
२९ पुस , काठमाडौ –
सरकारले कोभिड १९ खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गोरखापत्रमा सूचना निकालेर खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको बताएको छ।
खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ, सूचनामा भनिएको छ।
कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले जनाएको छ। पैसा कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले गत कात्तिक २४ गतेको निर्णयअनुसार भन्दै आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी निस्शुल्क वितरण गर्न रकमको आवश्यकता परेकोले आह्वान गरिएको भनेको छ।
२०७७ पुस २९ गते प्रकाशित