Thu. Mar 28th, 2024

आयआर्जन गर्दै, आत्मनिर्भर बन्दै


सरिता श्रेष्ठ / धादिङ, पुस ११–


धादिङको गजुरी गाउँपालिका वडा नम्वर ७ डाँडागाउकी माया अधिकारीको परिवारमा वर्षभरि गरेको खेतीपातीले खान पुग्दैनथ्यो । दैनिकी चलाउन निकै कठिन हुन्थ्यो । सात जनाको परिवार, कमाउने उमेर भएको छोरा पनि मोटर साइकल दुर्घटनामा परि एउटै ओछ्यानमा थलिएपछि छोराको स्याहारसुधार गर्ने जिम्मेवारी पनि माया अधिकारी माथि नै थपियो । ‘घरपरिवार चलाउन साह्रै मुस्किल हुन्थ्यो,’ मायाले भनिन्, ‘व्यावसायीक रुपमा कुखुरा पाल्न थालेपछि अहिले अलि सजिलो भएको छ ।’

उनी एक गृहिणी महिला हुन् । घरधन्दा अनि खेतबारी गरेरै उनको दिन बित्ने गर्छ । आर्थिक अभावकै बीच घर व्यवहार धानिरहेकी माया अधिकारीलाई पूर्णिमा बिहानी परियोजनाले व्यवसायिक कुखुरापालनमा सहयोग गरेको छ । पूर्णिमा बिहानी परियोजनाले आय आर्जनमा सहयोग पुगोस् भनेर माया अधिकारीलाई व्यवसायिक लोकल कुखुरापालनको लागि ३६ वटा लोकल कुखुराको चल्ला वितरण गरेको थियो । त्यही लोकल कुखुराबाट अण्डा र कुखुरा बेचेरै घर व्यवहार चलाउन सजिलो भएको अधिकारीले बताइन् ।

लेखपढ गर्न नजान्ने माया अधिकारीलाई कुखुरापालन रोजगारीको राम्रो विकल्प बनेको छ । ओछ्यानमै थलिएको छोराको स्याहारसुसार गर्नुपर्ने अधिकारीलाई घरमै कुखुरा पाल्न थालेपछि रोजगारीको लागि बाहिर जान नपर्ने बताइन् । कुखुरापालन कुखुरापालनबाटै छोराको औषधी उपचारमा समेत सहयोग मिलेको अधिकारी बताइन् ।

कोरोना भाइरसका कारण निराश बनेका गजुरी गाउपालिका वडा नम्वर ७ पेटारेका स्थानीयहरु पुर्णिमा बिहानी परियोजनाले जिविकोपार्जनको कार्यक्रम ल्याएपछि खुशी भएका छन् । परियोजनाले पेटारेका आर्थिक रुपमा कमजोर विपन्न परिवारलाई सहयोग पु¥याउने उद्देश्यले बाख्रा वितरण गरेको थियो । गाउँबाट जंगल नजिक भएकोले परियोजनाले बाख्रापालनको लागि भन्दै विपन्न परिवारलाई प्रतिपरिवार २÷२ वटा बाख्रा वितरण गरेको थियो । त्यसबाट उनीहरु निकै खुशी भएका छन् । पहिले परम्परागत खेती गर्दै आएका पेटारेका स्थानीयहरु लाई आफूले गरेको खेतिपातीबाट ६ महिना पनि खान नपुग्ने स्थिति भएपछि रोजगारीको लागि ज्यालामजदुरी गर्नुपथ्र्यो ।

अहिले बाख्रापालनमा लागेदेखि गाउ छोडेर जान नपरेको स्थानीय जीत बहादुर तामाङले बताए । परियोजनाले तामाङलाई बाख्रा उपलब्ध गराएको थियो । परियोजनाले उपलब्ध गराएको २ वटा बाखा्राबाट अहिले ४ वटा भएको छ । जंगल नजिक भएकोले बाख्राको लागि घाँसको समस्या हुदैन । हुर्केको बाख्रा बेच्ने अनि बाख्रापालनबाट निस्किएको मलले तरकारी लगाउन राम्रो भएको तामाङले बताए ।

गजुरी पेटारेकै आल बहादुर तामाङले पनि पुर्णिमा बिहानी परियोजनाको सहयोगमा बाख्रापालन सुरु गरेका छन् । । दिनभरि यस्सै बस्नुभन्दा बाख्रा पाल्न थालेपछि अहिले दिन कटाउन पनि सजिलो र आम्दानी गर्ने बाटो पनि खुलेको आल बहादुर तामाङले बताए । कोरोना भाइरसको महामारीले रोजगारी गुमेको अवस्थामा बाख्रापालन रोजगारीको राम्रो माध्यम बनेको तामाङले बताए ।

गजुरीको पेटारे गाउँ आलुको लागि राम्रो उत्पादन हुने ठाउँ हो । परियोजनाले बाख्रापालनसँगै आलुखेतिलगायतको तरकारी खेतिमा सहयोग गरिदिए धेरैले रोजगारी पाउने स्थानीयहरुले बताए । पुर्णिमा बिहानी परियोजनाले धादिङको गजुरीसहित खनियाबास र गंगाजमुनामा गाउँपालिकामा आर्थिक रुपमा परिवारको जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । जसअन्तर्गत व्यवसायिक बाख्रापालन, खुकुरापालन, टनेलमा गोलभेडा खेति गर्न सहयोग गर्दे आएको पुर्णिमा बिहानी परियोजनाका कार्यक्रम संयोजक उमेश अधिकारीले जानकारी दिए ।

२०७७ पुस ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: