Thu. Dec 3rd, 2020

परिवार र आफन्तबाट नै बलात्कारका घटना बढ्दो


सरिता श्रेष्ठ/ धादिङ, कात्तिक ३ –


ज्वालामुखी गाउँपालिकाकी १७ वर्षीया किशोरी आफ्नै काकाबाट बलात्कृत भएको घटना बैशाख ११ गते बाहिरियो । पटक पटक बलात्कार गर्दा उनी गर्भवती भइन् । गर्भ फालेपछि घटना साम्य हुने भन्दै गाउँलेहरु पनि मुकदर्शक बने । ‘डेलिभरी डेट’ नजिकिदै गर्दा घरपरिवार र केटा पक्षले घटना लुकाउनका लागि गर्भ फाल्न धादिङ अस्पताल हुँदै चितवन पु¥याए ।

चितवनका कुनै पनि स्वास्थ्य संस्थाले बच्चा जन्मिन दुई दिन बाँकी भएको गर्भ फाल्न अस्वीकार गरेपछि पीडितलाई उतै लुकाएर राखियो । त्यसबारे प्रहरीले थाहा पाएर तत्काल चितवन प्रहरीलाई खबर ग¥यो । चितवन प्रहरीले बालिकालाई उद्धार गरी बैशाख १२ गते धादिङ ल्यायो । उद्धार गरिएको भोलिपल्टै जिल्ला अस्पताल धादिङबेसीमा ७ महिनाको बच्चालाई जन्म दिइन् । आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सिद्धलेक गाउँपालिकाकी १७ वर्षीया किशोरी आठ महिनाअघि मामा नाता पर्ने युवकबाट बलात्कृत भइन् । उनको पेटमा गर्भ छ । गाउँकै अर्का एक अधबैंसे युवालाई ‘बलात्कृत गर्भ’सहित किशोरी जिम्मा लगाउनै लाग्दा आठ महिनामा घटना बाहिरियो । प्रहरीले चासो देखाएर केटालाई पक्राउ ग¥यो । तर, परिवारले मुद्दा चलाउन चासो देखाएन । एउटा गैरसरकारी संस्थाको सहयोगमा मुद्दा दर्ता गरिएको छ । पीडित सुरक्षित आवास गृहमा छिन् । बालिकालाई गर्भमा रहेको बच्चासहित जिम्मा लिने मानिस भेटिएकाले बिहे गर्न, मुद्दा फिर्ता लिन केटा पक्ष र परिवारबाट धम्की आइरहेको छ ।

यी घटना प्रतिनिधि मात्र हुन् । बच्चा जन्माउने क्षमता र उमेर नै नपुगेका नानीहरु बलात्कारको सिकार हुनुपरेको छ । शारीरिक रुपमा परिपक्क नहुदै ‘नानीहरुले नै नानी’ जन्माइरहनु परेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाकी १४ वर्षीय बालिका छिमेकीबाट बलात्कृत भइन् । पेट बढ्दै जाँदा बल्ल थाहा भयो उनी गर्भवती रहिछिन् । गत वर्षको साउनमा बच्चा जन्माइन् र धर्मपुत्र÷धर्मपुत्रिका रुपमा दिइन् । घटनापछि समाज, परिवारको डरले घर जान सकिनन् । उनी अहिले चितवन फुपुकोमा बस्दै आइरहेकी छन् ।

बलात्कृतपछि बालिकाहरु घरबाट नै बाहिर निकालिनु परेको छ । फर्केर घर जान सक्ने अवस्था छैन र सक्दैन पनि । एक त शारीरिक रुपमा अपरिपक्क अर्कोतिर कलिलै उमेरमा समाज, घरपरिवारबाट बिस्थापित हुनुपरेको छ । बुबाले छोरी, काकाले भतिजी, मामाले भान्जि, हजुरबुबाले नातिनी, दाईले बहिनी, आफन्त छरछिमेकीबाट हुने बलात्कारका घटनापछि बालिकाहरुमा ओँठको हाँसो र अनुहारको निश्चलता गुमेको छ । फूलजस्ती बालिकामाथि कल्पना पनि गर्न नसकिने बलात्कारको घटनाले समाजलाई नै गिज्याएको छ ।

माया र स्नेह गर्ने बाबुबाटै गहिरो चोट पाएकी ती बालिकाले न आफ्नो पढाइलाई अगाडि बढाउन सकिन्, न उमेरजन्य परिपक्वता नै उनीमा हुर्किंदै गयो । पढ्दै गरेकी ती बालिका अभिभावकको मायाबाट त बञ्चित भइन् नै, घरपरिवार, आफन्तहरूबाट समेत टाढा भइन् । लज्जाको विषय, बलात्कारबाट पीडित हुने भने सधंै हुर्किँदै गरेका, भर्खरमात्रै सपना देख्न थालेका कलिला बालिकाहरू भइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ मा जवरजस्ती करणीका २१ वटा, जबरजस्तीकरणी उद्योगका ११ वटा मुद्धा दर्ता भएका छन् । त्यस्तै आ.व २०७५÷७६ मा जवरजस्ती करणीका २८ वटा, जबरजस्तीकरणी उद्योगका ११ वटा र बाल यौन दुव्यवहारका ५ वटा दर्ता छन् । आ.व २०७६÷७७ को जेठ महिनाभित्र जवरजस्तीकरणीका ३२ वटा, जबरजस्तीकरणी उद्योगका १६ वटा र बाल यौन दुव्यवहारका २ वटा दर्ता भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता रुपक खड्काले जानकारी दिए । तथ्याङक हेर्दा आफ्नै घरपरिवार र चिनजानकै मानिसहरुबाट घटना भएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

लोभ, करकाप र परिबन्दमा पारेर कलिला नानीहरूमाथि झम्टिने प्रत्येक घटना हृदयविदारक रहेको सहयात्री समाज नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता राधिका सापकोटाले बताइन् । ‘बलात्कारबाट पीडित भएका स–साना छोरीहरू न्यायिक उपचारका निम्ति बारम्बार घटनाको बयान बताउँदा मानसिक रूपमा हतास हुन्छन्’ उनले भनिन्, ‘पीडित अधिकांश नानीहरू विक्षिप्त मानसिकताको सिकार भएर बाँच्न अभिशप्त देखिन्छन्, बलात्कारको चोटभन्दा त्यसपछि आइपर्ने अनेकन अप्ठ्यारासँग जुध्न सकिरहेका देखिनन् ।’

बलात्कारको घटनामा पीडित सधैँ कमजोर हुने र पीडकलाई सधैँ समाजले संरक्षण गर्ने गर्ने हुदाँ यस्ता घटनाहरु मौलाइरहेको छ । बलात्कारको चोटमा परेका बालिकाहरूलाई मनोवैज्ञानिक रूपमै बलियो बनाउन र समाजमा पुनस्स्थापना गर्न राज्य पक्षबाट गतिलो कानुन नभएको अधिकारकर्मीहरु बताउँछन् । घटना महिनौंसम्म लुकाउने र विविध कारणले सार्वजनिक भएपछि घटना सामसुम पार्न र मिलाउन समाजका अगुवा र पीडितका परिवार उद्यत रहन्छन् ।

बलात्कृत किशोरीहरूको सामाजिक व्यवस्थापन झनै जटिल बन्ने गरेको छ। घटनापछि घरमा बस्नै नसक्ने अनि उनीहरूको सुरक्षा र जिम्मेवारी लिने निकाय पनि नहुँदा उनीहरूको अवस्था झनै दयनीय हुने गरेको सापकोटाले बताइन् । ‘बलात्कृत बालिका तथा किशोरीको बाँकी जिन्दगी के हुन्छ भनेर कसैले सोच्दा पनि सोच्दैनन्’, उनले भनिने ‘हाम्रो न्याय प्रणाली नै उल्टो छ, पीडकलाई प्रहरी सुरक्षाका साथ रासनपानी र भत्ता उपलब्ध गराएर जेलमा राखिएको हुन्छ, पीडितले हदै पाए डेढ लाखसम्मको क्षतिपूर्ति हो, त्यो रकमले उनीहरुको भविष्य सुरक्षित हुन्छ त ?’

२०७७ कात्तिक ३ गते प्रकाशित

Loading...