Mon. Jan 25th, 2021

धादिङको धुवाँकोट र खाल्टेमा २५ हल गोरु जुधाइयो


१ माघ, धादिङ–


माघेसंक्रान्तिको अवसर पारेर धादिङको धुवाँकोट र खाल्टेमा गरी १८ हल गोरु जुधाईएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ को धुवाँकोटस्थित भंगेरीमा १८ हल हल र नीलकण्ठ नगरपालिका वडा नं – ५ खाल्टेमा ७ गरी २५ हल गोरु जुधाइएको छ ।

संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र भंगेरी युवा क्लबले धुवाँकोटको भंगेरीमा गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो । धादिङको धुवाकोट ऐतिहाँसिक महत्वका ९ ओटा कोटमध्ये एउटा महत्वपूर्ण कोट हो । विशेष गरि धुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरि गोरु जुधाई कार्यक्रम आयोजना गरिदै आइरहेको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एकमात्र गोरु जुधाई मेलाले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको बुलफाइट पनि बिर्साउने भिन्नै आकर्षण बन्ने गरेको छ । पहिले छिमेकीहरुले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरु जुधाउने गरेका थिए । अहिले प्रतियोगीताका रुपमा गोरु जुधाइने गरेको छ । खाल्टेमा विगत सात वर्षदेखि चमेरो गुफा संरक्षण समाज, खाल्टेले प्रतियोगीताकै रुपमा गोरु जुधाउने कार्यक्रम आयोजना गर्दै आइरहेको समाजका अध्यक्ष प्रितम श्रेष्ठले बताए । विजेता गोरु धनीलाई ६ हजार र उपविजेतालाई ३५ सय प्रदान गरिएको छ ।

कृषि कर्मको लागि पालिएका गोरुलाई माघे संक्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने धादिङ र नुवाकोट जिल्लाको यो सदियौं पुरानो परम्परा हो । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ । मावला आएका आफ्ना भान्जा बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघे संक्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको परम्परा निरन्तर रूपमा मनोरञ्जन, भेटघाट र मित्रता नवीकरण गर्ने अवसरका रुपमा विकासित हुँदै आएको छ । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाई परम्परा सय वर्षभन्दा पूरानो मानिन्छ ।

२०७७ माघ १ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: