Mon. May 17th, 2021

बालवालिकामा मानसिक समस्या बढ्दै

केशव अधिकारी

रुवीना तामाङ (नाम परिवर्तन)राजधानीको एक बिद्यालयमा पढ्दैथिइन । गतबर्ष चैतमा हतार हतारमा कक्षा ७ को परीक्षा दिएर धादिङस्थित घर फर्किएपछि उनी काठमाण्डौं फर्किएकी छैनन् । बिद्यालय जान नपाउँदा उनलाई आफ्ना धेरै साथीभाईको यादले सताउने गरेको छ । एक साता अघि बाट उनी पढ्ने बिद्यालयले भौतिक उपस्थितीमा पढाई शुरु गरेको भएपनि रुवीनाका बा आमा उनलाई तत्काल काठमाण्डौं पठाउन तयार छैनन् ।

लामो समय सम्म बन्द रहेको बिद्यालय खुल्न थालेपनि बिद्यार्थीहरु अझैपनि ढुक्कसाथ पढ्न जान मानिरहेका छैनन् । बिद्यालयमा गएर साथीहरुसंगै गफिंदै पढ्ने रहर यो बर्षै पुरा नहुने हो की भन्ने चिन्ता रुवीनालाई लाग्न थालेको छ । केही दिन अघि सम्म दिनमा ४ घण्टा अनलाइनबाट पढ्ने गरेको भएपनि बिद्यालय खुलेपछि अनलाइन कक्षा पनि वन्द भएको छ । अझकल्टो पढाईले रुवीना सन्तुष्ट हुन सकेकी छैनन् । अनलाइनबाट पढ्दा नजानेको बिषयमा कक्षा कोठामै जसरी सरहरुसंग दोहोरो सम्वाद गर्न नसकिने भएकाले यो पढाई उनलाई चित्त बुझिरहेको थिएन अहिले त्यो पनि वन्द हुन पुगेपछि पढाई अलपत्र हुन पुगेको छ ।

कोरोना कहरका बिचमा पनि सर मिसले मेहनत गरेर अनलाइन कक्षाबाट पढाईरहनु भएको थियो, तर पनि कता कता के नभएको , के नमिलेको जस्तो लाग्ने गरेको उनी बताउँछिन । कक्षाकोठामा गएर पढेजस्तो आनन्द नआउने भएपछि कक्षा नियमित गर्न मन नलाग्ने गरेको उनले बताईन् । रुवीनाको परिवार जिल्लाको उत्तरी धादिङमा वसोवास गर्दछन् । उनी काठमाण्डौंमा आवासीय सुविधा लिएर पढ्दै आईरहेकी थिइन । रुवीना र उनका ६ बर्षका भाईलाई राम्रो संग पढाउनकै लागि भनेर उनीहरुको बुबा १० बर्ष देखि साउदी अरवमा मजदुरी गरिरहेका छन् ।

कोरोनाको महामारीले संसारलाई अस्तव्यस्त बनाएको छ । रुवीना मात्रै होइन जिल्लाको थांक्रे गाउँपालिका का किरण पौडेल कक्षा ७ मा पढ्दैछन । उनी पनि नियमित बिद्यालय जान नपाएकोमा चिन्तित छन् । केही दिन अघि बाट मात्रै उनी पढ्ने बिद्यालय मा यो बर्षको पठ्नपाठन शुरु भएको छ । एक बर्ष लगाएर पढ्नुपर्ने किताव अवको चार महिनामा पढेर भ्याउनु पर्ने वाध्यता अहिले बिद्यार्थीलाई आईलागेको छ । बिद्यार्थीलाई पढाई कसरी सकिएला भन्ने चिन्ता छ, यता बिद्यालय पठाउँदा आफ्ना छोराछोरीलाई कोरोना लाग्ने हो कि भन्ने डरले अभिभावकमा भित्रभित्रै त्रास फैलाईरहेको छ ।

विद्यालय वन्द भएर पढ्न जान नपाएपछि लामो समय घरमै बसिरहनु पर्दा धेरै बालवालिकालाईमा एकोहोरो हुने, अरु संग बोल्न नखोज्ने, झर्कने, रिसाउने समस्या बढ्दै गएको पाईन्छ । कोरोना महामारीले नेपालमा मात्रै होइन विश्वभर आर्थिक, सामाजिक र मनोवैज्ञानिक लगायतका क्षेत्रमा निरन्तर धक्का दिईरहेको छ । संक्रमणको नियन्त्रणका लागि हरेक देशले नेपालले पनि यहि प्रयासस्वरुप लामो समय मुलुकभरि ‘लकडाउन’ लागू गरेको थियो । लकडाउनका कारण अन्तर्राष्ट्रिय सीमा देखि शिक्षण संस्था, यातायात कलकारखाना, उद्योगधन्दा, व्यापार, लगायत सबै क्षेत्र ठप्प पारेर मानिसलाई एक देखि अर्को ठाउँमा जान समेत रोकेको थियो । पछिल्ला दिनमा कोरोनाको महामारी बढ्दै गएपनि कडा खालको लकडाउन भने हटाईएको छ । लकडाउन हटेपछि पनि बालवालिका घरवाहिर निस्केर खेल्न घुम्न जान पाएका छैनन् । घरको सिमा भित्र सांघुरिएर बस्नुपर्दा बालवालिकामा एक किसिमको निराशापन बढ्दै गएको बालवालिकाका क्षेत्रमा कार्यरत अभियन्ताहरु बताउँछन् ।

बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाले सिर्जित परिस्थितिका कारण आम मानिसमा आर्थिक संकट बढ्दै गएको छ । आयश्रोत नहुंदा दैनिक उपभोग्य सामानहरु देखि औषधि, उपचार लगायतका अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको छ । साना तथा मझौला व्यवसाय वन्द भएका छन् । आम्दानीको श्रोत नभएपछि घर व्यवहार चलाउन लिएको ऋणको ब्याज कसरी तिर्ने भन्ने चिन्ताबाट धेरैजना ग्रसित हुन पुगेका छन् ।

आर्थिक रूपमा सबैभन्दा कमजोर अबस्थामा रहेका स्वरोजगार व्यवसायी र ज्यालादारी मजदुरहरु कोरोनाको महामारीले आफ्नो दैनिक रोजीरोटी गुम्न गएपछि अहिले निकै कष्टकर अवस्थामा पुगेका छन् । निम्न आय भएकाहरु सबैभन्दा बढी पीडामा छन् । अधिकांश ठाउँमा सम्पूर्ण आर्थिक र सामाजिक जीवन तहस नहस भएको छ । एकातिर रोजिरोटी गुम्दै गएको छ अर्को तिर कोरोना संक्रमणको त्रास पनि त्यतिनै बढिरहेको छ । बिश्वभर आर्थिक तथा सामाजिक विकासमा अवरोध गरिरहेको कोरोनाको कारण गरिब विपन्न, निम्न आयश्रोत भएका ज्यालामजदुरी गर्ने वर्गलाई रोग संग भन्दा पनि भोक संग कसरी बाँच्ने भन्ने पिरलो थपिएको छ । सरकारले कोरोना महामारीको नियन्त्रणका निम्ति अपनाइरहेको उपायका कारण मानिसको दैनिकी बदलिएको छ । मनोरन्जन र संस्कृतिमा समेत गतिरोध आउन थालेको छ । शिक्षा र स्वास्थ्य संगै आर्थिक जिवन पनि ठप्प हुन पुगेपछि धेरै परिवार अब कसरी जिवनयापन गर्ने भन्ने समस्यामा परेका छन् ।

बालवालिका हुंदै घर घर सम्म, टोल टोल सम्म र सिंगो समुदाय र देशमा कोरोना संक्रमण फैलन नदिन गरिएको शिक्षालय बन्दलेसमाजले उच्च आर्थिक र सामाजिक क्षति व्यहोर्नुपरेको छ ।
युनेस्कोका अनुसार कोरोना प्रभावित १८८ मुलुकमा देशव्यापी वा स्थानीय रूपमा स्कुल, कलेज र विश्वविद्यालय बन्द गरिएका छन् यसको फलस्वरूप विश्वभरका करिब ९० प्रतिशत विद्यार्थी (करिब १ अरब ५४ करोड जसमा ७४ करोड ३० लाख छात्रा मात्र) आआफ्ना शैक्षिक प्रतिष्ठानहरूबाट बाहिर भएका छन् ।

त्यसैगरी, करिब ६ करोड ३० लाख शिक्षक कक्षाकोठामा प्ुग्न सकेका छैनन् । एकातर्फ विद्यार्थीको पढाइमा गतिरोध आइरहेको छ भने अर्कोतर्फ विद्यालयमा हुने पठनपाठनका अतिरिक्त मानवीय अन्तरक्रियाबाट पनि उनीहरू वन्चित हुन पुगेका छन् । लामो समय शिक्षा क्षेत्र बन्द हुँदा विद्यार्थीको औपचारिक शिक्षामात्र नभई सामाजिक र व्यवहारिक विकासको निम्ति आवश्यक अनौपचारिक सिकाइ पनि अवरुद्धहुन गएको नीलकण्ठ उच्च मावि धादिङबेसीका प्रधानाध्यापक ध्रुब अधिकारीको बुझाई छ ।

लामो समय बिद्यालय जान नपाउँदा विद्यार्थीको आनीबानी बिग्रने र साना तिना कुरामा अभिभावक देखि अरु संग पनि झगडा गर्ने, नपढ्ने, बरालिने, सामाजिक सञ्जाल, इन्टरनेटबाट सञ्चालित अनावश्यक गेमहरुमा समय बिताउने, कुलतमा लाग्ने जस्ता सम्भावना बढ्ने भएकाले अभिभावक छिटो बिद्यालय खुलोस भन्ने पक्षमा देखिएपनि कोरोनाको महामारी बढ्दै गएकाले बिद्यालय पठाएर बालवालिकालाई पढाउने अभिभावकको रहर पुरा हुन सकेको छैन ।

लामो समय सम्म विद्यालय बन्द हुँदा कतिपय बालबालिकालाई जर्वजस्त बाल श्रमिकतिर धकेल्ने खतरा बढ्न थालेको छ । कयौं विद्यार्थीले सरकारले दिएको खाजा सुविधा गुमाईरहेका छन् । गरिब अविभावकमाथि आर्थिक भार थपिंदै गएको छ । बैकल्पिक सिकाईको माध्यमको रुपमा प्रयोगमा ल्याईएको अनलायन कक्षा पनि प्रभावकारी बन्न नसकेको शिक्षकहरुको अनुभव छ । अनलाइनबाट पढाउन शुरु गरेको धादिङबेसीको नीलकण्ठ माविले यो पढाईलाई निरन्तरता दिन सकेन । धेरै अभिभावक र बिद्यार्थी इन्टरनेटको पहुँचभन्दा बाहिर भएकाले त्यस्ता परिवारका बालबालिका उक्त सिकाइबाट बञ्चित हुन परेकाले यसले शिक्षा सुविधामा असमानता सिर्जना गर्दै दुर शिक्षा होइन शिक्षामा दुरी बढाउने काम भएको र शैक्षिक उपलब्धिको गुणस्तरमा समेत असमानता ल्याईरहेको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का बोधप्रसाद नेपाल बताउँछन् ।

लामो समय शिक्षालय बन्द हुँदा विद्यार्थीको औपचारिक शिक्षामात्र नभई सामाजिक र व्यवहारिक विकासको निम्ति आवश्यक अनौपचारिक सिकाइ पनि अवरुद्ध हुन गई बालवालिकालाई सामाजिक गतिविधि र सम्वन्धबाट समेत अलग्गै बनाउन थालेको नेपालको बुझाई छ ।
संक्रमणको कारण मानिसहरु बिरामी हुने र मृत्यु हुने कुरालाई मात्रै जोड दिईनु गलत हुन्छ । कोभिड—१९ को महामारीले जनस्वास्थ्यमा अन्य थुप्रै असर पारिरहेको छ । मनोसामाजिक परामर्शकर्ता रामहरि पन्तका अनुसार कोरोना महामारीले मानिसको मानसिक स्वास्थ्यमा समेत समस्या पैदा गरिरहेको छ ।

व्यक्तिमा तनाव, मानसिक थकान, बेचैनी, अनिन्द्रा, दुव्र्यसनजस्ता अल्पकालीन र दीर्घकालीन मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ । नेपालमा पनि लकडाउन, सोसल डिस्ट्यान्सिङ, क्वारेन्टाइन, सेल्फ आइसोलेसन जस्ता कारणबाट मानिसको मानसिक स्वास्थ्यमा थुप्रै नकारात्मक असर देखिएको पन्तले वताए ।
त्यस्तै, लामो समयसम्मको व्यवसायिक गतिरोधले कतिपय व्यवसायी र श्रमिकमा बेचैनी, परेसानी, सनक र खिन्नता, अस्थिर र दुव्र्यसन जस्ता मानसिक अस्वस्थता पैदा गरि गरिरहेको छ ।
जो कोहीलाई अरुसंग नभेटी बस्नुपर्दा एक्लोपन बढ्दै जाँदा कमजोर महसुस गर्ने हुंदा उनीहरूमा मानसिक तनाव पैदा हुने गरेको पाईन्छ । भीडभाड हुने ठाउँमा जाँदा संक्रमणको उच्च जोखिमको डर हुन्छ । विद्यालय बन्द हुँदा विद्यार्थीले साथीभाई भेट्न पाएका हुंदैननु, दैनिक गतिविधि बदलिएको हुन्छ । बिद्यालयमा गएर गरिने अतिरित्ताm क्रियाकलापको माध्यमबाट प्राप्त हुने शारीरिक सुसंगठनको अवसर गुमाउँदै गएका छन । जस्ले गर्दा पनि उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । कोरोना महामारीले हरेक व्यक्तिको नियमित स्वास्थ्य असर पारेको छ ।

२०७७ मंसिर २१ गते प्रकाशित

Loading...