Thu. Nov 26th, 2020

नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो

४ मंसिर, काठमाडौ –

अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ । आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि तेस्रो संशोधन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्ने कानुनी आधार तयार भएको हो ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको खोप परीक्षणका लागि लगाउँदै दक्षिण अफ्रिकास्थित एक स्वयंसेवक ।

औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । अध्यादेशमा भने खोपको पनि क्लिनिकल ट्रायल गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै नियामक निकायले अनुमति दिएको खोपलाई नेपालमा पनि प्रयोग गर्न सकिने प्रावधान राखिएको छ । ‘कुनै पनि विदेशी मुलुकको सरकार वा सम्बन्धित नियामक निकायको अनुमतिबमोजिम क्लिनिकल ट्रायलमा रहेको खोप विकास गर्ने संस्था वा कम्पनीले त्यस्तो खोपको नेपालमा क्लिनिक ट्रायल गर्न चाहेमा नेपाल सरकारले अनुमति दिन सक्नेछ,’ अध्यादेशमा भनिएको छ ।

क्लिनिकल ट्रायल भन्नाले नयाँ औषधि तथा खोप प्रयोगमा ल्याउन उचित छरछैन भन्ने यकिन गर्न रोगी वा अन्य व्यक्तिको सहमतिमा प्रयोग गरी परीक्षण गर्नु हो । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले औषधि ऐनको दफा ३१ संशोधन गरी अन्य मुलुकमा अनुमति प्राप्त खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्न सकिने गरी अध्यादेश जारी भएको बताए । ‘यसअघि यो व्यवस्था थिएन उनले भने ।

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले अध्यादेशमा राखिएको व्यवस्थापछि खोप उत्पादन गर्ने कम्पनी वा मुलुकलाई नेपालमा पनि क्लिनिकल ट्रायलका लागि प्रस्ताव गर्न सकिने बताए । ‘कानुनी अड्चनले अहिलेसम्म कोही आउनै चाहेका थिएनन्,’ उनले भने, ‘अब आउन चाहनेलाई सरकारले स्वीकृत दिन सक्ने भयो ।’ नेपालमा क्लिनिकल ट्रायल सफल भए औषधि वा खोप चाँडै भित्र्याउन सहज हुने उनले बताए ।

२०७७ मंसिर ४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: