Mon. Jan 25th, 2021

दलित केटा मन पराएको थाहा पाएपछि आमाले गरिन छोरीको हत्या

२७ पुस , पर्सा –

पर्सामा तल्लो जातको केटासँग लागेको भन्दै आफ्नै बुवा आमाले छोरीको जलाएर हत्या गरेको रहस्य बाहिर आएको छ।

पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ८ रामनगरी गाँउमा गत कार्तिक २९ गते लक्ष्मीपूजाका दिन भएको आगलागीमा परी १५ वर्षीया बालिकाको मृत्यु भएको भनिएको घटनामा आमाबुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको रहस्य अहिले खुलेको हो ।

कार्तिक २९ गते लक्ष्मीपूजाका दिन रामनगरीमा राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको थियो ।

आगलागी भएका दिन प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि घरभित्र भने माना कुमारीको शव जलेको अवस्थामा भेटिएको थियो ।

त्यसबेला बुवाआमाले माना निदाएकै अवस्थामा घरमा आगो लागेर जलेर मरेको भन्ने दाबी गरेका थिए । तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले घरमा लागेको आगो र शवको प्रकृति हेरेपछि शंका लागेर अनुसन्धान सुरु गरेका थिए ।

अनुसन्धानका क्रममा मानाको जलाएर हत्या गरिएको वास्तविकता पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए ।अनुसन्धानका क्रममा छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल रहेको र छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको पत्ता लागेपछि प्रहरीलाई आशंका लागेर अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुलेको प्रहरी निरीक्षक थापाले बताए ।

मृतक बालिकाकी भाउजु मनिषा देवीले पनि नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् ।

हत्याकी आरोपित मध्येका लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको आमा लालमतिले स्वीकारेको प्रहरीले जनाएको छ ।

२०७७ पुस २७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: