Thu. Mar 28th, 2024

कोभिडले निम्त्याएको सामाजिक विभेद

कोभिडको परीक्षणको लागि सर्वसाधारणको स्वाव संकलन गर्दै स्वास्थ्यकर्मीहरु

संक्रमितहरु भन्छन्, ‘कोरोनाले भन्दा हेलाँ र तिरस्कारले झन विरामी बनायो ।’

४ कार्तिक , धादिङ / मनिष दुवाडी-

कोरोना (कोभिड १९) ले विश्व नै तहसनहस अबस्थामा छ । नेपालमा पनि पछिल्लो समय नयाँ संक्रमण दर बढ्दो छ । दैनिक ३ हजार÷३५ सय को हाराहारीमा नयाँ संक्रमति हुनेहरु देखिएका छन् । त्यसो त रोग लागेर निको हुनेहरु पनि बढ्दै गइरहेका छन् । कोरोना एउटा सरुवा रोग भएकाले एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्न सक्छ । त्यसैले यो रोग लाग्न नदिनका लागि सामाजिक दुरी कायम गर्नुपर्छ भनेर सरकारले टेलिफोन, टेलिभिजन, रेडियो पत्रपत्रिकाहरुबाट नियमित सुचना जारी गरिरहेको छ ।

हिजोआज कोरोना रोगी हरेक गाउँका कुना कुनामा पनि भेटिन थालेका छन् । सचेत रहँदा रहदै पनि समुदाय स्तरमा नै रोग बाक्लो रुपमा फैलिन थालिसकेको छ । संक्रमितहरुलाई कोरोनाको रोगले भन्दा पनि रोग संगै भित्रिएको दुब्र्यब्यहार, लान्छना र छिःछि दुरदुरले बढी तनाव दिएको कोरोना संक्रमणपछि निको भएर घर फर्किएकाहरुले बताएका छन् ।

कोरानालाई पराजित गर्नको लागि आत्मविश्वास बलियो बनाउनुपर्छ भनेर संचारमाध्यमहरुमा विज्ञहरुले भनिरहेकै छन् । संक्रमितलाइ ढाढस दिनु, सान्त्वना दिनु त परको कुरा गाउँघर र छरछिमेकीबाट संक्रमित र तिनका परिवारले भोग्नुपरेको तितो यथार्थले हाम्रो समाजको बास्तविकतालाइ राम्रोसंग देखाइदिएको छ ।

नीलकण्ठ ७ निवुवाँस्वाराका रमादेवी कोइरालालाइ कोभिड–१९ कहिल्यै विर्सन नसक्ने क्षण बन्यो । उनी आँफै संक्रमित त थिइनन् नै तर पनि त्यो वेलाको कुरा सम्झिदै गर्दा आँखाबाट आँसु खसालिन् । संक्रमण भएको थियो रमाको श्रीमान परशुराम कोइरालालाइ तर रमाले भोगिन सामाजिक विभेद ।

अन्यत्रै जिल्लामा रहेका परशुराम लकडाउन लम्विदै गएपछि जेठको दोस्रो साता तिर घर फर्किए । लकडाउनमा कडाइ गरिएकाले अनिवार्य क्वारेन्टीन बस्नुपर्ने थियो । भन्नेवित्तिकै पिसिआर सवैको हुदैनथ्यो त्यो बेलामा, १४ दिनको क्वारेन्टीन बसाइपछि गरिएको पिसिआरको चेकजाँचमा परशुरामको कोभिड रिपोर्ट पोजेटिभ देखियो । फेरी १४ दिनको लागि आइसोलेसनमा बसे । सदरमुकामको क्वारेन्टीनमा रहेका श्रीमानलाइ पोजेटिभ देखिदा यता घरमा रहेकी रमाको दुःखद दिन सुरु भयो ।

रमाले भनिन्, ‘दुइ पटक गरेर उहाँ एक महिना जति आइसोलेशन र क्वारेन्टीनमा बस्नु भयो । त्यही गएर मैले श्रीमानलाइ बाहिरबाटै भेटे, उहाँलाइ कोरोनाले शारिरिक केही असर गरेको थिएन, मलाइ पनि खासै केही अनौठो लागेन यो रोग लागेको भनेर । तर घर आइपुगेपछि थाहा पाए कोरोनाको असर कस्तो हुदो रहेछ भनेर ।’

‘नाम त कसैको पनि नलिउँ, गाउँले छर छिमेकी यसको बुढालाइ कोरोना लागेको भनेर म हिडेको बाटो हिडेनन्, घरमा चामल सकिँदा पैचो नदिदा भोकै भएँ ।’ रमादेवीले भनिन्, ‘ घरमा लाइटर विग्रिएर आगो फुक्न नपाउँदा लाइटर÷आगो समेत दिएनन् । काठमाण्डौबाट छोराले एक जना छिमेकीलाइ फोन गरिदिएर आमा भोकै भएको कुरा सुनाइदिएपछि तिनले ल्याइदिएको विस्कुट खाएर समेत छाक गुजारेँ ।’

श्रीमान आइसोलेसनमा बसेको १५ दिन काट्न १५ महिना जत्तिकै भएको रमादेवीले बताइन् । फोन गरेर नआत्तिउ केही हैन, निको हुन्छ भनेर सान्तना दिने मान्छेहरु पनि भएपनि हजार सान्त्वना भन्दा एउटै हेलाले मन दुःखाएको रमाले गुनासो गरिन् ।

‘कोरोनाको विरामीसंग लसपस गर्नुहुदैन, सामाजिक दुरीमा बस्नु पर्छ भन्ने पो हुन्छ त ।’ रमाले भनिन्, ‘तर बाटै नहिड्ने घरपटि नै नफर्कने पनि सामाजिक दुरी होला त ? त्यहीमाथी संक्रमित ब्यक्ति घरमा भए पनि हो मानिसहरुले रोग सर्छ भनेर टाढा भए भन्नु, श्रीमान उता छन्, मैले यहाँ पाएको पिडा भनिसाध्य छैन ।’

अहिले दिनहुँ संक्रमितहरु बढिरहेको समाचार रेडियोले भन्छ । तिनका परिवारहरुले पनि कस्तो पीडा भोगिरहेका होलान भन्ने लागेको रमाले बताइन् । रमाको अनुभव छ, ‘रोगले भन्दा पनि गाउँलेले गर्ने दुब्यवहारले मानिसलाइ झनै विरामी बनाउने रहेछ । यस्तो रोग कसैलाइ नलागोस, मलाइ जस्तै पीडा कसैलाइ नहोस ।’

त्यस्तै धादिङवेशीमा ब्यवसाय गरेर बस्ने होटल ब्यवसायी ठाकुर बुर्लाकोटीलाइ आकस्मिक रुपमा काठमाण्डौ जाने काम परेर नागढुङ्गामा चेक गराउँदा कोभिड पोजेटिभ देखियो । एउटै गाडी चढेर हिँडेका साथीहरुलाइ सवैलाइ नेगेटिभ आएको थियो उनीलाइ मात्रै पोजेटिभ आएपछि सूरुमा आत्तिए ।

कोभिडलाइ पराजित गरेपछि हँसिलो मुद्रामा बुर्लाकोटी दम्पती

उनले घरपरिवार र उनको ब्यवसायमा रहेका सवै कर्मचारीहरुको जाँच गराए, कसैलाइ पनि संक्रमण देखिएन । उनी आफ्नै होटलको एउटा कोठालाइ आइसोलेशन बनाएर बसे । सवैकुरा ठिकठाकै थियो तर चितवनबाट आएको एउटा फोनले झस्किए । बुर्लाकोटीले भने, ‘मलाइ त्यस्तो कुनै लक्षण थिएन, कुनै समस्या थिएन, तर मेरो र परिवारको काठमाण्डौको हस्पिटलको आइसीयुमा उपचार भइरहेको हल्ला फिजिएछ बजारमा ।’

सधै भेट्ने केही साथीहरुले फोनमा समेत कुरा गर्न अप्ठ्यारो मानेको अनुभव छ बुर्लाकोटी संग । रिपोर्ट पोजेटिभ आउनु अघिल्लो दिन होटलमा संगै चिया खाएका केही साथीहरु २ महिनासम्म होटलमा फर्किएनन् । बुर्लाकोटीले भने, ‘आफु सजग र सुरक्षित हुनु राम्रो कुरा हो, तर विरामीको विषयमा अनावश्यक हल्ला गर्नु, विरामीलाइ छि छि दुरदुर गर्नु त अपराध नै हो नी ।’

