Thu. Dec 3rd, 2020

जनगणनाको लागि देशभर ६० हजार जनाले अस्थायी रोजगारी पाउँदै

२० कार्तिक, धादिङ –

आगामी वर्ष २०७८ मा देशभरका करिब ६० हजार जनाले अस्थायी रोजगारी पाउने भएका छन् । आगामी वि.सं. २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणनामा करिब ६० हजारले गणकका रुपमा रोजगार पाउने भएका हुन । प्रत्येक दस वर्षको गरिने जनगणनाका लागि करिब ६० हजारलाई रोजगारी दिने तयारी भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

राष्ट्रिय जनगणना कार्यमा आँकडा सङ्कलन, विश्लेषणदेखि प्रशोधनको कार्यसम्म झन्डै ६० हजार जनशक्ति लाग्ने अनुमान गरिएको छ । जनगणनाका लागि फिल्डमा मात्रै करिब ४२ हजार गणक र ९ हजार सुपरिवेक्षक परिचालन गर्ने तयारी गरिएको छ । विगतका वर्षमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई गणनाका लागि खटाउने गरिएकोमा यस वर्षदेखि बेरोजगार युवायुवतीलाई गणकको रूपमा परिचालन गर्ने तयारी थालिएको हो । उनीहरुलाई १ महिना अस्थायी रोजगारीको अवसर प्रदान गरिने छ ।

गणकका लागि १२ कक्षा र सुपरिवेक्षकका लागि स्नातक तह पास गरेको हुनुपर्ने बताए । कागजी प्रश्नावली, ट्याबलेट र विदेशमा रहेका कूटनीतिक नियोगमा ई–सेन्सस प्रणालीबाट आगामी जनगणनामा गरिने विभागको भनाई छ । राष्ट्रिय जनगणनाका लागि अनलाइनमार्फत गणक र सुपरिवेक्षकको विज्ञापन खोलिने भएको छ ।

विगतका वर्षहरुमा जस्तो यो वर्ष जनगणनामा शिक्षकलाई प्रयोग नगरिने भएको छ यद्यपि सुपरिवेक्षकमा भने शिक्षकलाई राखिने छ । गणकमा भने बेरोजगार रहेका युवायुवतीलाई प्राथमिकतामा राख्ने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ का निर्देशक डुन्डीराज लामिछानेले जानकारी दिनुभयो ।

२०७७ असोज २० गते प्रकाशित

Loading...