिलाहरु यसरी आफ्नै छोराहरु बाट यो उमेरमा सम्म लान्छानामा पर्नुपर्ने भएपछि उनीहरुको जीवन कसरी बाँच्न सक्छ ? उनीहरुको खुसी अनि उनीहरुको भविष्य के हो ? एकपटक गभ्भिर हुनुपर्ने भएको छ ।

२०७७ असोज २५ गते प्रकाशित

Loading...