पहिले पहिले कोभिडको विरामी भेटिदा सरकारले नाम किन गोप्य राखेको होला भन्ने लागेको भएपनि आँफैलाइ कोरोना लागेपछि भागेको सामाजिक ब्यवहाराले भने नाम गोप्य राख्नै पर्ने रहेछ भन्ने थाहा पाएको बुर्लाकोटीले बताए ।

‘हो नजिक हुनु हुँदैन, दुरी कायम राख्नु पर्छ तर दुरी कायम राख्ने भनेर अनावश्यक हल्ला फैलाउनु, विरामीको मनोवल गिराउनु त विरामीलाइ झनै मानसिक तनाव दिनु हैन र ?’ बुर्लाकोटीले भने, ‘जे होस कोरोना रोगले हामी कत्तिको सामाजिक प्राणी रहेछाँै त भनेर चिन्ने अवसर दियो । नियमित स्वास्थ्य ब्यायम खानपान र आत्मविश्वासले कोरोनालाइ जितियो र मान्छेहरुको स्वभावलाइ चिनियो पनि ।’

त्यस्तै पेशाले शिक्षक नीलकण्ठ ३ धादिङवेशीका रामहरि कोइराला असोजको पहिलो सातामा श्रीमती सहित संक्रमित भए । होम आइसोलेशनमा बसेर कोरोनालाइ भर्खरै जितेका कोइरालाले भने, ‘रोग भन्दा ठुलो तनाव त अरुको सोचाइ र भेदभावले दिने रहेछ रहेछ । कतिसम्म भने मेरो रिपोर्ट पोजेटिभ आएको थाहा पाउने वित्तिकै बजार भन्दा अलि पर रहेको मेरै घरमा समेत बस्न नआइज भनेर छिमेकीहरुले भने । विरामीलाइ यो भन्दा ठुलो मानसिक असर अरु के हुन्छ होला र ?’

किन हुन्छ विरामीलाइ हेँला ?
नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका संयोजक विष्णु रिजालले आम मानिसहरुको बुझाइमा कमी रहेकाले कोरोना संक्रमितहरु र तिनका परिवारले सामाजिक विभेद भोग्नुपरेको बताए । नेपालमा यसको संक्रमण हुनु भन्दा अघि नै संचारमाध्यमहरुले विदेशका कोरोना विरामीहरुको अवस्थालाइ आतङिकत गर्दै प्रस्तुत गरेकाले पनि आम मानिसको बुझाइमा कोरोना हाउगुजी बनेको उनको तर्क छ ।

रिजालले भने, ‘यो सामान्य रोग त हुँदै होइन, यसबाट जो कोही पनि सचेत हुनु नै पर्छ, यसबाट बच्न एक अर्काबाट टाढा हुनु नै पर्छ, मास्क लगाउनुपर्छ तर संक्रमितहरुले जुन विभेदको समस्या भोगेका छन् त्यो खाले टाढा होइन ।’

कतिपय विरामीहरु अस्पतालमा चिकित्सकको निगरानीमा रहेर पनि निको भएको उदाहरण दिँदै रिजालले भने, ‘यदि विरामीलाइ हेँला र छिछि दुरदुर गर्नु नै कोरोनाबाट बच्ने समाधान हो भने त डाक्टरहरुले कसरी उपचार गर्थे होलान्, सजग र सचेत हुनु राम्रो हो तर सामाजिक बहिस्कार नै गर्नुपर्ने कुनै अपराध होइन कोभिड पोजेटिभ हुनु भनेको ।’

अहिलेसम्म कोभिडको कुनै औषधी पत्ता नलागेकाले रोग निको पार्न आत्मवल बलियो बनाउने नै पहिलो कुरा रहेकाले विरामीको आत्मबल गिराउने गरि गाउँ समाजमा कुनैपनि त्यस्ता गतिविधिहरु नगर्न संयोजक रिजालले आग्रह गरे ।

(नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) ग्लोवल को सहयोगमा तयार गरिएको)

२०७७ कार्तिक ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: