Fri. Mar 29th, 2024

४ महिनामा धादिङमा भित्रियो १ अर्व रेमिट्यान्स

मंसिर, धादिङ/मनिष दुवाडी-

चालु आर्थिक वर्षको ४ महिनामा धादिङको एउटै निर्वाचन क्षेत्रमा १ अर्व रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

जिल्ला सदरमुकाम धादिङवेशीमा रहेको कला इन्टरनेशनल प्रा लिको तथ्याङ्क अनुसार चालु वर्ष २०७७–०७८ को साउन देखि कार्तिक मसान्त सम्ममा मात्रै ९९ करोड ८२ लाख भन्दा बढी रेमिट्यान्स एकै स्थानबाट स्थानीयहरुले बुझेका हुन् । यो रकममा धादिङको दक्षिणी क्षेत्र अर्थात राजमार्ग क्षेत्रमा भित्रिएको रेमिट्यान्स जोडिएको छैन ।

विभिन्न रेमिट्यान्स कम्पनीहरुको आधिकारिक प्रतिनिधिको रुपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिबाट रकम बुझ्नको लागि धादिङको निर्वाचन क्षेत्र नं २ का स्थानीयहरु मात्रै आउने गरेका छन् । निर्वाचन क्षेत्र नं २ का अन्य स्थानहरुमा पनि आधिकारिक प्रतिनिधिहरु रहेपनि ठुलो पैसाको कारोवार भने कलाबाट मात्रै हुने गरेको छ ।

यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अघिल्ला आर्थिक वर्षहरुमा वर्षभरिमा साढे २ अर्व को हाराहारीमा उक्त क्षेत्रमा रेमिट्यान्स आउने गरेको थियो । अवैध हुण्डी कारोवारहरु बन्द भएको र चाडबाडको समय भएकाले पनि अघिल्लो वर्षको तुलनामा एकै महिनामा उल्लेख्य रेमिट्यान्स बढेको कला इन्टरनेशनल प्रालि का प्रवन्धक रामचन्द्र गिरिले बताए ।

उत्तरी धादिङ र मध्ये क्षेत्रका स्थानीयहरुले सदरमुकामको कला इन्टरनेशनल लगायत अन्य वित्तिय सस्थाहरुबाट रेमिट्यान्स बुझने गरेका छन् भने दक्षिणी क्षेत्रका स्थानीयहरु (निर्वाचन क्षेत्र नं १) ले राजमार्ग क्षेत्रका वित्तिय सस्था तथा काठमाण्डौबाट विदेशबाट आएको रेमिट्यान्स लिने गरेका छन् ।
कला इन्टरनेशनलको तथ्याङ्क अनुसार जिल्ला भित्रिएको कुल रकम मध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको छ ।

प्रवन्धक गिरिले भने, ‘चाडबाडको समय भएकाले पनि स्वभाविक रुपमा असोज कार्तिकमा बढी रेमिट्यान्स आउँछ, असोजको एक महिनामा मात्रै ३३ करोड ५५ लाख बराबरको रेमिट्यान्स हामी मार्फत स्थानीयले बुझेका छन् ।’

विदेशबाट आएको रकम मध्ये सवैभन्दा धेरै मलेसिया लगायत खाडी मुलुकहरु साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिटेयान्स भित्रिने गरेको छ । पछिल्ला वर्षहरुमा विदेशमा अध्ययन गर्न जाने युवाहरु बढेसंगै अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा र अन्य युरोपियन देशहरु बाट पनि रेमिट्यान्स भित्रीने क्रम हरेक वर्ष बढदो मात्रामा रहेको प्रवन्धक गिरिले जानकारी दिए ।

१ वर्षको तथ्याङ्क अनुसार चाडवाडको समय अर्थात असोज कार्तिक र माघ महिनामा धेरै रेमिट्यान्स आउने गरेको देखिएको छ भने सदरमुकाम सम्म लिन आउनको लागि ग्रामिण यातायातको असुविधाका कारण साउन महिनामा थोरै रेमिट्यान्स आउने गरेको छ ।

धादिङ को यस क्षेत्रमा कुनै पनि ठूला कल काराखाना र रोजगारमुलक उद्योग कम्पनीहरु नभएकोले यहाँ आम्दानीको मुख्य स्रोत रेमिट्यान्स नै देखिन्छ । धादिङमा रेमिट्यान्स बाट आएको रकम उपभोगका सामान, निर्माण सामाग्री, विलासिताका सामान खरिद, बालबालिकाको शिक्षादिक्षामा खर्च हुने गरेको छ ।

विदेश गएकाहरुको परिवार बालबालिकाको शिक्षा दिक्षाको लागि सदरमुकाम लगायत सुविधा युक्त ठाउँहरुमा बस्नेभएकाले विदेशबाट भित्रिएको रेमिट्यान्सको आधा भन्दा बढी रकम सदरमुकाम क्षेत्रमै सकिने गरेको सरोकारवालाहरु बताउछन् ।

विदेशबाट भित्रिने रेमिट्यान्सको अलावा सदरमुकाम धादिङवेशीबाट दैनिक ४० देखी ५० लाख रुपैयाँसम्म देशका अन्य भागहरुमा बाहिरिने पनि गरेको छ ।

२०७७ मंसिर ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: